२०८३ बैशाख ७, सोमबार
April 20, 2026, Monday

सँगै रुस गएका दाइ मारिए, भाइ दुई महिनादेखि अस्पतालमा

कञ्चनपुर — काठमाडौंमा घर, कञ्चनपुरको वेदकोटमा पनि घरजग्गा छ । एक छोरा, एक छोरी र श्रीमतीसँगै काठमाडौंमै बस्थे वेदकोट नगरपालिका–९ सुन्दरपुरका ४३ वर्षीय विराजन विष्ट । १० वर्ष नेपाली सेनामा काम गरेका उनी जागिर छाडेर रोजगारीका लागि सिंगापुर, यूएई पुगिसकेका थिए । उनका ३९ वर्षीय भाइ नीराजनले पनि गाउँमा पसल चलाउँदै एउटा बस पनि किनेका थिए ।

अचानक रुसी सेनामा भर्ती खुलेको हल्ला सुने । आकर्षक तलब र रुसको पीआर पाउने लोभमा विराजनसँगै भाइ नीराजन र नाति पर्ने लोकेन्द्र पनि जोखिम मोल्न तयार भए । दलाललाई ७र७ लाख रुपैयाँ तिरेर गत मंसिरमा भारतको दिल्ली हुँदै दुई भाइ र ३० वर्षीय लोकेन्द्रसँगै रुस उडे ।

रुस पुगेपछि उनीहरूलाई सेनाको क्याम्पमा राखेर तालिम दिइयो । चैत मध्यसम्म युद्धमा पठाइएको थिएन । त्यतिबेलासम्म घरपरिवारसँग नियमित सम्पर्क भइरहन्थ्यो । रुस उडेको ६ महिनामै विराजनको वैशाख १७ मा दोहोरो भिडन्तमा परी मृत्यु भएको खबर आयो । घरपरिवारले सम्पर्क नभएको १४ दिनपछि मात्रै मृत्युको खबर पाएका थिए । त्यही बेलादेखि सम्पर्कविहीन भएका उनका भाइ नीराजन दुई महिनादेखि गोली लागेर घाइते भई अस्पतालमा उपचाररत छन् । उनको रुसको मस्कोमा रहेको सेनाको अस्पतालमा उपचार भइरहेको परिवारले जनाएको छ ।

विराजनको मृत्युको खबरपछि परिवारले कुशको पुतला बनाएर अन्तिम संस्कार गरी काजकिरिया सके । वैशाख १७ मा मृत्युको खबर पाएका परिवारले वैशाख २६ मा अन्तिम संस्कार गरेका थिए । ‘नीराजन एक महिनापछि सम्पर्कमा आयो, गम्भीर चोट लागेर दुई महिनादेखि अस्पतालमै भर्ना गरेको छ,’ जानकीले भनिन्, ‘अझै कति लाग्ने हो, केही थाहा छैन ।’ उनका अनुसार दोहोरो भिडन्तका बेला दायाँ हात र छातीमा गोली लागेर नीराजन घाइते भएका हुन् । जानकीका अनुसार विराजनको मृत्यु हुँदा नीराजन पनि सँगै थिए ।

विराजनको मृत्यु हुनुभन्दा अघिदेखि नै नीराजनको परिवारसँग सम्पर्क हुन सकेको थिएन । जेठो छोराको मृत्युको पीडामा रहेकी आमा जानकीलाई कान्छोको पनि कस्तो खबर आउँछ भन्ने चिन्ताले सताइरहेको छ । जानकीलाई आएको खबरअनुसार दाइले भाइलाई जोगाउन प्रयास गरेका रहेछन् । युद्धका क्रममा दाइ विराजन दुईरतीन जनासँगै बंकरभित्र पसे । भाइलाई बंकरभित्र पस्न दिएनन् ।

दाजु बंकरभित्र पसेको डेढरदुई घण्टासम्म नीराजन नजिकै कुरिरहे । त्यसपछि उनी त्यहाँबाट भागे । पछि दाइको मृत्यु भएको थाहा पाए । तर उनले दाजुको खबर घरमा भन्न सकेनन् । साथीलाई घरमा खबर गरिदिन भनेका थिए ।

