२०८१ कार्तिक ५, सोमबार
October 21, 2024, Monday

भारतको अस्पतालमा मजदुर नेपालीको दर्दनाक छटपटी, पैसाको अभावमा ज्यान गुम्ने खतरा

बेङ्गलुरु- भारतको बेङ्गलुरुमा रहेको मनिपाल हस्पिटलमा एक नेपाली उपचार अभावमा छट्पटाई रहेका छन् । दक्षिण भारतको बेङ्गलुरु अन्तरगत सर्जापूर मेनरोडमा रहेको मनिपाल हस्पिटलमा भर्ना भएका नेपाली आर्थिक अभावका कारण उपचार नहुँदा जीवन –मरणको अवस्थामा छन् ।

डोटी जिल्लाको शिखर नगरपालिका –३ आली घर भई परिवारसहित भारतको बेङ्गलुरुमा मजदुरी गर्दै आएका २९ वर्षीय तिलक जोरा उपचार अभावमा जीवन –मरणको अवस्थामा छन् ।

जोरा असोज २५ गते राती साढे ८ बजेबाट हराएका थिए । डेराबाट बजार निस्किएका उनी २७ गतेसम्म नभेटिए पछि आफन्तले खोजीका लागि प्रहरीमा अनुरोध गरेका थिए । प्रहरीले २५ गते राती उनलाई गम्भीर घाइते अवस्थामा फेला पारेर अस्पताल भर्ना गराएको २७ गते मात्रै जानकारी गराएको थियो । आफन्तहरु २७ गते अस्पताल पुग्दा उनी बेहोस अवस्थामा अस्पतालको भेन्टिलिटरमा राखिएको अवस्थामा फेला परेका थिए ।

बेङ्गलुरुको सर्जापूर मेनरोडमा रहेको नीजि अस्पताल (मनिपाल हस्पिटल)मा त्यहाँको प्रहरीले भर्ना गराएको हो । महंगो नीजि अस्पतालमा भर्ना भएका उनको टाउकोको अप्रेसन गरिएको छ । उनी चार दिन देखि सो अस्पतालको भेन्टिलिटरमा छन् । अस्पतालले उनको टाउको, छाती र फोक्सोमा गम्भीर चोट लागेको जनाएको छ ।

 

गम्भीर घाइते जोरालाई बचाउन २० देखि २५ लाख रुपैंया खर्च लाग्ने जोराका साडुभाई गणेश बलायरले बताए । अस्पतालमा चार दिन उपचार गरेको ६ लाख भारु बिल भएको छ,“उनले भने,“थप उपचारका लागि उनलाई बचाउन २० देखि २५ लाख लाग्ने अस्पतालले जनाएको छ । हाल उपचार गरेको पैसा समेत तिर्नसक्ने अवस्था छैन । उपचारका लागि सरकारी अस्पतालमा लगौं भने पनी मनिपाल हस्पिटलको ६ लाख तिर्नसक्ने अवस्था छैन । साह्रै समस्यामा परेका छौं । अस्पतालले पैंसा तिर्नसक्यो भने बचाउन सकिन्छ भनेको छ । सहयोगका लागि अनुरोध गर्दछौं ।”

श्रीमती मूर्छित, दुई बालबालिकाको बिचल्ली

घाइते जोराकी श्रीमती र दुई सन्तान पनि बेङ्गलुरुमै छन् । श्रीमान अस्पतालको भेन्टिलेटरमा बेहोस अवस्थामा भेटिएपछि उनकी श्रिमती राधा बेलाबेला मूर्छित हुदैछन् । उनीसँग भएका नाबालक एक छोरा र एक छोरीको बिचल्ली भएको छ । नाबालक छोरा–छोरी अस्पतालको गेटमा राईकराई गरिरहेका छन् ।

घाइते श्रीमती, सन्तान र आफन्तले उनलाई बचाइदिन गुहार मागी रहेका छन् भने अस्पतालले उपचार खर्च मागीरहेको छ । अस्पतालले पैंसा जम्मा गरेपछि मात्रै थप उपचार अघि बढाउने बताउँदै आएको छ ।

“प्रहरीले बेङ्गलुरुको सबैभन्दा ठुलो हस्पिटलमा लगेर भर्ना गरिदिएको छ,“उनकी श्रीमती राधाले रुँदै भनिन्,“ उपचारका लागि पैसा छैन । जागिर नपाएको धेरै भएको थियो । निकै ठुलो समस्यामा परेकी छु । कहाँबाट कसरी सहयोग मिल्ले हो ? परदेशमा निकै संकट परेको छ । बिरामीको अवस्था के कस्तो छ, बचाउन सकिने हो होईन राम्रोसँग जानकारीसमेत पाउन सकेको छैन । यो अवस्थामा सहयोग गरिदिन सबैमा अनुरोध गर्दछु ।”

सहयोग तथा सम्पर्कका लागि
साडुभाई (गणेश बलायर) मो. नं. +91 7795924502
फेसबुक लिंक : https://www.facebook.com/profile.php?id=61556961857764&mibextid=ZbWKwL
श्रीमती (राधा जोरा ) मो. नं. +91 80503 97423
फेसबुक लिंक :  https://www.facebook.com/profile.php?id=61565963615094

भारतको बेङ्गलुरुमा एक नेपाली अचेत अवस्थामा फेला

Related News

डाक्टर उपाध्यायलाई नागरिक सम्मानसहित बिदाइ
डाक्टर उपाध्यायलाई नागरिक सम्मानसहित बिदाइ
  • २०८१ आश्विन २८

दिपायल – सेती प्राविधिक शिक्षालय दिपायलका कृषि प्रशिक्षक (पशु विज्ञान)...

TOP