दिपायल- घरेलु तथा साना उद्योग कार्यालय डोटीमा हालसम्म जम्मा ६ हजार ५५१ उद्योग फार्महरु दर्ता छन् । कार्यालयका अनुसार उद्योग तर्फ ३ हजार ९८२ र वाणिज्य तर्फ २ हजार ५६९ फार्महरु दर्ता भएका छन् ।
घरेलु तथा साना उद्योग कार्यालय डोटीमा विगत पाँच वर्ष (आ.व.२०७६/०७७) यता ३ हजार ३७ वटा नयाँ फार्महरु दर्ता भएका छन् । वाणिज्य तर्फ ९०२ वटा नायँ फार्महरु दर्ता भएका हुन् भने उद्योग तर्फ २ हजार १३४ नयाँ फार्महरु दर्ता भएका हुन् ।
आर्थिक वर्ष २०७६/०७७ देखि हालसम्म २ हजार ४२४ फार्म मात्रै नवीकरण गरिएको छ । सो अवधिमा वाणिज्य तर्फ पुरानासहित १ हजार ५२९ फार्महरु नवीकरण गरिएको छ भने उद्योग तर्फ ८९५ फार्म मात्र नवीकरण गरिएको छ ।
विगत पाँच वर्षको तुलनामा दर्ता भएका व्यवसायिक फार्महरुको अनुपातमा नविकरण भएको पाइँदैन । व्यवसायीहरुले व्यवसायिक फार्महरु दर्ता गर्ने तर नवीकरण तथा अद्यावधिक गरेको पाइदैन ।
यो तथ्याङ्क घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएका व्यवसायिक फार्महरुको मात्रै हो । उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्सलगायत संघीयता पछि स्थानीय तह अन्तरगतका वडा कार्यालयहरुमा पनि व्यवसायिक फार्महरु दर्ता नवीकरण गर्ने व्यवस्था छ । घरेलु कार्यालय बाहेक स्थानीय तह र उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्समा दर्ता भएका फार्महरुले पनि आन्तरिक राजस्व विभाग अन्तरगतका कार्यालयहरुबाट पान तथा भ्याट नम्बर लिई व्यवसाय सञ्चालन गर्न पाउने व्यवस्था छ ।
करदाता सेवा कार्यालय डोटीले उपलब्ध गराएको तथ्याङ्क अनुसार हालसम्म डोटीमा ७ हजार ५४७ व्यवसायिक फार्महरु पान तथा भ्याटमा दर्ता छन् । जसमध्य ३ हजार २४ व्यवसायिक फार्महरु आ.ब. २०७९/०८० सम्म नवीकरण तथा कर चुक्ता लिन बाँकी छन् । गत आर्थिक वर्षसम्मको नवीकरण गर्ने कार्य जारी छ ।
दिपायल सिलगढी नगरपालिकामा दर्ता भएका १ हजार ६६, शिखर नगरपालिकामा दर्ता भएका ४२६ फार्महरु नवीकरण हुन बाँकी छन् । त्यस्तै, जोरायल गाउँपालिकाका ३६८, पूर्वीचौकी गाउँपालिकाका २९४, केआईसिंह गाउँपालिकाका २१८, सायल गाउँपालिकाका १९५, आदर्श गाउँपालिकाका १७७, बोगटान फुड्सिल गाउँपालिकाका १४० र बडीकेदार गउँपालिकाका १३९ फार्महरु नवीकरण हुन बाँकी छन् ।
अनुदान र ऋणको आशामा करको फन्दा
पछिल्लो समय उद्योग तर्फ बढी फार्महरु दर्ता हुने गरको घरेलु तथा साना उद्योग कार्यालय डोटीका प्रमुख मोहन कठायतले बताए । “संघीयता पछि उत्पादनमुलक कृषि तथा पशुपन्छी फार्महरु बढी दर्ता हुने गरेका छन्,“कठायतले भने,“हाम्रो कार्यालयको हालसम्मको तथ्याङ्क हेर्ने हो भने २०७४ अघि वाणिज्य तर्फ किराना पसल, होटल लगायत अन्य पसलहरु दर्ता हुने गरेका थिए । २०७४ यता उद्योग तर्फ बढी फार्महरु दर्ता भएको पाइन्छ ।”
वाणिज्य तर्फ दर्ता भएका व्यवसायिक फार्महरुको अहिले पनि नियमित नविकरण तथा अद्यावधिक हुने गरेको भए पनि उद्योग तर्फ दर्ता भएका धेरैजसो व्यवसायिक फार्महरु नवीकरण भएका छैनन् । जसले, बैंकबाट ऋण निकाल्न र सरकारका विभिन्न निकायबाट अनुदान पाउन फार्म दर्ता गर्ने गरेका छन् ती व्यक्तिहरु नवीकरणका लागि आउँदैनन्, कठायतले भने ।
