२०८३ असार २७, शनिबार
July 11, 2026, Saturday

निर्माण व्यवसायीका समस्या समाधान गर्न सरकार सकारात्मक : प्रधानमन्त्री शाह

निर्माण व्यवसायीका समस्या समाधान गर्न सरकार सकारात्मक : प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले निर्माण व्यवसायीले भोगिरहेका व्यावहारिक तथा नीतिगत समस्या समाधानका लागि सरकार सकारात्मक रहेको बताएका छन्। प्रधानमन्त्री निवासमा बिहीबार नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीसँग भएको भेटमा उनले समयमै विकास आयोजना सम्पन्न गर्न आवश्यक सुधार गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन्।

सरकार गठन भएको सय दिनपछि प्रधानमन्त्री शाहले निजी क्षेत्रसँगको संवादलाई तीव्र बनाउने क्रममा निर्माण व्यवसायीसँग छलफल गरेका हुन्। भेटमा महासंघका अध्यक्ष निकोलश पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेश उपाध्यक्ष बालकृष्ण थापा तथा पूर्वअध्यक्ष एवं सल्लाहकार जयराम लामिछाने सहभागी थिए।

छलफलमा निर्माण क्षेत्रका नीतिगत तथा व्यावहारिक समस्या, पूर्वाधार विकास, आयोजना कार्यान्वयन र निर्माण व्यवसायको प्रवर्द्धनका विषयमा विस्तृत छलफल भएको थियो। व्यवसायीहरूले भुक्तानी, म्याद थप, ठेक्का व्यवस्थापन, मूल्य समायोजन, बैंकिङ तथा लगानीसम्बन्धी चुनौतीबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

व्यवसायीहरूको धारणा सुनेपछि प्रधानमन्त्री शाहले समस्या समाधानका व्यावहारिक विकल्पबारे सुझावसमेत मागेका थिए। उनले निर्माण क्षेत्र मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र पूर्वाधार निर्माणको महत्वपूर्ण आधार भएकाले यस क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी, जिम्मेवार र परिणाममुखी बनाउन सरकार प्रतिबद्ध रहेको बताए।

समयमै विकास आयोजना सम्पन्न गर्न सरकार र निजी क्षेत्रबीच सक्रिय तथा प्रभावकारी सहकार्य आवश्यक रहेको प्रधानमन्त्री शाहको भनाइ थियो।

महासंघका अध्यक्ष निकोलश पाण्डेले निर्माण उद्योगलाई चलायमान बनाउन सरकार र निजी क्षेत्रबीचको सहकार्य अझ प्रभावकारी हुनुपर्नेमा जोड दिएको बताए। उनले भुक्तानी प्रणालीलाई अनलाइनमार्फत व्यवस्थित गर्नुपर्ने सुझाव पनि प्रधानमन्त्रीसमक्ष राखिएको जानकारी दिए।

केही मन्त्रीले काम नगर्ने ठेकेदारलाई लक्षित गर्दै दिएको विवादास्पद अभिव्यक्तिका विषयमा भने प्रधानमन्त्रीसँगको भेटमा कुनै छलफल नभएको अध्यक्ष पाण्डेले स्पष्ट पारे। उनका अनुसार यस विषयमा सम्बन्धित मन्त्रीहरूसँग यसअघि नै छलफल भइसकेको छ भने प्रधानमन्त्रीले सुशासन कायम गर्न विशेष जोड दिएका छन्।

Related News

एकै दिन ३३ अर्बभन्दा बढी सरकारी भुक्तानी, चालु आर्थिक वर्षको नियमित खर्च प्रणाली बन्द
एकै दिन ३३ अर्बभन्दा बढी सरकारी भुक्तानी, चालु आर्थिक वर्षको नियमित खर्च प्रणाली बन्द
  • २०८३ असार २६

एकै दिन ३३ अर्बभन्दा बढी सरकारी भुक्तानी, चालु आर्थिक वर्षको...

TOP