देबेन्द्र दत्त भट्ट , सुजङ्ग स्कुल , राजपुर डोटी
नेपालका ज्ञात र अज्ञात सहिदहरूप्रति श्रद्धाका पुष्प अर्पण गर्दै हामी भावनात्मक शब्दमै सीमित रहन मिल्दैन, किनकि सहिदलाई सम्झनु भनेको इतिहासका निरङ्कुश सत्ता संरचनामाथि कठोर प्रश्न तेर्स्याउनु र वर्तमानलाई जवाफदेही बनाउनु हो । राणाहरूको निरङ्कुश शासनकालमा राज्य सन्चालक नै जनताको अहितमा लागेको बेला सहिद शुक्रराज शास्त्रीको वैचारिक साहस, धर्मभक्त माथेमाको अडान, दशरथ चन्दको निर्भीकता र गंगालाल श्रेष्ठको युवावस्थाकै बलिदानले नेपाली समाजलाई प्रजातान्त्रिक शासन व्यबस्था बारे सोच्न बाध्य बनायो । यो नै नेपालमा अन्यायविरुद्ध उठेको पहिलो संगठित गर्जना थियो ।
पञ्चायती व्यवस्थाले जनताको मुखमा ताला लगाउँदा, विचारलाई अपराध बनाउँदा, सहिदहरूको रगतले सिंचित चेतनाले २०४६ सालको जनआन्दोलनको रुपमा विस्फोट गरायो र निरङ्कुशता ढाल्ने ऐतिहासिक मोड सिर्जना गर्यो । तर अधुरो लोकतन्त्र, असमानता र दण्डहीनताले जनताको आक्रोश थाम्न सकेन, जसको परिणामस्वरूप २०६२/६३ को जनआन्दोलनले सहिदको बलिदानकै जगमा गणतन्त्रको ढोका खोल्यो। मधेश आन्दोलनले राज्यको केन्द्रिकृत अहंकार र विभेदकारी संरचनालाई चुनौती दिँदै समानता, पहिचान र अधिकारका सवाललाई सडकबाट संसदसम्म पुर्यायो, जहाँ थुप्रै सहिदहरू राज्यको उदासीनताका साक्षी बने । पछिल्लो जेनेजी आन्दोलनले सत्तामुखी राजनीतिप्रति प्रश्न उठाउँदै भ्रष्टाचार, कुशासन र नैतिक पतनविरुद्ध नयाँ पुस्ताको आक्रोशलाई विस्फोटमा बदल्यो, जसको वैचारिक ऊर्जा पनि अन्ततः सहिदकै बलिदानबाट आएको हो । सहिदहरू कुनै एउटा कालखण्डमा सीमित छैनन्, उनीहरू निरन्तर चलिरहने प्रतिरोधका प्रतीक हुन् । आज सहिदको नाम जपेर सत्ता भोग्ने तर सहिदको सपना कुल्चनेहरू नै सबैभन्दा ठूला घातक हुन् ।
सहिद शुक्रराज शास्त्री , धर्मभक्त माथेमा , दशरथ चन्द , गंगालाल सहित ज्ञात- अज्ञात सहिदको बलिदानले मागेको नेपाल—न्यायपूर्ण, समानतामूलक र स्वाभिमानी—निर्माण नभएसम्म हाम्रो असन्तोष, प्रतिरोध र संघर्ष रोकिने छैन ।
सहिद दिवस आउँदा नेपालको माटो मौन तर गम्भीर हुन्छ । फूल चढाइन्छ, माल्यार्पण गरिन्छ, भाषण गरिन्छ, तर त्यो माटोले एउटा प्रश्न निरन्तर सोधिरहन्छ—“मेरो रगत किन बग्यो ?” यही प्रश्नले नेपालको आजको राजनीतिलाई कठघरामा उभ्याइरहेको छ। सहिद दिवस केवल विगत सम्झिने औपचारिक दिन होइन, यो वर्तमानलाई ऐना देखाउने र भविष्यप्रति नैतिक उत्तरदायित्व बोकाउने दिन पनि हो। तर दुर्भाग्य, आजको राजनीतिक व्यवहार हेर्दा लाग्छ—सहिद दिवस हाम्रो चेतनामा होइन, पात्रोमा मात्र सीमित हुँदै गएको छ ।
नेपालको राजनीतिक इतिहास बलिदानको इतिहास हो । यो इतिहास सत्ता परिवर्तनको कथा मात्र होइन, चेतनाको क्रान्ति हो। निरङ्कुशताविरुद्ध आवाज उठाउँदा ज्यान गुमाउने शुक्रराज शास्त्री, हाँस्दै फाँसी चढ्ने गंगालाल श्रेष्ठ, यातना सहँदै सहिद हुने धर्मभक्त माथेमा, मृत्युलाई चुनौती दिने दशरथ चन्द—यी नाम केवल स्मारकका अक्षर होइनन्, यी नेपालको राजनीतिक आत्मा हुन् । उनीहरूले सत्ता मागेका थिएनन्, उनीहरूले पद खोजेका थिएनन्, उनीहरूले केवल राष्ट्र खोजेका थिए—स्वतन्त्र, स्वाभिमानी र जनताको शासन भएको समुन्नत राष्ट्र ।
