२०८३ असार ८, सोमबार
June 22, 2026, Monday

भाया नेटबाट ठगिए सेवाग्राही संस्था : पाएनन् गुणस्तरीय सेवा

डोटी- भायानेट कम्युनिकेशनले सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा जडान गरेको इन्टरनेट सेवा प्रभावकारी देखिएको छैन । इन्टरनेट सेवा गुणस्तरीय नहुँदा सेवाग्राही संस्थाहरु मारमा परेका छन् । नेट जडान भएका अधिकांश ठाउँहरुमा एक महिना पनि राम्रोसँग इन्टरनेट नचलेको सेवाग्राहीहरुको गुनासो छ ।

प्राधिकरणको ठुलो लगानीमा जडान गरिएको इन्टरनेट नचले पछि नेटका सामग्रीहरु प्रयोग विहिन भएका छन् । नेट जडान गरिएका स्थानीय तह, वडा, स्वास्थ्य संस्था र विद्यालयहरुमा महिनौं देखि इन्टरनेट सेवा अवरुद्ध छ । सेवाग्राही संस्थाले नेटका सामग्रीहरु थन्क्याएका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार कोषबाट डोटी लगायत सुदूरपश्चिमका ४ जिल्लामा भायानेट कम्युनिकेशनले इन्टरनेट जडान गरेको थियो । प्राधिकरणको टेण्डर हात पारेर भायानेटले डोटी, बैतडी, दार्चुला र डडेल्धुरा जिल्लाका विभिन्न पालिकाहरु गरि ८ सय २६ वटा संस्थामा ब्रोडब्यान्ड नेटवर्क जडान गरेको थियो ।

तीन वर्ष अघि निःशुल्क इन्टरनेट जडान गरिएका अधिकांश नगरपालिका, गाउँपालिका, वडा कार्यालय, सामुदायिक विद्यालय, सामुदायिक स्वास्थ्य संस्था÷केन्द्र र अस्पतालहरुमा नेटले काम गर्न छोडेको छ । इन्टरनेटले काम नगरेपछि कतिपय संस्थाले अन्य विकल्पहरु खोजेका छन् भने कतिपय संस्थाहरु मर्मत र क्षमता वृद्धिको पर्खामा छन् ।

बडीकेदार गाउँपालिकाका ४ वटा स्थास्थ्य चौकी, ८ वटा सामुदायिक विद्यालय, ५ वटा वडा कार्यालयमा ५५६ केबी पिएचको भाया नेट विस्तार गरिए पनि हाल अधिकांशमा सञ्चालनमा नरहेको गाउँपालिकाका सूचना अधिकारी टोप बहादुर चन्दले बताए । जडान गरिएको सुरुवात देखि नै नेटले काम नगर्ने समस्या देखा परेको उनले बताए ।

इनटरनेटले काम नगर्दा विद्यालयको प्रशासनिक कामकाज र विद्यार्थीहरुलाई बढाउन निकै समस्या भएको शिवजी माविका प्रधानाध्यापक दुर्गाप्रशाद ओझाले बताए । सुरुको एक महिना नेटले अलिअलि काम गरे पनि त्यस यता नेटमा समस्या आईरहने गरेको उनको गुनासो छ । भायानेट कम्पनीले प्राधिकरणबाट करोडौं रुपैंया लिएर आफुहरुलाई गुणस्तरीय सेवा नदिएको बताउँदै आफुहरु सो कम्पनीबाट ठगिएको उनले बताए ।

नेटमा समस्या आएको कुरा कम्पनी तथा गाउँपालिकालाई पटक–पटक जानकारी गराउँदा पनी बेवास्था गर्ने गरेको केदारेश्वर माध्यमिक विद्यालयका लेखापाल प्रकाश चन्दले बताए । ‘हामीले सेवा वाफतको पैसा तिर्छौं, गुणस्तरीय सेवा दिनुप¥यो भनेर आग्रह गरेउँ तर जडान गरिसकेपछि कोही मान्छे आउँदैन,‘उनले गुनासो गरे ।’

विकट क्षेत्रहरुमा मौसमको खरावी, ब्याट्र«ीको चोरी, टावरमा क्षति हुने गरेकाले समस्या आउने गरेको भायानेट कम्युनिकेशनका प्रतिनिधि गजेन्द्र बोहराले बताए ।

२०७६ साल चैतसम्म निःशुल्क इन्टरनेटको अवधि भए तापनि कोरोना भाइरस सङ्क्रमणका कारण सेवा प्रवाहलाई निरन्तरता दिएर २०७७ असोज महिना सम्म गरिएको थियो । निःशुल्क अवधि सकिएपछि ब्रोडब्यान्ड इन्टरनेटको सेवाका लागि सम्बन्धित निकायले प्राधिकरणबाट स्वीकृत गरेको महसुल दरमा सेवा प्रदायकहरुसँग सम्झौता गरी निरन्तर इन्टरनेट सेवा प्रदान गर्नुपर्ने सम्झौता भएको थियो । तर, भाया नेटले इन्टरनेट जडान गरिसके पछि चटक्कै छोडेको छ । सेवा निरन्तर नहुँदा सेवाग्राही सामुदायक संस्थाहरु मारमा परेका छन् ।

भाया नेटको इन्टरनेटले अन्य पालिका र जिल्लाहरुमा पनि काम गर्न छोडेको छ । काम गरेका ठाउँमा पनि निकै सुस्त गतिमा चल्ने गरेको र मेल समेत गर्न नमिल्ने सेवाग्राही संस्थाहरुको गुनासो छ ।

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०७८ पुष २५

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP