२०८१ जेष्ठ ६, आईतवार
May 19, 2024, Sunday

बडीकेदारमा ठेकेदारको लापरबाहीले विद्युत विस्तारमा समस्या

डोटी – जिल्लाको बडीकेदार गाउँपालिका बत्तीमुनीको अँध्यारो भने जस्तै भएको छ । यहाँको वडा नं १ बिपीनगरस्थित कापडी गाडमा विद्युत् गृह निर्माण गरिए पनि अहिलेसम्म गाउँपालिकाका सबै वडामा विद्युत् विस्तार गर्न सकिएको छैन ।

बिजुली बत्ती अभावमा यहाँ सरकारी कामकाजदेखि स्थानीयवासीलाई समस्या भएको छ । नेपाल विद्युत् प्राधिकरणले पालिकामा राष्ट्रिय प्रशारणको विद्युत् सेवा विस्तारका लागि दुई वर्ष अघि बोलपत्र आह्वान गरेको थियो । अहिलेसम्म विद्युत् विस्तारको काम नहुँदा समस्या भएको स्थानीय रोजबहादुर कलेलले बताए । बिपीनगर बजारबाट गाउँपालिका सम्म विद्युत् विस्तारका लागि प्रधिकरणको दिपायल वितरण केन्द्रले बोलपत्र आह्वान गरेको थियो ।

कापडी गाडबाट निकालिएको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । सो पालिकामा विद्युत् विस्तारका लागि भगवती कन्सट्रक्सन दिपायलले पोल र तार तान्ने ठेक्का पाएको थियो । अहिलेसम्म कामको सुरुआत हुन सकेको छैन । विद्युत् विस्तारको जिम्मा पाएको कम्पनीले भने समयमै विद्युत् प्राधिकरणबाट सामान नपाउँदा काममा ढिलाइ भएको जनाएको छ ।पोल र तार जताततै फालिएका अवस्थामा छन् ।

कम्पनीले केही ठाउँमा पोल गाढेको भए पनि हाल ति ढलेको अवस्थामा रहेका स्थानीय उपेन्द्र धामीले बताए । उनले भने, ‘पोल ढलेका छन्, कतिपय ठाउँमा तार चुँडिएका छन् ।’

बिजुली नहुँदा कार्यालयको कामकाजमा बाधा पुगेको बडीकेदार गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले जानकारी दिए । विद्युत् प्राधिकरण, दिपायलका प्रमुख राजेन्द्रलाल देवले तारको समस्याका कारण विद्युत् विस्तारको काम हुन नसकेको बताए । ‘तार उपलब्ध हुने बित्तिक्कै काम अघि बढ्छ’, उनले भने ।

रासस

Related News

विद्यालयमा विषेशज्ञ सहितको स्वास्थ्य शिविर सञ्चालन, ६७७ जनाले पाए सेवा
विद्यालयमा विषेशज्ञ सहितको स्वास्थ्य शिविर सञ्चालन, ६७७ जनाले पाए सेवा
  • २०७८ माघ ४

दिपायल ५ जेठ- सरस्वती मावि रानागाउँमा एक दिने स्वास्थ्य शिविर...

TOP