तर आजको राजनीति त्यो सोचबाट कति टाढा पुगेको छ ? सहिदको नाममा भाषण गर्नेहरू सत्ता मिलाउन हाइब्रिड चरित्र प्रदर्शन गरिरहेका छन् । न स्पष्ट विचार, न स्पष्ट प्रतिबद्धता केबल आज फाइदा र भोलि सुविधा । यही हाइब्रिड राजनीति नेपालको सबैभन्दा ठूलो दुर्भाग्य बनेको छ । यो न पूर्णतः राष्ट्रप्रेमी छ, न स्पष्ट रूपमा सिद्धान्तवादी छ, न इमानदार रूपमा व्यवहारवादी। यो केवल अवसरवादी छ—सत्ताको छायाँ पछ्याउने,सेटिङ मिलाउन उद्धत रहने ,केवल अंकगणित मिलाउने र सुशासन र लोकतान्त्रिक मूल्य मान्यता बिर्सिने ।
सहिदहरूले राजनीतिलाई जनताको मुक्ति र चेतनाको माध्यम ठानेका थिए। आज यहाँ राजनीति केवल सुविधा, सुरक्षा र सौदाबाजीको माध्यम बन्दै गएको छ । यही कारण सहिद दिवस आउँदा श्रद्धाञ्जलीका शब्दहरू भारी लाग्छन्, किनकि व्यवहार ती शब्दसँग मेल खाँदैन। राजनीति जब सन्देश होइन, सम्झौताको भाषा बोल्न थाल्छ, तब राष्ट्र कमजोर हुन्छ ।
आज नेपालको राजनीतिक विमर्श सत्ताको अंकगणितले ग्रसित छ । कति सिट, कति मन्त्रालय, कुन गठबन्धन—यी नै मूल प्रश्न बनेका छन्। तर सहिदहरूले जनता र राष्ट्रको सर्वाङ्गीण हित र सत्य खोजेका थिए । उनीहरूको राजनीति लोकतन्त्र मूल्यमा आधारित थियो । आजको सत्ता–केन्द्रित राजनीतिले त्यो मूल्यलाई विस्थापित गरिदिएको छ । सत्ता प्राप्तिका लागि वैचारिक असंगतता स्वीकार्य बन्दै गएको छ, जसले राजनीतिलाई दिशाहीन बनाएको छ ।
हाइब्रिड राजनीति यही दिशाहीनताको उपज हो । यसले कहिले राष्ट्रवादको भाषा बोल्छ, तर व्यवहारमा आत्मसमर्पण गर्छ । कहिले लोकतन्त्रको नारा दिन्छ, तर निर्णयमा जनतालाई बिर्सन्छ । कहिले सहिदको नाम लिन्छ, तर सहिदको सपना बोकेर हिँड्न डराउँछ। यस्तो राजनीतिले राष्ट्र निर्माण गर्दैन, केवल समय बिताउँछ देशलाई अझै बर्बाद गर्दछ । सहिदको बलिदान समय बिताउनका लागि थिएन ।
नेपालको भू–राजनीतिक अवस्थिति संवेदनशील छ । नेपाल दुई विशाल तर विपरित दर्शनमा उदाएका देशको बिचमा छ । यसको संवेदनशीलताको बारे बुझ्न जरुरी छ । यस्तो अवस्थामा स्पष्ट, आत्मसम्मानयुक्त र सन्तुलित वैदेशिक नीति आवश्यक हुन्छ । तर हाइब्रिड राजनीतिले यो स्पष्टता दिन सक्दैन । विदेशी चासोलाई ‘सहयोग’ को नाममा स्वीकार गर्ने, राष्ट्रिय प्राथमिकतालाई बाह्य एजेन्डासँग साटासाट गर्ने प्रवृत्तिले सहिदको स्वाधीन नेपालको सपना कमजोर बनाइरहेको छ । सहिदले चाहेको नेपाल कसैको खेल मैदान होइन, आफ्नै निर्णयमा उभिएको राष्ट्र थियो ।
निर्वाचन लोकतन्त्रको आत्मा हो, तर हाइब्रिड राजनीतिमा निर्वाचन पनि सत्ताको खेल बनाइन्छ । पैसा, प्रभाव, बाह्य समर्थन र प्रचारको भरमा जनमत प्रभावित गर्ने प्रयासले लोकतन्त्रको आत्मा क्षतविक्षत बनाइरहेको छ । सहिदले ज्यान दिएको लोकतन्त्र यदि अंकगणित र रणनीतिमा सीमित भयो भने त्यो लोकतन्त्र केवल नाम मात्रको हुन्छ । सहिद दिवस यही सन्दर्भमा अझ गहिरो प्रश्न बन्छ—के हामीले जनताको सार्वभौमसत्ता जोगाइरहेका छौँ ?
