दिपायल – सुजङ्ग स्कूलले सरस्वती पूजाको अवसरमा सङ्कलित दक्षिणा र अन्न (मुष्टिकान्न) मष्टा गुरुकुल विद्याश्रमलाई दान गरेको छ। दिपायल सिलगढी नगरपालिका – ४ राजपुरमा अवस्थित सुजङ्ग स्कूलले शिखर नगरपालिका – ६ चुँडीमा सञ्चालित श्री मष्टा गुरुकुल विद्याश्रमलाई दान गरेको हो ।
सुजङ्ग स्कूलमा आयोजित सरस्वती पूजा एवं अक्षरारम्भ कार्यक्रमबाट सङ्कलन भएको नगद रु. ६ हजार र तीन कट्टा चामल दान गरिएको हो । सङ्कलित सो ६ हजारमा स्कूलका निर्देशक नरेश बलायरले नगद ४ हजार थप गरेर जम्मा १० हजार नगद र तीन कट्टा चामल हस्तान्तरण गरेका हुन् । सङ्कलित दान भेटी सुजङ्ग स्कूल निर्देशक बलायर, प्रधानाध्यापक मान बहादुर कठायत लगायत शिक्षकहरुले आईतबार मष्टा गुरुकुल विद्याश्रमका सञ्चालक ध्रुवराज फुलारालाई हस्तान्तरण गरेका हुन् ।
सनातन धर्मको संरक्षण, प्रवर्द्धन र बालबालिका तथा समाजलाई सत्कर्मको बाटोमा डोर्याउने उद्देश्यले सञ्चालित गुरुकुल विद्याश्रम हालसम्म दाताहरुको सहयोगबाट सञ्चालित छ। विद्याश्रम अध्ययनरत विद्यार्थीहरुलाई भोजन र व्यवस्थापनमा सहयोग पुगोस् भन्ने उद्येश्यले सरस्वती पूजाको अवसरमा अभिभावक, शिक्षक तथा विद्यार्थीबाट सङ्कलित रकम र अन्न दान गरिएको स्कूलका निर्देशक बलायरले बताए ।
सुजङ्ग स्कूलले गरेको दान-दातव्यले शैक्षिक जगतमा मानवीय मूल्यकाे सशक्त सन्देश प्रवाह भएको मष्टा गुरुकुल विद्याश्रमका सञ्चालक ध्रुवराज फुलाराले बताए । स्कूल परिवारलाई धन्यबाद ज्ञापन गर्दै उनले शिक्षा केवल ज्ञान मात्र नभई संस्कार र जिम्मेवारीकाे माध्यम हाे भन्ने सकारात्मक संदेश दिने विश्वास व्यक्त गरे ।
देबेन्द्र दत्त भट्ट , सुजङ्ग स्कुल , राजपुर डोटी नेपालका...