काठमाडौं, असार २२ — वीरगञ्ज भन्सार नाकाबाट चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म प्रमुख दलहनको आयातमा उल्लेख्य कमी आएको छ। मुसुरो, सिमी–राज्मा, रहर र अन्य गेडागुडीको आयात घटेको भए पनि केराउ र बकुल्लाको आयात भने उल्लेख्य रूपमा बढेको छ।
वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको जेठसम्म ९ अर्ब ११ करोड ४० लाख रुपैयाँ बराबरको ९ करोड १३ लाख ६० हजार ९ सय ५६ किलोग्राम दलहन आयात भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा १० अर्ब ९२ करोड ४० लाख रुपैयाँ बराबरको १० करोड १० लाख २९ हजार ६ सय १४ किलोग्राम दलहन आयात भएको थियो।
तथ्यांकअनुसार यस वर्ष दलहन आयात परिमाणतर्फ ९६ लाख ६८ हजार ६ सय ५८ किलोग्राम तथा मूल्यतर्फ करिब १ अर्ब ८१ करोड रुपैयाँ ले घटेको छ। मूल्यका आधारमा आयातमा १७ प्रतिशतको गिरावट आएको हो।
सबैभन्दा बढी गिरावट मुसुरो आयातमा देखिएको छ। चालु आर्थिक वर्षमा ३ अर्ब ७३ करोड ४० लाख रुपैयाँ बराबरको ४ करोड १२ लाख किलोग्राम मुसुरो आयात भएको छ, जुन गत वर्षको तुलनामा २२ प्रतिशत कम हो।
त्यस्तै, सिमी–राज्मा आयात पनि २० प्रतिशतले घटेको छ। गत वर्ष २ अर्ब ९२ करोड रुपैयाँ बराबरको आयात भएकोमा यस वर्ष २ अर्ब ३३ करोड रुपैयाँ बराबरमा सीमित भएको छ।
चनाको आयात परिमाण केही बढे पनि मूल्यका आधारमा ४ प्रतिशतले घटेको छ। यस वर्ष २ अर्ब १८ करोड रुपैयाँ बराबरको २ करोड ४२ लाख ७६ हजार किलोग्राम चना आयात भएको छ।
रहरको आयात मूल्य पनि ५ प्रतिशतले घटेको छ भने अन्य गेडागुडीको आयातमा १३ प्रतिशतको कमी आएको भन्सारको तथ्यांकले देखाएको छ।
यता केराउ र बकुल्लाको आयात भने उल्लेख्य रूपमा बढेको छ। केराउको आयात मूल्य १५० प्रतिशतले वृद्धि भएको छ। गत वर्ष ३ करोड २६ लाख रुपैयाँ बराबर आयात भएको केराउ यस वर्ष ८ करोड ३९ लाख रुपैयाँ बराबर पुगेको छ।
त्यस्तै, बकुल्लाको आयातमा सबैभन्दा ठूलो वृद्धि देखिएको छ। गत वर्ष १७ हजार ७० किलोग्राम आयात भएको बकुल्ला यस वर्ष ९३ हजार ८ सय ४० किलोग्राम पुगेको छ। यसको आयात मूल्य ५२५ प्रतिशतले वृद्धि भएको भन्सार तथ्यांकमा उल्लेख छ।
वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले अन्तर्राष्ट्रिय बजारमा मूल्यको उतारचढाव, मागमा आएको परिवर्तन तथा वैकल्पिक खाद्यान्नको प्रयोग बढेका कारण केही दलहनको आयात घटेको बताए। उनका अनुसार बजारको माग बढ्दै गएकाले केराउ र बकुल्लाजस्ता दलहनको आयात भने उल्लेख्य रूपमा वृद्धि भइरहेको छ।
क्रियाशील सदस्यता अद्यावधिकको समय साउन ३ गतेसम्म थप्यो कांग्रेस काठमाडौं,...