दिपायल – डोटी जेसीजले दिपायलमा एक दिन निःशुल्क दन्त शिविर आयोजना गरेको छ । कान्तिपुर डेन्टल होम एण्ड इन्स्टिच्युट कैलालीको प्राविधिक सहयोगमा शुक्रबार दिपायल स्थित सेती महाकाली अस्पतालमा शिविरको आयोजना गरेको हो ।
शिविरमा ९१ जना बिरामीहरूले स्वाथ्य सेवा लिएको डोटी जेसीजका अध्यक्ष डिल्लीराज जोशी (राहुल) ले बताए । शिविरमा बिरामीहरूको दाँत र मुखको उपचारसँगै दाँत निकाल्ने, सिमेन्ट भर्ने कार्य गरिएको उनले बताए ।
उपचार तथा चेकजाँच गरेका बिरामीहरूलाई आवश्यकता अनुसार निःशुल्क औषधिसमेत वितरण गरिएको थियो । शिविरमा वरिष्ठ मुख तथा दन्त शल्यचिकित्सक डा. ऋतराज खड्काले बिरामीको उपचार गर्नुका साथै स्वाथ्य परामर्श दिएका थिए ।
शिविरमा आउने अधिकांश बिरामीहरूमा दाँतमा किरा लाग्ने समस्या देखिएको डाक्टर खड्काले बताए । किराका कारण दाँतमा बढी असर देखिएकोले ५० प्रतिशत भन्दा बढी बिरामीको दाँत निकाल्नु परेको उनले बताए ।
वर्षौं देखि दाँत दुख्ने समस्याले ग्रसित बिरामीहरूले आफ्नै जिल्लामा निःशुल्क उपचार पाउँदा खुसी व्यक्त गरेका छन् ।
मुख, दाँत र गिजाको समस्या भएका व्यक्तिहरुलाई लक्षित गरेर शिविरको आयोजना गरिएको डोटी जेसीजका महासचिव योगेन्द्र रावतले बताए । उपचार तथा औषधि वितरणसँगै दन्त तथा मुखको स्वास्थ्य सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले पनि शिविरको आयोजना गरिएको उनले बताए ।
दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...