कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आसपासका हात्ती प्रभावित क्षेत्रमा जङ्गली हात्तीबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्ने उद्देश्यले स्वचालित बत्ती जडानको काम सुरु गरिएको छ।
सुदूरपश्चिम प्रदेशको संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम (सांसद विकास कोष) अन्तर्गत सञ्चालन गरिएको यस अभियानमार्फत निकुञ्जबाट बस्तीमा प्रवेश गर्ने जङ्गली हात्तीलाई नियन्त्रण गर्ने उद्देश्य राखिएको छ।
सोमबार प्रदेशका पूर्व आर्थिक मामिला मन्त्री तथा प्रदेशसभा सदस्य बहादुरसिंह थापाले स्वचालित बत्ती जडानका लागि आवश्यक सामग्री सम्बन्धित वडाध्यक्षहरूलाई हस्तान्तरण गरेका हुन्।
सामग्री हस्तान्तरण कार्यक्रममा उनले मानव र वन्यजन्तुबीच बढ्दो द्वन्द्व न्यूनीकरणका लागि पूर्वाधारमा गरिएको लगानी दीर्घकालीन रूपमा प्रभावकारी हुने विश्वास व्यक्त गरे। उनले स्थानीय बासिन्दाको सुरक्षा तथा वन्यजन्तु व्यवस्थापनका लागि यस्ता कार्यक्रम आवश्यक रहेको बताए।
यस कार्यक्रमअन्तर्गत शुक्लाफाँटा नगरपालिकाका वडा नम्बर १, २, ३, ४, ५, ६, ७ र १२ मा १०८ वटा स्वचालित बत्ती जडान गरिनेछ।
स्थानीय तहले स्वचालित बत्ती जडानपछि रातिको समयमा बस्तीमा हात्ती प्रवेश गर्ने घटनामा कमी आउने र स्थानीयवासीको जनधनको सुरक्षा गर्न सहयोग पुग्ने अपेक्षा गरेको छ।
खुटिया–दिपायल द्रुतमार्ग निर्माणको दबाब बढाउन धनगढी उपमहानगरद्वारा हस्ताक्षर अभियानलाई सहयोग...