२०८३ श्रावण १, शुक्रबार
July 17, 2026, Friday

बाल सुधार गृहमा फर्किएकै दिन आत्महत्या 

दिपायल, असोज १९ गते । डोटीको बाल सुधार गृहमा रहेका बालबिज्याइँकर्ता झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । दिपायल सिलगढी नगरपालिका – ६ सिलगढीमा रहेको बाल सुधार गृहमा रहेका १९ वर्षीय बालबिज्याइँकर्ता झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

डोटी प्रहरीका अनुसार सुधार गृहमा रहेका बोगाटन फुड्सिल गाउँपालिका – ७ खतेडीका १९ वर्षीय श्याम बिक सुधार केन्द्र भित्रैको सुत्ने कोठामा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

बालबिज्याइँकर्ता बिक आईतबार बिहान ९ : ४० बजेको समयमा आफ्नै सुत्ने कोठामा पासो लगाएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक नवराज रावलले बताए । उनका अनुसार कोठामा कपडा झुन्ड्याउन राखिएको डोरीले पङ्खा झुन्ड्याउन बनाएको हुकमा पासो लगाएको अवस्थामा भेटिएका बिकको तुरुन्तै पासो काटेर जिल्ला अस्पताल लगिएको थियो । चेकजाँच पछि अस्पतालका डाक्टरले बिकलाई मृत घोषणा गरेका थिए ।

बालबिज्याइँकर्ता विकलाई डिउटीमा रहेका प्रहरी हवल्दार बिर्ख रोकायले झुण्डिएको अवस्थामा फेला पारी तुरुन्तै पासो काटिएको बताइएको छ ।

बालसुधार गृहकी प्रमुख सानुमाया लिम्बु गुरुङले भने मुडा बुन्न राखिएको रसी लगेर बिकले झुण्डिएर आत्महत्या गरेको बताइन् । उनका अनुसार मृतक बिक भदौ २४ गते बालसुधार गृहबाट भागेका थिए ।

“शनिबार राति १० बजे मात्रै मृतक बिकका बुवा लाल बहादुर बिक लगायतका अभिभावकले उनलाई प्रहरीको जिम्मा लगाएका थिए,”लिम्बूले भनिन्,” सो राति उनलाई जिल्ला प्रहरी कार्यालयमा नै राखियो । आईतबार बिहान ८ : ३० बजे मात्रै सुधार गृहमा पठाइयो । सुधार गृहमा सम्झाई बुझाई पछि कोठामा सामान राख्न गएका उनले मुडा बनाउने डोरी लगेर गएका रहेछन् । कोठामा पुग्ने बित्तिकै ढोका बन्द गरी त्यही डोरीले पासो लगाएर आत्महत्या गरेछन् ।”

मृतक बिकले घरमा हुँदा पनि पटक – पटक आत्महत्याको प्रयास गर्ने र आफन्तलाई हतियार देखाएर धम्काउने, तर्साउने गरेको खुल्ल आएको बालसुधार गृहकी प्रमुख लिम्बूले बताइन् ।

मृतक बिकलाई जबरजस्ती करणी मुद्दामा एक वर्ष देखि बालसुधार गृहमा राखिएको थियो । ५३ जना बालबिज्याइँकर्ता रहेको उक्त बालसुधार गृहबाट भदौ २४ गते ५२ जना बालबिज्याइँकर्ता भागेका थिए । जसमध्ये पटक – पटक गरेर विक लगायत ३६ जना सुधार गृहमा फर्किएका थिए भने बाँकी १६ जना अझै फरार छन् ।

 

 

Related News

बैतडीमा ट्याक्टर दुर्घटना : चालक देवसिंह भण्डारीको घटनास्थलमै मृत्यु
बैतडीमा ट्याक्टर दुर्घटना : चालक देवसिंह भण्डारीको घटनास्थलमै मृत्यु
  • २०८२ आश्विन १९

बैतडीमा ट्याक्टर दुर्घटना : चालक देवसिंह भण्डारीको घटनास्थलमै मृत्यु धनगढी...

TOP