सहिदको सपना केवल शासन परिवर्तन थिएन, शासनको चरित्र परिवर्तन थियो । उनीहरूले राज्यलाई सेवाको प्रतीक बनाउन चाहेका थिए । तर आज राज्य सत्ता र सुविधाको प्रतीक बन्दै गएको छ । भ्रष्टाचार, असमानता र अन्यायले सहिदको बलिदानलाई लज्जित बनाइरहेको छ । जब युवा रोजगारी खोज्दै विदेश पलायन हुन्छन्, जब किसान मूल्य नपाएर निराश हुन्छन्, जब शिक्षा र स्वास्थ्य व्यापार बन्छ—त्यो दिन सहिदको आत्मा सबैभन्दा धेरै पीडित हुन्छ ।
अब प्रश्न उठ्छ—के समाधान छ ? समाधान सत्ता बदल्नु होइन, चेतना बदल्नु हो । सत्ताको अंकगणितभन्दा माथि उठेर राष्ट्रहितलाई केन्द्रमा राख्ने सन्देशमुखी राजनीति विकास गर्नु आजको आवश्यकता हो । सन्देशमुखी राजनीति भनेको भाषणमुखी होइन, आचरणमुखी राजनीति हो । जहाँ निर्णयमा राष्ट्र बोल्छ, व्यक्तिगत स्वार्थ होइन । जहाँ सहिदको सपना नीति बन्छ, नारा होइन ।
सहिद दिवसलाई अब औपचारिकताबाट मुक्त गरेर राष्ट्रिय आत्मचिन्तनको दिन बनाउनुपर्छ । यो दिन नेताहरूले फूल चढाउने मात्र होइन, आफ्ना निर्णय र व्यवहार सहिदको सपनासँग तौल्ने दिन हुनुपर्छ । हरेक सहिद दिवसले राजनीतिलाई एक कदम सुधारतर्फ धकेल्न सकेन भने त्यो दिन खोक्रो हुनेछ ।
राष्ट्रप्रेम भाषणमा होइन, निर्णयमा देखिनुपर्छ । राष्ट्रप्रेम भनेको कठिन बेला सत्ताको होइन, राष्ट्रको पक्ष लिनु हो । सहिदहरूले यही गरे। उनीहरूले जीवनभन्दा ठूलो राष्ट्र माने । आजको राजनीतिले यदि त्यो भावना आत्मसात् गर्न सकेन भने इतिहासले कठोर मूल्यांकन गर्नेछ ।
नेपाल आज निर्णायक घडीमा उभिएको छ । हाइब्रिड राजनीतिले देशलाई धुमिल दिशातर्फ लैजाँदैछ । सहिद दिवसले हामीलाई चेतावनी दिइरहेको छ—अब पनि नबुझे कहिले बुझ्ने ? अब पनि नफेरिए कहिले फेरिने ? सहिदहरूले हामीलाई सत्ता होइन, साहस सुम्पिएका थिए। त्यो साहस प्रयोग गरेर सन्देशको राजनीति, मूल्यको राजनीति र राष्ट्रप्रेमको राजनीति स्थापित गर्न सके मात्र सहिदको बलिदान सार्थक हुनेछ ।
सहिद दिवसको मर्म यही हो—मृत्युको सम्मान होइन, सपनाको निरन्तरता हो । यदि आजको राजनीति त्यो निरन्तरता बन्न सक्यो भने नेपाल बाँच्नेछ; नत्र सहिद दिवस प्रत्येक वर्ष हामीलाई मौन रूपमा दोषी ठहराइरहनेछ ।
दिपायल – सुजङ्ग स्कूलले सरस्वती पूजाको अवसरमा सङ्कलित दक्षिणा र...