२०८३ बैशाख ७, सोमबार
April 20, 2026, Monday

डुंगाबाट जोखिम मोलेर महाकाली तर्दै तल्लोसोराडबासी, पुल बनाउन भारतले दिएन सहमति

बैतडी –बैतडीको तल्लोसोराड क्षेत्रका नागरिक महाकाली नदीमा डुंगाकै भरमा जोखिम मोलेर वारपार गर्न बाध्य भएका छन् । महाकाली नदीमा झोलुंगे पुल नहुँदा बर्षौंदेखि डुंगाबाट जोखिम मोलेर महाकाली नदी वारपार गर्नुपर्ने बाध्यता रही आएको छ ।

पञ्चेश्वर गाउँपालिका १ स्थित रोलघाटमा पुल निर्माणका लागि चर्चा भएपनि भारतले सहमति नदिँदा पुल निर्माण नभएको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताए । सीमा नदी भएकाले महाकालीमा पुल बनाउन भारतको सहमति आवश्यक हुन्छ । तर भारतीय पक्षले महाकाली नदीमा पुल निर्माणका लागि सहमति नदिँदा समस्या भएको अध्यक्ष चन्दले बताए ।

महाकाली नदीमा पुल निर्माणको काम अघि बढाउन माग गर्दै ११ पटक परराष्ट्र मन्त्रालय पुगेको भएपनि सहमति प्राप्त नभएको अध्यक्ष चन्दले बताए । पञ्चेश्वर गाउँपालिका १ रोलघाट क्षेत्रमा पुल झोलुंगे पुल निर्माणका लागि ८ बर्ष अघि विस्तृत अध्ययन प्रतिवेदन तयार भएको थियो ।

महाकाली नदीमा झोलुंगे पुल निर्माण नहुँदा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय नागरिक पनि जोखिम मोलेर डुंगाबाटै महाकाली नदी वारपार गर्ने गरेका छन् ।

महाकाली नदीमा १५५ मिटर लम्बाइको झोलुंगे पुल निर्माणको चर्चा भएपनि भारतको सहमति नभएकै कारण काम अघि बढ्न नसकेको अध्यक्ष चन्दले बताए ।

महाकाली नदीमा पुल नभएकै कारण तल्लोसोराड क्षेत्रका नागरिकले अकालमै ज्यान समेत गुमाएका छन् । डुंगा पल्टिँदा धेरैको ज्यान गइसकेको अध्यक्ष चन्दले बताए ।

महाकाली नदीमा पुल निर्माणका बिषयमा तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्थलगत निरीक्षण गरेर भारतको सहमतिका लागि पहल गर्ने आश्वासन समेत दिएका थिए । तर पुल निर्माण कार्यले सार्थकता पाउन नसकेको अध्यक्ष चन्दले बताए ।

महाकाली नदीमा पुल नहुँदा स्थानीयवासी डुङ्गा र ट्युबका माध्यमबाट जोखिम मोलेर महाकाली वारपार गर्दै आएका छन् ।

सीमावर्ती भारतीय नागरिक समेत नेपालतर्फ रहेका देवीदेवताहरुका मन्दिरमा पूजापाठका लागि आउने गरेका छन् । पुल नहुँदा उनीहरुले समेत सास्ती भोग्दै आएका छन् ।

पञ्चेश्वरमा रहेको प्रसिद्ध देउताल र गणमेश्वर मन्दिरका साथै शिवनाथ धामको दर्शनका लागि भारतबाट हजारौँ तीर्थयात्री डुङ्गा चढेर नेपाल आउने गरेको नागार्जुन मावि शर्मालीका प्रधानाध्यापक महामलसिंह साउँदले बताए ।
एकातिर डुंगामा वारपार गर्नु जोखिमपूर्ण छ भने अर्कोतिर डुंगा चालकहरुले चर्को शुल्क लिने गरेकाले समस्या भएको साउँदले बताए । तल्लोसोराड क्षेत्रका अधिकांश मानिस औषधीमूलो देखि लिएर अन्य कामका लागि सीमावर्ती भारतीय बजारमा जाने गरेका छन् तर पुल नहुँदा निकै समस्या झेल्नुपरेको उनले बताए ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०८१ भाद्र १८

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP