डोटी- रुकुम पश्चिममा भएको घटनाको विरोध गर्दै दिपायलमा प्रदर्शन सहित कोणसभाको आयोजना गरिएको छ । नेपाल दलित संघका जिल्ला अध्यक्ष लाल बहादुर बिकको नेतृत्वमा दलित अगुवा तथा राजनीतिक दलका नेताहरुको सहभागितामा कोणसभाको आयोजना गरिएको थियो ।
घटनाको विरोध र दोषिलाई कानुनी कारबाहीको माग गर्दै गरिएको प्रदर्शन दिपायल बजार परिक्रमा गर्दै कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै नेपाल दलित संघ डोटीका अध्यक्ष लालबहादुर बिकले सोती घटनाले सिङ्गो उत्पिडित जाती, वर्ग र समुदायको अधिकारको आन्दोलनमाथि नै प्रश्नचिन्ह खडा गरेको बताए । ‘हिजो जो दलित समुदायको अधिकारका हिमायती कहलिन्थे । जो दलितको लाशमाथि चढेर सत्ताको सिढी चढे उनै घटनाका दोषिलाई बचाउन लागेको अवस्थाको जति निन्दा गरेपनि कम हुन्छ,’ उनले भने,‘यसले राज्यबाट मृत्यु भएका दलित युवाले न्याय पाउछन्, सिङ्गो उत्पिडित जाती, वर्ग र समुदायले न्याय पाउछ भन्ने विश्वास हराएको छ ।’
दलित संघ डोटीका पूर्व अध्यक्ष कुमारसिँह टेलरले दलितलाई उपयोग गरेर दलितका लाशहरुमाथि खेलवाड गर्ने छुट कसैलाई नभएको बताए । उनले भने,‘भोट माग्दा सबै मानवजाती समान हुने, समानताको अधिकार प्रयोग गर्न खोज्दा मारिनुपर्ने ?’
नेपाली कांग्रेस डोटीका नेता बिजय खड्काले आन्दोलनको ऐक्यवद्धता जनाउदै सोती घटनामा वर्तमान सरकारको असली चरित्र उदाङ्गो भएको बताए । ‘त्यो घटना मानवतामाथिको वर्वर अपराधिक घटना हो,’ उनले भने,‘बिगतका आन्दोलनको म्याण्डेट अनुसार मुलूक समानताको युगमा प्रवेश गरेको अवस्थामा यस्ता घटना हुनु र अपराधमा संलग्नको संरक्षणमा राज्य लाग्नुको जति निन्दा गरेपनि कम हुन्छ ।’
नेकपा डोटीका जिल्ला सचिवालय सदस्य धन बहादुर नेपालीले सोती घटनाले राज्यका सञ्चालकहरुमा रहेको नश्लीय चिन्तन अझै नहटेको प्रमाणित भएको बताए । ‘समुदायमा रहेको नश्लीय चिन्तन त नहटेको यो बर्बर घटनाले दर्शाईरहेको छ,’ उनले भने,‘थप त्यो घटनाका विषयमा राज्यको नेतृत्वमा बसेका व्यक्तीबाट बिबादित बयान आउनु र दोषिलाई उम्काउन खोज्नुले राज्यसंग पनि त्यो सोच अझै जीवित रहेको पुष्टी गरेको छ ।
कोणसभामा मन्तव्य दिने अधिकांश वक्ताहरुले घटनाको सत्यतथ्य छानविन गर्दै दोषिमाथि कडा कार्बाही गर्न माग गरेका थिए । कोणसभा कार्यक्रमको संचालन दलित युवा नेता सन्तोष विकले गरेका थिए ।
दिपायल । समस्याग्रस्त सहकारीका ६ हजार धेरै बचतकर्ताको बचत फिर्ता...