२०८३ असार १६, मंगलवार
June 30, 2026, Tuesday

‘डाटा इन्ट्री’ गर्न शिक्षकहरू अग्लो डाँडामा

बैतडी –  विद्यालयको परीक्षाफललगायतका तथ्याङ्क अनलाइन दर्ता गर्न बैतडीका शिक्षकहरू अग्लो डाँडामा पुग्ने गरेका छन्।इन्टरनेट र टेलिफोनले काम नगर्दा शिक्षकहरू ल्यापटप बोकेर कागजातसहित अग्लो डाँडामा पुग्ने गरेका हुन्।

पाटन नगरपालिका–७, भुवनेश्वर आधारभूत विद्यालयका शिक्षक पुष्करसिंह साउद र उदयदेव मावि किम्तोलीका शिक्षक भानसिंह पेला इन्टरनेटको खोजी गर्दै नियमित अग्लो डाँडामा जानुहुन्छ ।स्थानीय भगौती डाँडा पुगेर पनि नेपाल टेलिकमको इन्टरनेटले काम नगरेपछि एनसेलको सिमबाट इन्टरनेट चलाएर कक्षा ८ को परीक्षाफल अनलाइन प्रविष्ट गरेको उहाँहरूको भनाई छ ।

पाटन नगरपालिका मात्रै होइन, सिगास गाउँपालिका–१, स्थित भूमिराजस्वामी आधारभूत विद्यालय आसपासका गाउँ टोलमा पनि नेपाल टेलिकमको नेटवर्कले काम गर्दैन। यहाँ फोरजी सेवा त परको बकुरा बादल लागेका बेला फोनको नेटवर्कसमेत चल्दैन।  पाटन नगरपालिका–१०, ठाँटा बजारमा टेलिकमको टावर निर्माण हुन सकेमा सिगास, पाटन र डडेलधुराको नवदुर्गा गाउँपालिकासम्म इन्टरनेट सेवा पुग्ने देखिन्छ। 

पाटन नगरपालिका–१ र ७ नम्बर वडाका करिब १५ वटा गाउँमा नेपाल टेलिकमको नेटवर्क र फोरजी चल्दैन। इन्टरनेट र टेलिफोन सेवा नहुँदा यहाँका विद्यालयमा सञ्चालित सूचना प्रविधि कक्षासमेत प्रभावित हुँदै आएका छन्। 

नेपाल टेलिकमले दुई वर्षअघि पाटन नगरपालिका–१, मेल चौरमा निर्माण सुरु गरेको टावरको काम पूरा नहुँदा सञ्चार सुविधाबाट वञ्चित हुनु परेको पाटन नगरपालिका–१, का वडाध्यक्ष तर्क ठगुन्नाले बताउनुभयो। 

नेपाल टेलिकम बैतडीका प्रमुख अजित प्याकुरेलले यहाँका अधिकांश गाउँमा विद्युत् नहुँदा सोलारबाट टावर सञ्चालन गर्नु परेको बताउनुभयो। बादल लागेका दिन ब्याट्री चार्ज नहुँदा नेटवर्कमा समस्या आउने गरेको छ। 

नेपाल टेलिकमबाट ४२ हजार पाँच सय प्रिपेड सिम, ४९२ पोस्टपेड र ल्यान्ड लाइनबाट इन्टरनेट सञ्चालन गर्ने करिब एक हजार ग्राहक रहेको टेलिकम बैतडीले जनाएको छ।    

Related News

नतिजा छिटो, तर विश्वसनीयतामाथि प्रश्न: कक्षा १२ पुनर्योगमा ३२ हजार आवेदन, एसईईमा ५.८१% नतिजा परिवर्तन
नतिजा छिटो, तर विश्वसनीयतामाथि प्रश्न: कक्षा १२ पुनर्योगमा ३२ हजार आवेदन, एसईईमा ५.८१% नतिजा परिवर्तन
  • २०७९ चैत्र २३

  काठमाडौं – सरकार र राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष...

TOP