बैतडी–बैतडीमा एक बर्षको अवधीमा ट्राफिक नियम उल्लंघन गर्नेहरुबाट २३ लाख बढी राजस्व संकलन भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनबाट २३ लाख ४३ हजार ५ सय राजस्व संकलन भएको छ । यो अघिल्लो आर्थिक बर्ष २०७९/८० भन्दा २ लाख १० हजारले बढी हो ।
गत आर्थिक बर्ष २०८०/८१ मा ४ हजार ४ सय ५९ गाडी कारवाहीमा परेका छन् । ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनहरुबाट सवारी तथा यातायात ऐन २०४९ को दफा १६४ बमोजिम कारवाही गरी जरीवना असुल गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब निरीक्षक धिरज पाठकले बताए ।
सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमको पूर्ण पालन गर्न सबै चालकहरुमा आग्रह गरिएको उनले बताए । ट्राफिक नियम उल्लंघन गर्नेहरुबाट जरीवाना असुल गर्नुका साथै उनीहरुलाई ट्राफिक नियमका बारेमा थप जानकारी समेत दिने गरिएको पाठकले बताए ।
गत आर्थिक बर्षमा ३ सय ९४ ट्रक, ५२ बस तथा मिनि बस , २ हजार ६ सय ७८ जिप,कार र भ्यान, ३ सय ८ ट्याक्टर, ८ सय ३२ मोटरसाइकल र १ सय ९५ ओटा टेम्पो तथा अन्य सवारी साधन कारवाहीमा परेका प्रहरी नायब निरीक्षक पाठकले बताए ।
लाइसेन्स बिना सवारी साधन चलाउने,क्षमता भन्दा बढी यात्रु बोक्ने, मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने लगायतका ट्राफिक नियम उल्लंघन गर्नेहरुलाई कारवाही हुने गरेको बताइएको छ ।
यातायात क्षेत्रलाई व्यवस्थित र सुरक्षित बनाउन आफूहरुले समेत ट्राफिक प्रहरीलाई सहयोग गर्ने गरेको यातायात व्यवसायीहरुले बताएका छन् । सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियम पालना गर्नुपर्ने कुरामा आफूहरुले समेत चालकहरुलाई सम्झाउने गरेको महाकाली बहुउद्देश्यीय यातायात प्रालि बैतडीका अध्यक्ष त्रिलोक थापाले बताए ।
दिपायल – डोटी उद्योग वाणिज्य संघकाे अध्यक्षमा वीरेन्द्र शाह निर्वाचित...