दिपायल – डोटीमा एक शिक्षिकाले सुसाइड नोट लेखेर आत्महत्या गरेकी छिन् । जिल्लाको पूर्वीचौकी गाउँपालिका – १ फुलौट घर भई बाजुरा जिल्लामा कार्यरत २७ वर्षीया जानकी खड्काले सुसाइड नोट लेखेर आत्महत्या गरेकी हुन् ।
खड्का बाजुरा स्थित बुढीगंगा नगरपालिका – ५ मा अवस्थित भानोदय नमूना माध्यमिक विद्यालयमा निम्न माध्यमिक तह गणित शिक्षकको रूपमा कार्यरत रहेकी थिइन् । दशैं तिहार विदामा घर आएकी उनले मंगलबार घरभन्दा सात सय मिटर टाढा पाणादेउ खोलाको किनारमा रहेको उत्तिसको रुखमा झुण्डिएर आत्महत्या गरेकी हुन् ।
शिक्षिका खड्काले शिक्षा विकास तथा समन्वय इकाई डोटीमा कार्यरत शिक्षा अधिकृत गणेशबहादुर रावलका कारण आत्महत्या गर्न बाध्य भएको सुसाइड नोटमा उल्लेख गरेकी छिन् ।
शिक्षिका खड्काका बुवा चक्र बहादुर खड्काले शिक्षा अधिकृत रावल विरुद्ध ज्यानसम्बन्धी कसुर आत्महत्या दुरुत्साहन मुद्दामा जाहेरी दर्ता गराएका छन् । जाहेरीपश्चात् शिक्षा अधिकृत रावललाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका डीएसपी दिपेन्द्र पालले बताए ।
शिखर नगरपालिका– ११ स्थायी घर भई जिल्ला शिक्षा समन्वय एकाइ सिलगढीमा कार्यरत शिक्षा अधिकृत रावलले शिक्षिका खड्कालाई विवाह गर्न दबाब दिँदै आएको र विवाह नगरे ज्यान लिने धम्की दिएर आत्महत्या गर्न बाध्य पारेको जाहेरीमा उल्लेख छ । प्रतिवादी रावल डिभोर्सी हुन् । उनका दुई सन्तान रहे पनि उनीहरू आमासँगै बसिरहेका छन् ।
शिक्षिका खड्काले विवाहको प्रस्ताव अस्वीकार गरेपछि १० कार्तिकमा रावलले शिक्षिकाका भाइ प्रदीप खड्कालाई फोन गरेर ‘तिम्रो दिदीले मसँग विवाह नगरे मारिदिन्छु’ भन्दै धम्क्याएको जाहेरीमा उल्लेख छ ।
शिक्षिका खड्काले सुसाइड नोटमा शिक्षा अधिकृत रावलका कारण भाईलाई, बुवालाई महिनौदेखि तनाव भएको उल्लेख छ । उनले भनेकी छिन्,” मेरो कारण भाई, बुवालाई यत्रो महिना तनाव भयो । गणेश रावलले आफै फ्रेन्डरिक्वेस्ट पठाएको थियो । न मैले उसलाई देखेको छु, न भेटेको छु । सबै उसको मलाई फसाउने नाटक हुन् । मैले उसको सबैकुरा जानेर, थाहा पाएर उसँग फोनमा बोलेको होइन । त्योसँग फोनमा बोल्नु मेरो ठूलो गल्ती भयो ।”
खड्काले सुसाइड नोटमा थप भनेकी छिन्,”भाई, आमाबाबाको इजत गुमाएर, नराम्रो संस्कार सिकाएर म कसैको श्रीमान र बुवा भइसकेको मान्छेसँग जीवन जिउन सक्दिनँ ।”
सुसाइड नोटमा आत्महत्या गर्नुको कारणसँगै आफ्ना परिवारका सदस्यहरूलाई सम्झेर उनले भावुक शब्दहरू लेखेकी छिन् । नोटमा उनले आफ्नो कमाइ, सञ्चयकोषमा जम्मा भएको रकम, तिर्नु पर्ने ऋण, क्यान्टिन खाजा खाएको तिर्नु पर्ने सबै – सबैकुरा उल्लेख गरेकी छिन् । मोबाइलको पासपोर्ट, मोबाइल बैंकिङ्गको पासपोर्ट, पिन समेत सुसाइड नोटमा उल्लेख छ ।
दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...