काठमाडौं — सरकारले चालु आर्थिक वर्ष २०८२/८३ अन्तर्गत नियमित भुक्तानीको अन्तिम दिन बिहीबार एकै दिन ३३ अर्ब १६ करोड ५४ लाख रुपैयाँ सरकारी खर्चको भुक्तानी गरेको छ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार थाती रहेका विभिन्न भुक्तानी फरफारक गरिएकाले अन्तिम दिन ठूलो रकम निकासा भएको हो। कानुनअनुसार नियमित भुक्तानी निकासा गर्न पाउने अन्तिम दिनसँगै चालु आर्थिक वर्षको नियमित खर्च प्रणाली पनि बन्द भएको छ।
बिहीबार मात्रै १२ अर्ब ४२ करोड रुपैयाँ चालु खर्च, १८ अर्ब ३९ करोड रुपैयाँ पुँजीगत खर्च तथा २ अर्ब ३५ करोड रुपैयाँ सार्वजनिक ऋणको सावाँ भुक्तानी तथा वित्तीय व्यवस्थापन शीर्षकमा खर्च गरिएको कार्यालयले जनाएको छ।
सरकारले चालु आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको थियो। बिहीबारसम्म १५ खर्ब ६५ अर्ब १३ करोड रुपैयाँ अर्थात् कुल विनियोजनको ७९.६९ प्रतिशत खर्च भएको छ।
पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८८ करोड रुपैयाँ बजेट विनियोजन गरिएकामा हालसम्म १ खर्ब ८१ अर्ब ५६ करोड रुपैयाँ (४४.५१ प्रतिशत) मात्रै खर्च भएको छ। यसमध्ये बिहीबार एकै दिन गरिएको १८ अर्ब ३९ करोड रुपैयाँ भुक्तानी हालसम्मको कुल पुँजीगत खर्चको करिब १० प्रतिशत बराबर हो।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ अनुसार आर्थिक वर्षको अन्तिम सातामा नयाँ दायित्व सिर्जना हुने गरी खर्च गर्न पाइँदैन। दायित्व सिर्जना भइसकेको तर भुक्तानी हुन बाँकी रकम भने आवश्यक प्रमाणसहित सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत निकासा गर्न सकिने व्यवस्था रहेको छ।
हरेक वर्ष बजेटको ठूलो हिस्सा आर्थिक वर्षको अन्त्यतिर भुक्तानी हुने प्रवृत्तिका कारण अन्तिम सातामा कोष तथा लेखा नियन्त्रक कार्यालयहरूमा अत्यधिक भुक्तानी चाप पर्ने गरेको छ।
कञ्चनपुरमा महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणको उच्चस्तरीय निरीक्षण, ८० प्रतिशत काम...