२०८३ कार्तिक ११, मंगलवार
October 27, 2026, Tuesday

मोटरसाइकल चलाउँदा आईफोनको क्यामरा बिग्रिन सक्ने चेतावनी

शक्तिशाली मोटरसाइकलबाट हुने कम्पनबाट आईफोन जोगाउन प्रयोगकर्तालाई निर्माता कम्पनी एपलले सुझाव दिएको छ।

एपलका अनुसार नराम्रो कम्पनले आईफोनको क्यामराको प्रणालीमा खराबी आउन सक्छ।

म्याकरूमर्स वेबसाइटले फेला पारेको एपलको ग्राहक सेवा वेबसाइटको सपोर्ट पेजमा उक्त प्रविधि कम्पनीले शक्तिशाली मोटरसाइकलमा आईफोन जोडेर नराख्न चेतावनी दिएको छ।

उक्त दस्ताबेजमा इन्जिनमा हुने कम्पनीले फोनको क्यामराले फोटो खिच्दा सन्तुलन कायम रहोस् भनेर जडान गरिएको प्रविधि ‘अप्टिकल-इमेज स्टेबलाइजेशन अथवा क्लोज्ड-लूप अटोफोकस’ प्रणालीमा हानि पुर्‍याउन सक्ने बताइएको छ।

स्कूटर र मोपेडचालकलाई पनि आईफोन ह्यान्डलमा जडान गर्दा कम्पन घटाउन सघाउने विशेष खालको ‘माउन्ट’ प्रयोग गर्न सुझाव दिइएको छ।

विभिन्न मानिसले मोटरसाइकलमा जोडेपछि आफ्नो फोन बिग्रिएको सामाजिक सञ्जालमा लेखेका छन्।

एपलले विभिन्न मोडलका आईफोनमा क्षति हुने जोखिम भएको जनाएको छ।

“शक्तिशाली मोटरसाइकलबाट “सघन उच्च-तरङ्ग भएका कम्पन” उत्पन्न हुन्छ,” उक्त सपोर्ट पेजमा भनिएको छ।

त्यस्तो कम्पन फ्रेम र ह्यान्डलबारबाट फैलिन सक्छ।

” आवृत्ति (फ्रिक्वेन्सी)का केही निश्चित श्रेणीभित्र पर्ने धेरै चर्को तरङ्ग भएको कम्पनका कारण आईफोनका यी प्रणालीहरूको कार्यक्षमता क्षीण हुन सक्छ अनि त्यसले तस्बिर र भिडिओको गुण घटाइदिन सक्छ।”

मोटरसाइकल चढेर कतै जाँदा बाटो पत्ता लगाउन प्रायः फोन देखिनेगरी ह्यान्डलमा जडान गरेर राख्ने चलन छ।

त्यसैले कम्पनबाट आफ्नो आईफोन जोगाउने उपाय भनेको प्रथमतः मोटरसाइकलको ह्यान्डलमा त्यसरी आईफोन नजोड्नु नै हो।

Related News

सेती नदी किनारमा युवकको शव फेला
सेती नदी किनारमा युवकको शव फेला
  • २०७८ आश्विन १

दिपायल – डोटीको शिखर नगरपालिका–८ गोल्मागाडस्थित सेती नदी किनारमा एक...

TOP