२०८३ असार २८, आईतवार
July 12, 2026, Sunday

कीर्तिपुर होल्डिङ सेन्टरमा प्रहरीसँग झडप, माजिद अन्सारी घाइते भएको दाबी

काठमाडौं — कीर्तिपुरस्थित बाढी प्रभावित सुकुम्बासीलाई राखिएको होल्डिङ सेन्टरमा प्रवेश गर्न नदिएको विषयलाई लिएर आइतबार प्रहरी र नागरिक अभियन्ताबीच विवाद भएको छ। घटनामा नागरिक अभियन्ता माजिद अन्सारी कुटपिटबाट घाइते भएको दाबी गरिएको छ।

घटनाबारे सार्वजनिक गरिएको विवरणअनुसार दिउँसो करिब ३ बजेतिर माजिद अन्सारीसहितको टोली होल्डिङ सेन्टर पुगेको थियो। तर प्रहरीले उनीहरूलाई भित्र प्रवेश गर्न नदिएको बताइएको छ।

टोलीले प्रवेश रोक्नुको कारण सोध्दा स्पष्ट जवाफ नदिइएको र त्यसक्रममा होल्डिङ सेन्टरभित्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निवर्तमान केन्द्रीय सदस्य तथा जेनजी अभियानी ओजस्वी थापा रहेको जानकारी प्राप्त भएको दाबी गरिएको छ।

प्रहरीसँग ‘उहाँलाई प्रवेश दिइएको भए हामीलाई किन रोकियो?’ भन्ने प्रश्न गर्दा थापा ‘आधिकारिक व्यक्ति’ भएको जवाफ दिइएको आरोप लगाइएको छ। त्यसपछि आधिकारिकताको आधार माग्दा प्रहरी प्रवक्तासँग सम्पर्क गर्न भनिएको दाबी गरिएको छ।

घटनास्थलमा केहीबेरपछि प्रहरीको सुरक्षा घेरा थप कडा बनाइएको र ठूलो ब्यारिकेड खडा गरिएको पनि विवरणमा उल्लेख छ।

अभियन्ता माजिद अन्सारीले आफूले सरकारको प्रतिनिधिका रूपमा उपस्थित भनिएका व्यक्तिसँग प्रश्न गर्ने अधिकार रहेको बताउँदै प्रहरीसँग असन्तुष्टि जनाएका थिए। त्यसक्रममा प्रहरी र अन्सारीबीच भनाभन भएको जनाइएको छ।

सार्वजनिक विवरणअनुसार केही प्रहरी कर्मचारीले अपमानजनक भाषा प्रयोग गरेको आरोपसमेत लगाइएको छ।

त्यसपछि टोलीले होल्डिङ सेन्टरमा रहेका केही विस्थापित परिवार तथा विद्यार्थीसँग भेटघाट गरी उनीहरूले भोगिरहेको समस्याबारे जानकारी लिएको जनाएको छ। उनीहरूले सरकारले उपलब्ध गराएको राहत रकमले पनि बसोबासको समस्या समाधान नभएको र त्यसले अध्ययनसमेत प्रभावित भएको बताएका छन्।

विवाद चर्किने क्रममा एक प्रहरी अधिकृत र माजिद अन्सारीबीच पुनः भनाभन भएको तथा त्यसपछि प्रहरीको नियन्त्रणमा लिँदै अन्सारीमाथि कुटपिट गरिएको आरोप लगाइएको छ। घटनामा उनको आँखामा चोट लागेको, मुखबाट रगत बगेको तथा उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको दाबी गरिएको छ।

सोही क्रममा घटनास्थलमा रहेका नेल्सन घतानीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको तथा यसअघि नहेन्द्र खड्का पनि नियन्त्रणमा परेको जानकारी प्राप्त भएको दाबी गरिएको छ।

घटनापछि केही व्यक्तिलाई सामान्य मेडिकल परीक्षण र कानुनी प्रक्रिया पूरा गरी रिहा गरिएको उल्लेख गरिएको छ भने उपचाररत रहेका माजिद अन्सारीको प्रक्रिया भने तत्काल पूरा नभएको जनाइएको छ।

यस घटनाबारे नेपाल प्रहरीको आधिकारिक प्रतिक्रिया सार्वजनिक हुन बाँकी रहेको छ। शिखर समाचारले प्रहरी तथा सम्बन्धित निकायको धारणा प्राप्त भएपछि समाचार अद्यावधिक गर्नेछ।

Related News

साउनदेखि धनगढीका निजी विद्यालयमा ३ प्रतिशत ‘शैक्षिक समता शुल्क’ थपिने
साउनदेखि धनगढीका निजी विद्यालयमा ३ प्रतिशत ‘शैक्षिक समता शुल्क’ थपिने
  • २०८३ असार २८

साउनदेखि धनगढीका निजी विद्यालयमा ३ प्रतिशत ‘शैक्षिक समता शुल्क’ थपिने...

TOP