
काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र विद्रोह गर्ने वेला आएको बताएका छन् ।
शुक्रबार बिहान चाबहिलमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले गठबन्धन चुनाव जित्नका लागि मात्र भएको उल्लेख गर्दै अघिल्लो निर्वाचनदेखि आउँदो निर्वाचनसम्म पार्टी गोलचक्करमा मात्रै चलेकाले अब पार्टीभित्र संघर्ष गर्ने वेला आएको उल्लेख गरे ।
उनले आफ्नो राजनीतिको सक्रिय समय १० वर्ष मात्रै बाँकी रहेको उल्लेख गरे । आफूलाई धेरै मूर्ख, पागल भन्ने गरेको वृत्तान्त सुनाउँदै थापाले आफ्नो कारणले देशमा दुईवटा मात्रै काम भए पुग्ने बताए । आफूले कसैलाई निराश नबनाउने प्रतिबद्धता जनाउँदै थापाले पार्टीको उद्देश्यमा आफू लागिरहेको र सधैँभरि लाग्ने बताए ।
डेंगु महामारीप्रति लक्षित गर्दै थापाले यत्रो महामारी फैलिसक्दा पनि सरकारले आपतकालीन बैठक बोलाएर समाधान नखोजेकोमा असन्तुष्टि व्यक्त गरे । उनले भने, ‘सरकार कसैको हुँदैन, जनताको हुन्छ । यत्रो महामारी फैलिसक्यो। चाडबाडको वेला छ। आपतकालीन बैठक बोलाएर समाधानको उपाए खोज्नुपर्छ।’
उनले निर्वाचनको वेला एकजना मात्रै पनि पार्टीमा थपिँदा हिम्मत बढ्ने उल्लेख गरे। बिपी र गणेशमान सम्पन्न परिवारको हुँदा पनि देशलाई उज्यालो बनाउन भनेर कांग्रेस बनाएको उल्लेख गरे । उनीहरूले आफू सांसद र मन्त्री बन्ने भन्दा पनि देश र समाज बनाउने सपना बोकेको उल्लेख गरे । आफूले पनि सांसद र मन्त्री बनौँला भने कांग्रेसको झन्डा नसमातेको उल्लेख गरे ।
उनले आफ्नै कारण थुप्रै कानुन बनेको दाबी गरे । पाँच वर्षमा जति काम हुनुपर्ने हो त्यो नभएको उनले उल्लेख गरे । काम हुन नसकेकोमा आफ्नो मनमा असन्तुष्टि र छटपटी भएको बताए । उनले अबको पाँच वर्ष पनि यसै खेर जान्छ कि भनेर मनमा बेचैन भरिएको गुनासो गरे । थापाले आफ्नो पहलमा १० वर्षभित्र १० लाख राेजगारी बनाउन सकिने विश्वास व्यक्त गरे ।
दिपायल – डोटी उद्योग वाणिज्य संघकाे अध्यक्षमा वीरेन्द्र शाह निर्वाचित...