काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा आज दिनभर र रातिको समयमा पनि वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिम क्षेत्रमा सरदर स्थानभन्दा केही माथि तथा पूर्व क्षेत्रमा सरदर स्थान आसपास रहेकाले देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको छ। यसको प्रभावस्वरूप कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा अहिले नै मध्यम वर्षा भइरहेको छ।
महाशाखाले आज दिउँसो सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। साथै देशका अधिकांश पहाडी क्षेत्रमा पनि चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ।
आज राति पनि सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। हिमाली भूभागका थोरै स्थानमा पनि वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
यस्तै, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहे पनि देशका अन्य क्षेत्रमा समेत मनसुनी गतिविधि सक्रिय रहने महाशाखाले जनाएको छ।
मौसमविद्ले वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो, सडक अवरोध, नदी तथा खोलामा पानीको सतह बढ्ने जोखिम रहेकाले विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्। विशेषगरी सुदूरपश्चिमका पहाडी जिल्लाका नागरिकलाई अनावश्यक यात्रा नगर्न, नदी तथा खोलानालाको आसपास नजान र मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा पालना गर्न अनुरोध गरिएको छ।
अब नेपाल टेलिकमका सिमकार्ड घरमै, हुलाक सेवामार्फत वितरण सुरु काठमाडौं...