२०८३ असार १७, बुधबार
July 1, 2026, Wednesday

अस्पताल नदेखेकाले पाए नि:शुल्क विषेशज्ञ सहितको स्वास्थ्य सेवा


दिपायल – शिखर नगरपालिका- १० की तारा देवी बलायर उमेरले ६५ वर्षकी भइन् । उनले गाउँको स्वाथ्य चौकी बाहेक बाहिरको अस्पतालमा स्वाथ्य उपचारका लागि हालसम्म नगएको सुनाइन्।

शनिबार उनको गाउँमा रहेको स्वास्थ्य चौकीमा विशेषज्ञ डक्टर सहितको टीम गयो । त्यहाँ चेकजाँच गराउँदा उनमा पाठेघरको गम्भीर समस्या देखियो । वरिष्ट सर्जन डा. सुभाष थापा मगरले चाँडै सल्यक्रिया गर्नु पर्ने सुझाव दिए ।

“पेट दुःखन्थ्यो, मण्डो दुखन्थ्यो, हातखुट्टा दुःखन्थ्या काईकाई अस्पताल जानु परेइन,”ताराले भनिन्,” बिमार भया धामी सोद्या, गाउँकाइ चौकीमी गैबर गोली खाया, सुयो लगाया । आज याँ आएका डाक्टर देखया रे अप्रेशन अड्दु पड्याभन्यो, ठुलोइ बिमार पाल्या रैछु ।”

त्यस्तै सोही ठाउँका ७० वर्षीय टेक बहादुर बलायर हातखुट्टा दुख्ने समस्या लिएर शिविरमा आए । लामो समय देखि हातखुट्टा दुख्ने घुँडा दुख्ने समस्या थियो,” उनले भने,” उमेरका कारण हो भनेर सहेर बसे । आज डक्टरलाई देखाउँदा हड्डी खिएको छ । यस्को उपचार हुन्छ । अस्पताल आउनु होला भन्नु भयो । मैले आज सम्म ठुला डक्टरलाई चेकजाँच गर्न पाएको थिएन ।”

शनिबार वडा नम्बर १० काे आयोजना तथा सुजङ्ग स्कुलको आर्थिक सहयोग एवं सुजङ्ग अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित नि:शुल्क स्वास्थ्य शिविरमा तारा र टेक जस्तै थुप्रै व्यक्तिहरूले स्वास्थ्य सेवा लिन पाए । शिविरमा ३ सय १ जना बिरामीहरूले स्वास्थ्य सेवा लिएको सुजङ्ग स्कुलका डाइरेक्टर नरेश बलायरले बताए । जस्मा धेरैजसो जेष्ठ नागरिकहरुले सेवा लिएको उनले बताए । शिविरमा स्वास्थ्य चेकजाँच, उपचार, भिडियो एक्सरे, स्वास्थ्य सल्लाह तथा आवश्यक अनुसार नि:शुल्क औषधि वितरण गरिएको बलायरले जानकारी दिए।

शिविरमा सुजङ्ग अस्पतालमा कार्यरत तीन जना विषेशज्ञ डाक्टरहरुले सेवा दिएको सुजङ्ग अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायरले बताए । वरिष्ट सर्जन डा. सुभाष थापा मगर , हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. बुद्धिराज गुरुङ ,जनरल फिजिसियन रजमनी यादव लगायत अन्य स्वाथ्यकर्मीहरुले सेवा दिएको उनले बताए । उनका अनुसार ३ सय ३ जना विरामीहरु मध्य २ सय २७ महिला र ७३ पुरुषले सेवा लिएका थिए। जस्मा हड्डी तथा नशाका एक सय ३९, ग्याष्ट्रिक तथा अन्य समस्या भएका एक सय ३०, महिला राेगका ३८ जना विरामी थिए । त्यस्तै ३८ जनाको भिडियो एक्सरे गरिएको थियो भने १३ जनाको पाठेघरकाे जाँच गरिएको थियो । सल्यक्रिया गर्नु पर्ने बिरामीलाई विशेष सहुलियत दिने अस्पतालले जनाएको छ।

नगर प्रमुख दीर्घ बलायरले शिविरको उद्घाटन गर्दै नगरपालिकामा शिविर सञ्चालन गरेर स्वास्थ्यसेवाको पहुँच भन्दा बाहिर रहेका बिरामीहरुलाई सेवा दिएकोमा सहयोगी संस्थाहरुलाई धन्यवाद ज्ञापन गरे ।

Related News

पेट्रोलियम पदार्थको मूल्य घट्यो, एलपी ग्यास सिलिन्डरमा १०० रुपैयाँ सस्तो
पेट्रोलियम पदार्थको मूल्य घट्यो, एलपी ग्यास सिलिन्डरमा १०० रुपैयाँ सस्तो
  • २०८० पुष १५

पेट्रोलियम पदार्थको मूल्य घट्यो, एलपी ग्यास सिलिन्डरमा १०० रुपैयाँ सस्तो...

TOP