२०८३ कार्तिक १, शनिबार
October 17, 2026, Saturday

डोटीमा ट्रयाक्टर दुर्घटना हुँदा नौ जना घाइते, एकको अवस्था गम्भीर

फाइल तस्बिर

 

डोटी — डोटीको जोरायल गाउँपालिका–१ गैरा बजार नजिकै ट्रयाक्टर दुर्घटना हुँदा नौ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

मंगलबार बिहान करिब ८ः४५ बजे गैरा बजारबाट मेलखर्कतर्फ जाँदै गरेको सुपप्र ०१–००२ त ४९१० नम्बरको ट्रयाक्टर भीमदत्त राजमार्गअन्तर्गत गैरा क्षेत्रमा अनियन्त्रित भई सडकबाट करिब १२० मिटर तल खसेर दुर्घटना भएको हो।

ट्रयाक्टरमा कामदार बोकेर जाने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। दुर्घटनापछि प्रहरी सहायक निरीक्षक लोकेन्द्र सिंह ठगुन्नाको कमाण्डमा ट्राफिक प्रहरीसहित चार जनाको टोली घटनास्थलमा खटिएर घाइतेहरूको उद्धार गरेको थियो।

घाइतेहरूलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी, कैलाली पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनामा जोरायल गाउँपालिका–१ चपरचानीका ३३ वर्षीय अमर सिजाली मगर, सोही ठाउँका ४६ वर्षीय डम्बर थापा, १८ वर्षीय भरत थापा मगर, १८ वर्षीय बिवस थापा मगर, गोगनपानीका ५२ वर्षीय जितबहादुर विक, भानाकोटका ३२ वर्षीय रुपलाल विक र ३ वर्षीय करिश्मा विकको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

यस्तै, ३२ वर्षीया अनिषा विकको टाउको र दुवै खुट्टामा चोट लागेको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। ३५ वर्षीय हर्कबहादुर थापा मगरको दुवै खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको छ।

दुर्घटनापछि ट्रयाक्टर चालक डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २३ वर्षीय प्रकाशबहादुर थापा मगर फरार रहेको प्रहरीले जनाएको छ। उनको खोजी कार्य भइरहेको छ।

दुर्घटनाका कारण सडकमा कुनै अवरोध नभएको जिल्ला प्रहरीले जनाएको छ।

Related News

डोटीमा जिप दुर्घटना, एक महिला घाइते
डोटीमा जिप दुर्घटना, एक महिला घाइते
  • २०८३ आश्विन २०

दिपायल — डोटीको दिपायल सिलगढी नगरपालिका–६ नाचनथलीमा जिप दुर्घटना हुँदा...

TOP