उद्योग वाणिज्य संघ डोटीका अध्यक्ष विक्रम साउँदले फार्म दर्ता गरेर नवीकरण, अद्यावधिक नगर्ने, कर चुत्ता नलिने व्यवसायिहरुलाई पुस्तौँसम्म समस्या पर्नेमा चिन्ता व्यक्त गरे । व्यवसायिक फार्महरु समयमै नवीकरण नहुनुको मुख्य कारण सरकारी अनुदान भएको उनले बताए । “स्थानीय, प्रदेश तथा संघ सरकारले दिने अनुदान पाउनका लागि व्यवसायीहरुले व्यवसायिक फार्महरु दर्ता गर्ने गर्नु हुन्छ,“अध्यक्ष साउँदले भने,“अनुदान पाए पनि व्यवसायलाई निरन्तरता दिएको पाइदैन । अनुदान पाएन भने झन् वास्था नै गर्नु हुन्न । कर तिर्ने र नवीकरण गर्ने त कुरै भएन ।”
स्थानीय सरकारले पनि अनुदान दिने आश्वासन दिनु हुन्छ, अनुदानका लागि व्यवसायिक फार्म हुनुपर्छ । फार्म दर्ता गरेर आउनुहोस् भनेर दर्ता गराउनु हुन्छ । स्यानो अनुदानको आशामा गरिब जनताहरु जीवनभर करको फन्दामा पर्ने अवस्था छ । यसलाई नियन्त्रण गर्न जरुरी छ,“साउँदले भने ।
व्यवसाय देखाए बैंङ्क तथा वित्तिय संस्थाले ऋण दिने गरेका कारण पनि ऋण लिन मात्रै व्यवासायिक फार्म दर्ता हुने गरेको अध्यक्ष साउँदले बताए । “ऋण लिन फार्म दर्ता गर्ने, पसल तथा व्यवसाय अर्काको देखाउने । बैंकबाट लिएको ऋण छोराछोरीको बिहेबारी गर्न, बिदेश पठाउने लगायत अनुत्पादित क्षेत्रमा खर्च गर्ने परिपाटीले पनि समस्या भएको छ, उनले भने ।
करदाताहरुमा करदाता शिक्षाको अभाव, आर्थिक मन्दी, व्यवसायिक संघ संगठनको निर्वाचनका लागि अरुले फार्म दर्ता गरिदिने परिपाटी लगायतका कारणले पनि यस्ता समस्या देखिने गरेको सरोकारवालाहरु बताउँछन ।
धेरैजसो करदाताहरु फार्म दर्ता गराएपछि सम्पर्कमै नआउने समस्या रहेको करदता सेवा कार्यालय डोटीका निमित्त कार्यालय प्रमुख वीर बहादुर ठगुन्नाले बताए । उनका अनुसार करदाता सेवा कार्यालयमा पनि धेरैजसो खुद्रा पसल तथा कृषि पशुपन्छी फार्महरुले कर चुत्ता नलिने, अद्यावधिक नगर्ने गरेको पाइन्छ ।
“कर तिर्नका लागि हामीहरुले व्यवसायिहरुलाई पटक–पटक सम्पर्क गर्न खोज्छौं । उहाँहरुको फोन नै लाग्दैन,“ठगुन्नाले भने,“नियमित व्यवसाय सञ्चालन गर्ने व्यवसायिहरुले नियमित कर तिर्ने गरेको पाइन्छ । तर, व्यवसाय दर्ता गरेर तन्काएका, व्यवसाय सञ्चालन नगरेका व्यक्तिहरु सम्पर्कमै आउनु हुन्न, यसले उहाँहरुलाई नै समस्या हुन्छ । व्यवसाय सञ्चालनमा छैन भने प्रक्रिया पु¥याएर बन्द गर्न सकिन्छ ।”
करदाता सेवा कार्यालय डोटीले कर छुट सम्बन्धी सूचना प्रकाशन गरेको छ । जसमा आय विवरण र कर दाखिला गर्न बाँकी रहेको व्यवसायिहरुको नाम ठेगानासहितको सार्वजनिक सूचना सार्वजनिक गरेको छ । तत्कालको अवस्थामा आय विवरण र कर दाखिला गर्न बाँकी फार्महरुका लागि जरीवानामा पूर्ण छुट दिइएको छ भने ७५ प्रतिसत ब्याज छुट गरिने ठगुन्नाले बताए ।
दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...