
डोटी- दिपायल सिलगढी नगरपालिका– ४ कुमालीकोटकी धौली देवी कठायतले श्रीमान गुमाएको तीन वर्ष भयो । श्रीमानको निधन पछि तीन छोरी र एक छाराको जिम्मेबारी उनको काँधमा आयो ।
३० वर्षकै उमेरमा एकल महिला बनेकी उनले केही वर्ष घरायसी काममा बिताइन् । घरको कृषि कार्यमा लागेकी उनलाई खानका लागि अन्नको समस्या नभए पनि अन्य आयस्रोत नहुँदा तेल, साव्ुन, छोराछोरीहरुको पढाइ खर्च चलाउँन निकै समस्या भयो । हातमा पैंसा नहुँदा स्यानातिना समस्याले पटक–पटक रुवाएको उनले बताइन् ।
आयस्रोत नभएपछि तीन छोरी मध्य दुई छोरी माइतिको घरमा राखेर गुजारा चलाइरहेको धौलीले बताइन् । एक वर्ष अघि एकल महिलाका लागि काम गर्ने संस्था “मानव अधिकारको लागि महिला, एकल महिला समुह” डोटीले स्थापना गरेको समुहमा आवद्ध भइन् । उनले संस्थाबाट क्षमता अभिवृद्धि, व्यवसायिक तथा महिला अधिकारका बारेमा तालिम लिएपछि व्यवसाय गर्ने सोच बनाइन् ।
‘व्यवसाय गरौला र खाउँला भन्ने पहिला आँटै थिएन,‘धौलीले भनिन्,‘संस्थाबाट तालिम पाएपछि स्यानै भए पनि व्यापार गर्नुपर्छ भन्ने सोच बनाए । संस्थाले व्यवसाय सुरु गर्नका लागि २० हजार अनुदान दिने भनेपछि त्यही रकमको आशमा व्यवसाय सुरु गरे ।’
२० हजार अनुदानको आसमा धौलीले गाउँको विद्यालयमा क्यान्टिन संचालन गर्ने जमर्को गरिन् । संस्थाबाट अनुदान पाउने पक्का भएपछि उनले अनुदान पाउनु अघि नै व्यवसाय सुरु गर्ने सोच बनाइन् । सरसापटी गरेर व्यवसाय सुरु गरेको दुई हप्ता पछि उनले अनुदान बाफत “मानव अधिकारको लागि महिला, एकल महिला समुह” डोटीबाट गत मंसिरमा २० हजार प्राप्त गरिन् । संस्थाको प्रेरणा र सहयोगमा थालिएको सो व्यवसायमा हाल उनले लगभग एक लाखको लगानी लगाएको बताइन् ।
धैलीले अहिले कुमालिकोट माविमा क्याण्टीन सञ्चालन गरेकी छन् । गाउँ र बजारबाट टाढा रहेको सो विद्यालयमा क्यान्टीन सञ्चालन गरेपछि अहिले दैनिक एक हजार देखि १५ सय सम्मको व्यापार हुने गरेको छ । क्यान्टीन सञ्चालन पछि धौलीको व्यवसाय मात्रै बढेको छैन विद्यालयका शिक्षक विद्यार्थीहरुले पनि सेवा पाएका छन् । अहिले धौलीका छोराछोरीहर पनि त्यही विद्यालयमा अध्ययन गर्दै आएका छन् । गाउँ र बजारबाट टाढा रहेको सो विद्यालयमा क्यान्टिन सञ्चालन गर्नुअघि खाजा, चिया खान समेत निकै समस्या हुने गरेको शिक्षक राम बहादुर रावलले बताए । क्यान्टिन सञ्चालन पछि शिक्षक विद्यार्थीहरुलाई निकै सहज भएको उनले बताए ।
संस्थाको सहयोगमा धौली जस्तै जिल्लाका ३० जना एकल महिला र २० जना जनप्रतिनिधिहरुले व्यवसाय गर्दै आएका छन् । पूर्वीचौकी गाउँपालिका र दिपायल सिलगढी नगरपालिकामा सञ्चालित संस्थाको सिमान्तकृत महिलाहरुको आवाज तथा सहभागिता परियोजनाले उद्यमशीलता, आयआर्जन तथा क्षमता अभिवृद्धि तालिम दिदै आएको छ ।
संस्थाले हाल सम्म जिल्लाका ४९ जना महिलाहरुलाई व्यवसायिक बनाएको छ । “मानव अधिकारको लागि महिला, एकल महिला समुह” डोटीकी कार्यक्रम संयोजक लक्ष्मी देउवाका अनुसार बढी जासो महिलाहरुले बाख्रापालन व्यवासाय गर्दै आएका छन् । केही महिलाहरु बंगुर, भैंसी, कुखुरा पालन व्यवसायमा छन् भने केही महिला सिलाइ कटाइट व्यवसाय गर्दै आएका छन् ।
एकल महिलाहरुले स्यानो लगानीमा स्याना व्यवसायको सुरुवात गर्दै लगानी थपेर बढाउँदै गएका छन् । संस्थाले व्यवसाय गर्ने जनप्रतिधि महिलाहरुलाई पनि अनुदान दिदै आएको छ । जनप्रतिनिधि महिलाहरुको क्षमता अभिवृद्धि, महिला अधिकार, कानुन, प्रक्रियाका बारेर पटक–पटक सल्लाह सुझाव र तालिम प्राप्त गरेको दिपायल सिलगढी नगरपालिका–४ की पार्वर्ती पार्कीले बताइन् । तालिम पश्चात जनप्रतिनिधि महिलाहरुको क्षमता अभिवृद्धि हुनका साथै व्यवसायिक बनाएको उनले बताइन् ।
दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...