२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026, Saturday

दारी ग्याङद्वार अक्सिजन कन्सन्ट्रेटर सहित ३ लाख ६५ हजार बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण

डोटी – दारी ग्याङ डोटीले जिल्ला अस्पताललाई दुई वटा अक्सिजन कन्सन्ट्रेटर सहित तीन लाख ६५ हजार बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोरोना भाइरस कोभिड १९ को दोस्रो चरणको महामारी नियन्त्रण एबं रोकथामका साथै बिरामीको उपचारमा सहज होस् भनेर ग्याङले उक्त सामग्रीहरु हस्तान्तरण गरेको हो ।

ग्याङले अक्सिजन कन्सन्ट्रेटर देखि स्वास्थ्य सामग्रीको जोहा गर्न विभिन्न व्यक्तिहरुबाट सहयोग जुटाएको थियो । अक्सिजनकै अभावमा बिरामीहरुले ज्यान गुमाउन थाले पछि ग्याङले अभियान सञ्चालन गरेको थियो ।

विभिन्न व्यक्तिहरुको सहयोगबाट खरिद गरिएका दुई वटा अक्सिजन कन्सन्ट्रेटर सहित तीन लाख ६५ हजार बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको दारी ग्याङका उप–संयोजक कुबेर खड्काले बताए । १० लिटरका दुई वटा अक्सिजन कन्सन्ट्रेटर, एक थान अक्सिजन सिलिण्डर, ५ लिटर सेनेटाइजर, १०० पिस एन ९५ मास्क र १० बक्स सर्जिक मास्क गरी तीन लाख ६५ हजार बराबरको सामग्री हस्तान्तरण गरिएको उनले बताए ।

जिल्लाका ८ वटा पालिकाहरुमा पनि ५ लिटरका अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराउने गरी अभियान अगाडी बढेको दारी ग्याङ डोटीका संयोजक अनुज राज जोशीले बताए । ग्याङले उपलब्ध गराएको स्वास्थ्य सामग्रीले बिरामीको उपचारमा सहज हुने जिल्ला अस्पतालका प्रमुख मेडिकल सुपरटेण्ट कृष्णराज जोशीले बताए ।

अक्सिजन कन्सन्ट्रेटरसँगै ग्याङले अभियानका क्रममा कोरोना संक्रमितको मनोबल बढाउन निरन्तर फोन सम्पर्क गर्ने, भेट्ने, स्वास्थ्य उपचारका बारेमा जानकारी गराउने, शक्ति जन्य खाना तथा फलफुलको व्यवस्था गर्ने, ग्रामिण क्षेत्रका बस्तीमा जनचेतना फैलाउने, स्वास्थ्य सामग्री उपलब्ध गराउने र रगत, अक्सिजनको अभाव हुन नदिने जनाएको छ ।

दारी ग्याङ डोटीले यस अघि पनि सरसफाई देखि रगत दान जस्ता महत्वपूर्ण कार्य गर्दै आएको छ । जिल्लामा रगत अभाव भएका दर्जनौं बिरामीहरुले ग्याङले चलाएको रगत दान अभियानबाट जीवन दान पाएका छन् ।

Related News

स्वाथ्यकर्मी बलायर सम्मानित 
स्वाथ्यकर्मी बलायर सम्मानित 
  • २०७८ जेष्ठ १२

दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...

TOP