२०८३ असार १६, मंगलवार
June 30, 2026, Tuesday

भासियो पुर्चौडी जोड्ने सडक, चारदिनदेखि यातायात सेवा बन्द

बैतडी– बैतडीको पुर्चौंडी नगरपालिकाको केन्द्र जोड्ने ढोल्यामोड–हाट सडक चारदिनदेखि अवरुद्ध भएको छ । उक्त सडकको ठाउँठाउँमा पहिरो र भासिदा सडक अवरुद्ध भएको हो।

शनिबार रातिदेखि सडक पूर्ण रुपमा अवरुद्ध भएको स्थानीयहरुले बताएका छन् । सडक अवरुद्ध हुँदा पुर्चौंडी पुग्ने यात्रुहरुलाई समस्या भएको छ । ढोल्यामोडदेखि हिँडेर जानुपर्ने बाध्यता रहेको स्थानीयहरुले बताएका छन् ।

ढोल्यामोड–हाट सडकको खामोहाले, गोफाखोला नजिक, सनगाउँ, बडगाउँ विद्यालय नजिकै पहिरो खसेको पुरनसिंह ऐरले बताए। यसका साथै ठण्डापानी भन्ने ठाउँमा करिब ४० मिटर सडक भासिएको छ। अवरुद्ध सडक सुचारु नहुँदा स्थानीयबासिन्दाहरु मारमा परेका छन् ।

चाडपर्वका लागि परदेशबाट घर फर्केकाहरु समेत ढोल्यामोडबाट पैदल हिँड्न बाध्य भएका बताइको छ । उक्त सडकमा खसेको पहिरो पन्छ्याउनका लागि कसैले पहल नगरेको स्थानीयहरुले गुनासो गरेका छन् ।

सडक अवरुद्ध हुँदा आकस्मिक बिरामीहरुलाई समेत समस्या भएको छ । आकस्मिक बिरामीहरुलाई अन्यत्र लैजान बोकेर लैजानुपर्ने अवस्था सिर्जना भएको छ।

अवरुद्ध सडक खुलाउनका लागि नगरपालिकाले समेत पहल नगरेको भन्दै आलोचना भइरहेको छ । पुर्चौंडी नगरपालिकाको केन्द्र जोड्ने सडक अवरुद्ध हुँदा दैनिक सैयौं यात्रुहरुले सास्ती भोग्नुपरीरहेको छ । साथै पुर्चौडी क्षेत्रमा खाद्यान्न अभाव समेत हुन थालेको छ।

ढोल्यामोड–हाट सडक स्तरोन्नतीको काम भइरहेको छ । सडक चौडा गर्ने क्रममा नयाँ कटिङ गरेका ठाउँमा पहिरोको जोखिम बढी देखिएको छ ।

यसैबीच सडक सुचारू गर्न प्रयास गरपनि खुलाउन समस्या भएको पुर्चौडी नगरपालिकाले जनाएको छ। सडक खुलाउन दुईवटा जेसिबी प्रयोग गरेर प्रयास गरिएको भएको सम्भव नभएको पुर्चौडी नगरपालिकाका योजना शाखा प्रमुख वोहराले बताए। उनले भने, ‘सडक सुचारू गर्न दुई जेसिबी प्रयोग गरेपनि सम्भव हुन सकेन, पहिरो पन्छाउने काम भएपनि सडक भासिएको ठाउँमा समस्या भएको छ।’

तत्काल सडक सुचारू हुन नसक्ने बताउदै उनले वैकल्पिक सडकको प्रयोग गर्न आग्रह गरे।

 

Related News

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
  • २०८१ श्रावण २९

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३...

TOP