कञ्चनपुर — भीमदत्त नगरपालिकाले अन्य पालिकाबाट ल्याइने तरकारीमा कर लगाएको भन्दै व्यवसायीदेखि किसान आन्दोलित भएका छन् । व्यवसायीले मंगलबार महेन्द्रनगरको सब्जीमण्डीका तरकारी पसल बन्द गरेका छन् भने किसानले पनि तरकारी ल्याएका छैनन् । कर खारेज नभए तरकारी सम्बन्धित पालिकामै फाल्ने व्यवसायीले बताएका छन् ।
नगरपालिकाले चालु आर्थिक वर्षको आर्थिक ऐनमा भारत तथा अन्य मुलुकबाट आयात हुने कृषि तथा पशुजन्य वस्तुको आयातमा कर लगाएको हो । यसरी आयात हुने तरकारीमा प्रतिक्विन्टल ३० रुपैयाँ कर तोकिएको छ । तर ऐनविपरीत नगरपालिकाले जिल्लाकै अन्य पालिका र अन्य जिल्लाबाट ल्याइने तरकारीमा समेत कर लिन थालेको व्यवसायीको गुनासो छ ।
नगरपालिकाले ठेक्का दिएपछि ठेकेदारले महेन्द्रनगरको सब्जीमण्डी र बाटोमा समेत गएर जबरजस्ती कर लिइरहेका छन् । ‘अटोमा दैनिक तरकारी बेच्न बजार ल्याउँछु, अहिले एक क्विन्टलको ३० रुपैयाँ तिर्नुपरेको छ,’ बेदकोट नगरपालिका–६ सिसैयाका अरबिन्द डगौराले भने, ‘आफैले उत्पादन गरेको तरकारी बेच्न पनि कर तिर्नुपर्ने भयो ।’
ठेकेदारले डडेलधुरा र सल्यानबाट आउने तरकारीको समेत कर लिन थालेको सब्जीमण्डी व्यवसायी समितिका अध्यक्ष विशाल सोनारले बताए । ‘किसानले मण्डीमा तरकारी ल्याएका छैनन्, डडेलधुरा र सल्यानबाट आउने पनि बन्द भएको छ,’ उनले भने, ‘कृषि क्षेत्रमा अनुदानदेखि कृषकलाई प्रोत्साहन गर्नुको साटो कर लगाउनु ठीक होइन ।’
भीमदत्त नगरपालिकाका इन्जिनियर हिमालयसिंह ऐरले मण्डी प्रयोग गरेबापत सेवा शुल्क लिने गरी ठेक्का भएको बताए । उनले भीमदत्त नगरपालिकाको उत्पादनमा सेवा शुल्कसमेत नलाग्ने बताए । ‘यो कर होइन, सेवा शुल्क हो,’ ऐरले भने, ‘सब्जीमण्डी बाहिरबाट आएको तरकारीको हकमा प्रतिक्विन्टल ३० रुपैयाँ सेवा शुल्क निर्धारण गरिएको हो ।’
उनले ठेकेदारले सब्जीमण्डीभन्दा बाहिर गएर वा बाटोमा ढुवानी भइरहेको तरकारीको शुल्क लिन नपाउने बताए । सब्जीमण्डीको सेवा शुल्कका लागि यस वर्ष ९ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको नगरपालिकाले जनाएको छ ।
दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...