२०८३ असार २९, सोमबार
July 13, 2026, Monday

कार्यालय पोशाकमा टिकटक वा भिडियो बनाउन सरकारी कर्मचारीलाई रोक

कार्यालय पोशाकमा टिकटक वा भिडियो बनाउन सरकारी कर्मचारीलाई रोक

काठमाडौं । सरकारले सरकारी कर्मचारीलाई कार्यालय पोशाकमा भिडियो वा फोटो बनाएर सामाजिक सञ्जालमा पोस्ट गर्न रोक लगाएको छ। बढ्दो सामाजिक सञ्जाल प्रयोग र कार्यालय समयमा हुने अनावश्यक गतिविधिलाई नियन्त्रण गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नयाँ आचारसंहिता जारी गरेको हो।

आचारसंहिताअनुसार कर्मचारीले कार्यालय समय, कार्यालय परिसर, फिल्डमा खटिएको अवस्था वा कार्यालय पोशाकमा कार्यालयसँग सम्बन्धित प्रवर्द्धनात्मक वा शिक्षामूलक सामग्रीबाहेक अन्य फोटो वा भिडियो निर्माण तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न पाउने छैनन्।

सरकारले सामाजिक सञ्जाल प्रयोग गर्दा कर्मचारीले आफ्नो पदीय जिम्मेवारी, सेवाको गरिमा र व्यावसायिक मर्यादालाई उच्च प्राथमिकता दिनुपर्ने उल्लेख गरेको छ। कार्यालय समयबाहेक फेसबुक, एक्स (ट्विटर), ह्वाट्सएप, लिंक्डइन, टिकटकलगायतका सामाजिक सञ्जाल प्रयोग गर्दा पनि सरकारी सेवाप्रतिको विश्वासमा आँच नपुग्ने गरी सतर्कता अपनाउनुपर्ने व्यवस्था गरिएको छ।

आचारसंहितामा सरकारी सेवाको गरिमामा असर पुग्ने, कर्मचारीको मानमर्दन हुने, जनमानसमा भ्रम वा अविश्वास फैलाउने तथा प्रचलित कानुन र व्यावसायिक मर्यादाविपरीतका श्रव्यदृश्य सामग्री पोस्ट वा शेयर गर्न नपाइने स्पष्ट उल्लेख गरिएको छ।

मन्त्रालयले आचारसंहिताको पालना भए–नभएको नियमित अनुगमन गरिने र उल्लङ्घन गर्ने कर्मचारीमाथि प्रचलित कानुनबमोजिम कारबाही गरिने जनाएको छ।

यसअघि नेपाल प्रहरीले पनि प्रहरी पोशाकमा भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गर्ने अभ्यास नियन्त्रण गर्दै केही प्रहरी कर्मचारीलाई विभागीय कारबाही गरिसकेको थियो।

नयाँ आचारसंहिताले कार्यालयमा रहँदा तोकिएको पोशाक र कर्मचारी परिचयपत्र अनिवार्य रूपमा लगाउनुपर्ने व्यवस्थासमेत गरेको छ।

Related News

साउनदेखि धनगढीका निजी विद्यालयमा ३ प्रतिशत ‘शैक्षिक समता शुल्क’ थपिने
साउनदेखि धनगढीका निजी विद्यालयमा ३ प्रतिशत ‘शैक्षिक समता शुल्क’ थपिने
  • २०८३ असार २८

साउनदेखि धनगढीका निजी विद्यालयमा ३ प्रतिशत ‘शैक्षिक समता शुल्क’ थपिने...

TOP