२०८३ असार २४, बुधबार
July 8, 2026, Wednesday

कैलाली–बर्दिया जोड्ने सनकट्टी पुल समयअघि सम्पन्न, आवतजावत र व्यापारमा नयाँ सम्भावना

कैलाली–बर्दिया जोड्ने सनकट्टी पुल समयअघि सम्पन्न, आवतजावत र व्यापारमा नयाँ सम्भावना

दिपायल । सुदूरपश्चिम प्रदेशको कैलालीको टीकापुर र लुम्बिनी प्रदेशको बर्दिया जिल्लाको गेरुवा गाउँपालिकालाई जोड्ने कर्णाली नदीमाथिको सनकट्टी पक्की पुल निर्धारित समयभन्दा अगावै निर्माण सम्पन्न भएको छ।

रसुवा कन्स्ट्रक्सन प्रालिले २०७९ पुस १७ गते ठेक्का सम्झौता गरी २०८१ वैशाख २ गतेबाट निर्माण सुरु गरेको पुल ४५ महिनाभित्र सम्पन्न गर्ने सम्झौता भए पनि निर्धारित समयभन्दा धेरै अगावै निर्माण सम्पन्न गरेको हो। सम्झौताअनुसार पुल निर्माण अवधि २०८३ असोज १६ गतेसम्म रहेको थियो।

पुल सेक्टर कार्यालय नेपालगञ्जका इन्जिनियर रामकिसन थारुका अनुसार करिब १ अर्ब १८ करोड रुपैयाँ लागतमा निर्माण गरिएको पुलको लम्बाइ ७५० मिटर र चौडाइ ७.५ मिटर रहेको छ। पुलमा १४ वटा पिलर निर्माण गरिएका छन् भने दुवैतर्फ पैदल यात्रुका लागि फुटपाथको व्यवस्था गरिएको छ।

उनका अनुसार पुलको मुख्य संरचना निर्माण सम्पन्न भइसकेको छ भने अहिले रोड मार्किङ, ब्यारियर निर्माण र पुलसँग जोडिने करिब ५०० मिटर सडक कालोपत्रेको अन्तिम काम भइरहेको छ। यी काम एक साताभित्र सकिने अपेक्षा गरिएको छ।

निर्माण कम्पनीका साइट इन्चार्ज कृष्ण ढुंगेलले वर्षायाम सुरु हुनुअघि नै पुल सञ्चालनमा ल्याउने लक्ष्यसहित रातदिन काम गरेर समयअघि निर्माण सम्पन्न गरिएको बताए। उनले सरकारले हालसम्म करिब १४ करोड रुपैयाँभन्दा बढी भुक्तानी गर्न बाँकी रहेको जानकारी पनि दिए।

स्थानीयका अनुसार पुल निर्माणअघि टीकापुर र बर्दियाबीच आवतजावतका लागि दैनिक दुई हजारभन्दा बढी नागरिक जोखिमपूर्ण डुंगाको भर पर्नुपर्ने अवस्था थियो। वर्षायाममा डुंगा सञ्चालन बन्द हुँदा चिसापानी वा सत्तीघाट हुँदै लामो दूरी पार गर्नुपर्ने बाध्यता थियो।

स्थानीय टेकेन्द्र धामीले पुल सञ्चालनमा आएपछि जोखिमपूर्ण यात्रा अन्त्य हुनुका साथै दुवै जिल्लाबीचको आवतजावत सहज हुने बताए।

टीकापुर उद्योग वाणिज्य संघका सल्लाहकार पृथ्वीराज ढुंगानाका अनुसार पुलले कैलाली र बर्दियाबीच व्यापार, शिक्षा, स्वास्थ्य सेवा तथा पर्यटन गतिविधिमा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ। विशेषगरी बर्दिया राष्ट्रिय निकुञ्जटीकापुर पार्कसम्म पुग्न सहज हुने भएकाले पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।

सनकट्टी पुल निर्माणसँगै अब कैलाली र बर्दिया जोड्ने कर्णाली नदीमा तीन वटा पुल सञ्चालनमा आउने भएका छन्। यसअघि कर्णाली चिसापानी पुलसत्तीघाट पुल सञ्चालनमा रहेका छन्।

Related News

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आसपास हात्ती प्रभावित क्षेत्रमा स्वचालित बत्ती जडान सुरु
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आसपास हात्ती प्रभावित क्षेत्रमा स्वचालित बत्ती जडान सुरु
  • २०८३ असार २३

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आसपास हात्ती प्रभावित क्षेत्रमा स्वचालित बत्ती जडान...

TOP