२०८३ कार्तिक २५, मंगलवार
November 10, 2026, Tuesday

बोगटान फुड्सिल–५ मा बल्ल पुग्यो  बिजुली

 

दिपायल – डोटीको बोगटान फुड्सिल गाउँपालिका–५ मा राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा सञ्चालनमा आएको छ। आइतबारदेखि नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमार्फत उक्त वडामा विद्युत् सेवा सुचारु गरिएको हो।

वर्षौंदेखि अन्धकारमा बस्न बाध्य स्थानीय बासिन्दाको विद्युत् पहुँचको प्रतीक्षा अन्ततः पूरा भएको छ। विद्युत् सेवा सञ्चालन भएसँगै स्थानीयमा खुसी छाएको छ।

वडाध्यक्ष राम बोहराले वर्षौंदेखिको प्रतीक्षा र गाउँवासीको सपना साकार भएको बताएका छन्। उनले विद्युत् सेवा विस्तारलाई गाउँको विकास र समृद्धितर्फको महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन्।

“यो वर्षौंदेखिको प्रतीक्षा र एउटा सपना बल्ल आएर साकार भएको छ। यो केवल उज्यालोको सुरुवात मात्र होइन, हाम्रो गाउँको विकास, समृद्धि र उज्ज्वल भविष्यतर्फको महत्वपूर्ण पाइला पनि हो,” बोहराले भने।

उनले वडामा विद्युत् सेवा विस्तारका लागि सहयोग गर्ने नेपाल विद्युत् प्राधिकरणलगायत सम्पूर्ण व्यक्ति तथा निकायप्रति धन्यवाद व्यक्त गर्दै आभार प्रकट गरेका छन्।

देशका अधिकांश स्थानमा यसअघि नै राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा पुगिसक्दा पनि बोगटान फुड्सिल–५ का बासिन्दा भने लामो समयदेखि विद्युत् सुविधाबाट वञ्चित थिए। मोबाइल फोन तथा अन्य विद्युतीय उपकरण चार्ज गर्नसमेत स्थानीयले सोलारमा निर्भर रहनुपर्ने बाध्यता थियो।

विद्युत् सेवा सञ्चालनमा आएसँगै स्थानीयको दैनिक जीवन सहज हुनुका साथै शिक्षा, सञ्चार, व्यवसाय तथा अन्य विकासका गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

Related News

जिल्ला अस्पताल डोटीका करार कर्मचारी आन्दोलनमा
जिल्ला अस्पताल डोटीका करार कर्मचारी आन्दोलनमा
  • २०८३ कार्तिक २४

दिपायल — जिल्ला अस्पताल डोटीमा करार सेवामा कार्यरत स्वास्थ्यकर्मी तथा...

TOP