काठमाडौं, असार २२ — नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक तथा नयाँ क्रियाशील सदस्यता वितरणको समय साउन ३ गतेसम्म थप गरेको छ।
यसअघि पार्टीले क्रियाशील सदस्यता फाराम वितरण तथा अनलाइन प्रणालीमार्फत नयाँ सदस्यताको विवरण केन्द्रीय प्रणालीमा प्रविष्ट गर्ने अन्तिम मिति असार २० गते तोकेको थियो। तर वर्षायामका कारण वडा तहदेखि क्षेत्रीय तहसम्म आवश्यक प्रक्रिया पूरा हुन नसकेपछि समयावधि थपिएको हो।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार वर्षायामका कारण धेरै जिल्लामा सदस्यता सम्बन्धी काम सम्पन्न हुन बाँकी रहेको, साथै नयाँ क्रियाशील सदस्यता विस्तारका लागि वडा तहसम्म पर्याप्त सूचना प्रवाह गर्न समय आवश्यक परेको भन्दै जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिहरूको सुझावका आधारमा समय थप गरिएको हो।
कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक तथा वितरणका क्रममा कुनै समस्या वा गुनासो आए सम्बन्धित जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिमार्फत सदस्यता व्यवस्थापन केन्द्रीय समितिमा सिफारिस गर्न सकिने जनाएको छ। प्राप्त सिफारिसका आधारमा समितिले आवश्यक निर्णय गर्ने व्यवस्था गरिएको छ।
पार्टीभित्र क्रियाशील सदस्यता अद्यावधिकको विषयमा संस्थापन र इतर पक्षबीच लामो समयदेखि मतभेद रहँदै आएको छ। विशेषगरी इतर पक्षले सदस्यता अद्यावधिक प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै आएको अवस्थामा असन्तुष्ट पक्षलाई समेत समेट्ने उद्देश्यले समय थप गरिएको बताइएको छ।
कांग्रेसले आगामी १५औँ महाधिवेशनको तयारी गरिरहेका बेला क्रियाशील सदस्यता व्यवस्थापनलाई महाधिवेशनको महत्वपूर्ण आधारका रूपमा हेरिएको छ।
३० वर्षे सेवा अवधिको प्रस्तावले बढायो राजीनामा, अनिवार्य अवकाशभन्दा स्वेच्छिक...