दाजुको मृत्यु भएपछि नीराजनलाई दुईरतीन दिन युद्धमा पठाइएन । त्यसपछि फेरि उनी युद्धमा खटिए । त्यही बेला गोली लागेर घाइते भएको जानकीले बताइन् । ‘गोली लागेर घाइते भएपछि भागेर ज्यान जोगाएको रहेछ,’ उनले भनिन्, ‘शरीरकै कपडा च्यातेर घाउमा बाँधेर भागेको रहेछ ।’ त्यसपछि रुसी सेनाले उनलाई रुसको सीमा क्षेत्रमा रहेको अस्पतालमा भर्ना गर्‍यो । त्यहाँ निको नहुने भएपछि मस्को पुर्‍याएको नीराजनले बताएको उनले सुनाइन् ।

‘अहिले पनि अस्पतालमै छ, हिँडडुल गर्न सक्दैन,’ जानकीले भनिन्, ‘अब त निको हुने आशा जागेको छ ।’ उनी वैशाख २२ मा घाइते भएका थिए । गोली लागेको केही बेरमै बेहोस भएका उनलाई १४ दिनपछि होस आएको साथीहरूले बताएको उनले सुनाइन् । परिवारसँग सम्पर्कमा आएपछि रुस पठाउने दलालमार्फत कपडा र मोबाइल अस्पतालमै पुर्‍याएको उनले बताइन् ।

नीराजनले निको भएपछि भदौ–असोजमा घर फर्किने योजना बनाएको जानकीले सुनाइन् । ‘अब जे भए पनि घर फर्कन भनेका छौं, निको भएपछि आउँछ भन्ने आस छ,’ उनले भनिन्, ‘सँगै गएका लोकेन्द्रलाई पनि लिएर आउन भनेका छौं ।’

नीराजनले रेखदेख गर्ने बस र पसल उनकी श्रीमती सीताले हेरिरहेकी छन् । सीताले श्रीमान्लाई रुस नजान पनि सुझाएकी थिइन् । तर दुई भाइ तयार भएपछि उनको केही लागेन । विराजनले घरपरिवारसँग पीआर पाएपछि मात्रै फर्किने भन्थे । नीराजन भने ६ महिना बसेर फर्किने योजनामा थिए । अहिले नीराजनको घरमा सान्त्वना दिन आफन्तहरू आइरहेका छन् । आगन्तुकलाई देख्नेबित्तिकै नीराजनकी आमा रुन थाल्छिन् । ‘नाति–नातिना स्कुल जान्छन् । बुहारी पसलमा, घरमा म एक्लै त हो,’ उनले भनिन्, ‘जेठो छोराका नाति–नातिना र बुहारी काठमाडौं बस्छन् । घरमा एक्लै बस्दा छोराकै बारेमा सोचिन पुग्दो रहेछ ।’

अहिले पनि अस्पतालको बेडमा छटपटाइरहेको कान्छो छोराको अवस्था कस्तो हुने हो भन्ने एकातिर चिन्ता छ, अर्कोतिर निको भएपछि पनि सहजै घर फर्किन पाउने हो कि होइन भन्ने विषयले उनलाई त्रसित बनाइरहेको छ । उनको परिवार २०३९ मा बैतडीको पुर्चौंडीबाट महेन्द्रनगर बसाइँ सरेको हो । श्रीमान् गोविन्दबहादुर विष्ट जिल्ला अदालतमा विचारी थिए । ‘उहाँको त्यही कमाइका भरमा हाम्रो परिवार तराई झरेको हो,’ उनले भनिन् । केही वर्ष महेन्द्रनगरमै कोठा भाडा लिएर बसेपछि सुन्दरपुरमा जमिन किनेर बसाइँ सरेको उनले बताइन् । ‘निकै दुःख गरेर यहाँ बसेका हौं, अहिले छोराहरूले यति टाढा गएर जीवन दाउमा लाए,’ आँसु पुछ्दै जानकीले भनिन्, ‘जेठो त गयो, कान्छोको आशा थियो त्यो पनि अस्पतालमै छ ।’ उनले नीराजन निको हुनेबित्तिकै जसरी भए पनि घर फर्किन भनेको बताइन् ।

 

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०८१ असार २२

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP