
बेदकोट – कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालले फोहाेरबाट आम्दानी गर्न थालेको छ। अस्पतालमा उत्पन्न हुने फोहाेर बिक्री गरेर अस्पतालले आम्दानी गर्न थालेको हो।
प्रायः फालिने गरेका प्लास्टिकका बोतल, औषधिका खोल, कागज, स्लाइनका बोत्तल, प्रयोग गरेका पञ्जालाई अस्पतालले आम्दानीको स्रोतमा बदलेको छ।
अस्पतालमा उत्पादन हुने फोेहाेर समस्या नभएर आम्दानीको स्रोतको रुपमा प्रयोग गरिएको अस्पतालको फोहाेरमैला व्यवस्थापन केन्द्रमा कार्यरत कर्मचारी मीरा चौधरीले बताए।
“फोहाेर सङ्कलन गरेर राख्छौँ, सङ्क्रमण हुन सक्ने सामग्रीको निर्मलीकरण गर्ने गरेका छौँ”, उनले भने, “फोहाेर व्यवस्थापन केन्द्रमा कुहिने र नकुहिने सामग्री सबै छुट्याएर राखिन्छ ।” उनका अनुसार कुहिने र नकुहिने तथा जोखिम र बिना जोखिमको सामग्री छुट्याएर बिक्री गर्ने गरिएको छ।
“एकातर्फ अस्पतालको वातावरण स्वच्छ र सफा भएको छ, अर्कोतर्फ आम्दानी पनि भइरहेको छ”, उनले भने, “फोहाेर बिक्री गरेर महिनामा १५/२० हजार आम्दानी हुन्छ।”
पुनः प्रयोग गर्न सकिने सामग्री बिक्री हुने गरेको छ। अहिले खरिद गर्ने धेरै नभएकाले सस्तोमै बिक्री गर्नुपरिरहेको उनको भनाइ छ। फोहाेर व्यवस्थापन केन्द्रमा दुई कर्मचारी कार्यरत छन्।
“जोखिम र बिना जोखिमको फोहाेर छुट्याइन्छ, जोखिमयुक्त फोहाेरलाई निर्मलीकरण गरिन्छ”, गोमती बोहराले भने, “कुहिने, नकुहिने, प्लास्टिक, कागज, सिरिन्ज सबै छुट्याएर अलग–अलग राखिन्छ।” सुरुमा सङ्कलन गरेको फोहाेर छुट्याउन समस्या भए पनि अहिले भने सहज भएको उनले बताए।
अस्पतालमा एक महिनामा सात/आठ क्विन्टल फोहाेर उत्पादन हुने गरेको छ।
जसमध्येको पुनःप्रयोग गर्न मिल्ने आधाभन्दा बढी फोहाेर अस्पतालले बिक्री गर्ने गरेको छ। बिक्री नभएको सामग्री भीमदत्त नगरपालिकाको फोहाेर संकलन गर्ने गाडीमा व्यवस्थापन गरेर पठाउने गरिएको छ। रासस
दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...