२०८३ असार १६, मंगलवार
June 30, 2026, Tuesday

जो हराएको ६४ वर्षपछि घर आइपुगे

बैतडी– फाटेका झुत्रा लुगा, वृद्ध शरीर, चाउरिएको अनुहार। यस्तै हुलियामा बैतडीको मेलौली नगरपालिका–५ सिरोडाको जंगलमा भेटिए ८१ वर्षीय नरसिंह रतोकी।

उनी न आफ्नो ठेगाना बताउन सक्थे न त राम्रोसँग हिडँडुल गर्न। स्थानीयले सोधपुछ गर्दा उनले घर ‘रतोका’ भने। जंगलमा फेला परेका उनी सिरोडाका नभएको पत्ता लागेपछि १७ साउनमा उद्धार गरेर इलाका प्रहरी कार्यालय मेलौलीमा लगियो।

नरसिंहले ठेगाना दोहोर्‍याइरहेको ‘रतोका’ भन्ने पुर्चौडी नगरपालिका–७ मा पर्छ। प्रहरीले त्यहाँ वडाध्यक्ष धीरेन्द्रबहादुर बमलाई उनको तस्बीर पठाउँछ।

बमले वडाभित्र त्यस्ता वृद्ध हराएका मान्छेको खोजी गरे। त्यहीँका वडा सदस्य गमीसिंह रतोकीका काका पनि धेरै वर्षअघि हराएको कुरा वडाध्यक्ष बमलाई थाहा थियो। उनले वडा सदस्य रतोकीलाई प्रहरीले दिएको तस्बीर पठाए। नभन्दै तस्बिर उनकै काका नरसिंहको रहेछ।

‘हामीले त भेटिने आस नै मारिसकेका थियौँ। वंशावलीमा अहिलेसम्म ७० वर्ष भन्दा बढी बाँचेका छैनन्,’ उनी भन्छन्, ‘उहाँ (काका) को तस्बीर देखेपछि परिवारमा खुसीको सीमा नै रहेन।’

नरसिंह २००० सालमा जन्मिएका हुन्। तीन भाइमध्ये माइला उनी सुस्त मनस्थितिका छन्। नरसिंहका दुई भाइ बितिसकेका छन्। वि.सं. २०१७ मा उनी काम गर्न पिढौरागढ जान्छु भनेर घरबाट निस्केका थिए।

त्यसपछि उनी घर फर्किनन्। उनले २०१५ सालतिर बिहे गरिसकेका थिए। उनी नभएपछि श्रीमतीले पनि घर छाडिन्। नरसिंहका छोराछोरी छैनन्।

परिवारले नरसिंहको धेरै खोजी गर्‍यो तर ६४ वर्ष भइसक्दा पनि उनीबारे केही पत्तै लागेन। जसले गर्दा परिवार अब कुशको शव बनाएर उनको अन्तिम संस्कार गर्ने सोचमा पुगिसकेको थियो। तर ६४ वर्षदेखि बेपत्ता नरसिंह अचानक फेला परे।

‘बुवाले मर्ने बेला भाइलाई खोज्नू, पत्ता नलागे कुशको शव बनाएर अन्तिम संस्कार गर्नू भन्नुभएको थियो। हामी भाइहरू दसैँपछि अन्तिमपटक खोज्ने, नभेटे कुशको शव बनाएर अन्तिम संस्कार गर्ने सोचमा थियौँ,’ नरसिंहका भतिज गमी भन्छन्, ‘त्यसै बेला काकासँग मिलन भएको छ। हामीले सोचेकै थिएनौँ।’

वृद्ध नरसिंहको घुँडाभन्दा तलको भाग राम्रोसँग चल्दैन। उनी कुमाउनी लवजमा कुरा गर्छन्। सुस्त मनस्थितका उनले घरबाट बेपत्ता भएको घटना स्पष्टसँग खुलाउन नसक्ने भतिज गमीसिंह बताउँछन्।

‘अहिलेसम्म कहाँ के गर्नुहुन्थ्यो भन्दा केही भन्नुहुन्न। पिढौरागढ थिएँ मात्रै भन्नुहुन्छ। अरू केही बताउन सक्नु हुन्न’, गमीसिंहले भने। शारीरिक रूपमा निकै अशक्त भइसकेका नरसिंह आफैँ शौच गर्न सक्दैनन्। अरूको सहारा चाहिन्छ।

भारतको उत्तराखण्डस्थित पिथौरागढमा नरसिंहले काम गरेको अनुमान परिवारको छ। तर काम गर्न नसक्ने भएपछि उनलाई भारतबाट डुंगा चढाएर नेपालतर्फ पठाइएको हुन सक्ने पुर्चौडी नगरपालिका–७ का अध्यक्ष धीरेन्द्रबहादुर बम अनुमान गर्छन्।

 

Related News

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
  • २०८१ श्रावण २८

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३...

TOP