२०८३ असार १६, मंगलवार
June 30, 2026, Tuesday

म्यादी प्रहरी मायाको घाँटी रेटी हत्या, सशस्त्रका जवानमाथि शंका

बैतडी- बैतडीमा घाँटी काटिएको अवस्थामा मृत फेला परेकी २१ वर्षीया माया लुहार भर्खरै सम्पन्न निर्वाचनमा म्यादी प्रहरी रहेको खुलेको छ । घटनामा १५ वर्षीया बालिका नेहा लुहार घाइते अवस्थामा फेला परेको थियो ।

प्रहरीले घटनाको अनुसन्धान गर्ने क्रममा घाइते बालिकाले सशस्त्र प्रहरीका जवान भरत कोलीले हत्या गरेको बताउनुभयो । घाइते बालिकाको उद्धार गरेर उपचारका लागि डडेलधुरा अस्पताल पठाएको जानकारी दिनुहुँदै जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रनाउ प्रेमबहादुर शाहीले घाइते बालिकाले नाम लिएका आरोपित युवा सशस्त्र प्रहरीमा कार्यरत रहेको खुल्न आएकाले अनुसन्धान भइरहेको बताउनुभयो ।

बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सैलोडाकी २१ वर्षीया माया लुहार घाँटी काटिएको अवस्थामा बुधवार बेलुकी शिवनाथ गाउँपालिका–६, स्थित शिवनाथ मन्दिर नजिक रहेको टेलिफोन टावर छेउमा सब फेला परेको थियो । सोही ठाउँकी १५ वर्षीया नेहा लुहार घाइते अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो ।

मृतक लुहार भर्खरै सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा म्यादी प्रहरीका रूपमा बैतडीको शिवनाथ गाउँपालिका सोल्पलामा खटिएकी थिइन् । सशस्त्र प्रहरी बल नेपालमा कार्यरत शिवनाथ गाउँपालिका–४,का भरत कोली बिदामा घर आएका थिए । मायासँग कोलीको राम्रै चिनजान रहेको बताइन्छ । म्यादी प्रहरीको समय सकिएपछि घर फकिने बेला मृतक मायाको फोन भरत कोलीले खोसेर आफूसँगै राखेको खुल्न आएको छ ।

मङ्गलवार बिहान १०ः बजे घरबाट पञ्चेश्वर गाउँपालिका–३ कुलाउमा लुगा सिलाउन गएको भनिए पनि माया लुहार फोन लिन र कोलीसँग भेटघाट गर्न घरबाट १५ वर्षीय नेहालाई साथमा लगी शिवनाथ गएको बुझिएको छ । मृतक माया लोहारको सब फेला परेको स्थानमा मङ्गलवार राति आगोसमेत बालेको पाइएको स्थानीयले बताएका छन् ।

मङ्गलवार बिहान घरबाट लुगा सिलाउन भनेर हिँडेका युवति घर नफर्के पछि बुधवार आफन्तले प्रहरीमा खबर गरेर खोजी गर्दै जाँदा बुधवार बेलुकी ४ः१५ बजे माया मृत अवस्थामा फेला परेकी हुन् भने नेहा घाइते अवस्थामा भेटिएकी थिइन् ।

घटनाको गहिरो अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रेमबहादुर शाहीले आफै घटनास्थलमा खटिएको बताउनुभयो । उहाँका अनुसार आरोपित फरार रहेकाले उनको घर पुगेर थप विवरण बुझ्ने काम भई रहेको छ । अनुसन्धानका लागि पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिका लगायत मुख्य सडकमा प्रहरीको अनुसन्धान टोली परिचालन गरिएको छ ।

Related News

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
  • २०७९ मंसिर १५

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३...

TOP