
प्रधानमन्त्री केपी ओलीले वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने चामत्कारिक प्रस्ताव राखेको दुई दिन बितेको छ। यसको पक्ष र विपक्षमा यसपालि खासै प्रतिक्रिया आएको छैन। आओस् पनि कसरी, त्यो प्रस्ताव साँचो हो भन्ने नै धेरैलाई विश्वास छैन।
प्रधानमन्त्रीको यो प्रस्तावबारे हामीले बुधबार मध्यरात समाचार लेखेका थियौं। प्रधानमन्त्रीले त्यस्तो प्रस्ताव ल्याउनुहुन्छ भन्ने आफूले सपनामा पनि नसोचेको वामदेवको भनाइ उक्त समाचारमा थियो।
समाचार प्रकाशन भएको केही बेरमै एक पाठकले प्रतिक्रिया लेखे, ‘हामीले पनि तपाईं प्रधानमन्त्री बन्नुहुन्छ भन्ने सपनामा पनि चिताएका छैनौं!’
प्रिय पाठक, तपाईंलाई के लागेको छ— ओलीले वामदेवलाई प्रधानमन्त्री बनाउनकै लागि उक्त प्रस्ताव ल्याएका हुन् वा अलमल्याउन?
पछिल्ला ४८ घन्टामा मैले नेकपाका धेरै नेताहरूसँग कुरा गरेको छु। प्रधानमन्त्रीले किन त्यस्तो प्रस्ताव ल्याए भन्नेमा दुइथरी ‘थ्योरी’ छन्।
पहिलो, प्रधानमन्त्रीले आफू अप्ठ्यारोमा परेपछि धेरै सोचेर उक्त प्रस्ताव ल्याएका हुन्। कार्यान्वयन गर्नै भनेर ल्याएका हुन्।
यो ‘थ्योरी’ विश्वास गर्नेहरू भन्छन्- प्रधानमन्त्रीले केही सीप नलागेपछि अन्तिममा यो प्रस्ताव ल्याएका हुन्। प्रस्ताव ल्याउनुअघि उनले दुइटा प्रयास गरे- संसदीय दलमा आफ्नो पक्षमा बहुमत पुर्याउन खोजे र संसद विघटनको विकल्प हेरे।
बुधबार सांसदहरूलाई बालुवाटार बोलाएर आफ्नो पक्षमा हस्ताक्षर गर्न लगाए। त्यसमा जम्मा ६२ जना प्रतिनिधिसभाका र दुई दर्जनजति राष्ट्रियसभाका सांसदले मात्र हस्ताक्षर गरे।
प्रतिनिधिसभामा नेकपाका १७४ सांसद छन्। संसदीय दलमा बहुमत पुर्याउन प्रधानमन्त्री ओलीलाई ८७ जनाको हस्ताक्षर चाहिन्छ। प्रधानमन्त्री ओली, उनीनिकट मन्त्री र केही सांसदले त्यसमा हस्ताक्षर गरिसकेका छैनन्।
‘सबैले हस्ताक्षर गर्दा पनि संसदीय दलमा चाहिने बहुमत उहाँसँग पुग्दैन भन्ने बुधबारको घटनाले प्रस्ट भयो,’ पुष्पकमल दाहाल (प्रचण्ड)-माधवकुमार नेपालनिकट एक नेताले भने।
सिंहदरबार छाड्न पार्टीभित्र दबाब पर्यो भने मध्यावधि निर्वाचन गर्ने विकल्प उपलब्ध छ कि छैन भनेर पनि प्रधानमन्त्रीले त्योभन्दा अघि नै हेरिसकेको प्रचण्ड-नेपालनिकट स्रोतको दाबी छ। प्रधानमन्त्रीले पछिल्लो साता कानुनविद, राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग यसबारे बाक्लै परामर्श गरे।
प्रधानमन्त्रीले मंगलबार राति अबेरसम्म प्रधानन्यायाधीश राणालाई आफ्नै निवास बोलाएर छलफल गरेका थिए। राति साढे नौ बजे प्रधानमन्त्री निवास छिरेका राणा पौने एक बजे मात्र निस्किएको स्रोतको दाबी छ।
त्योभन्दा केही दिनअघि प्रधानमन्त्री ओली संसदीय दलका उपनेता सुवास नेम्वाङलाई लिएर प्रधानन्यायाधीशकहाँ गएको पनि उनीहरूको दाबी छ। प्रधानमन्त्रीले गत शुक्रबार र आइतबार शीतलनिवास गएर राष्ट्रपतिलाई भेटेका थिए।
‘यी परामर्शको मुख्य उद्देश्य आवश्यक परे मध्यावधि निर्वाचनको विकल्प कति सम्भव छ भनेर छलफल गर्नु थियो,’ एक नेताले भने, ‘कानुनी रूपमा मध्यावधिको विकल्प छँदै थिएन। जबर्जस्ती गरेर पनि त्यहाँ जान सम्भव छैन भन्ने उहाँले बुझ्नुभयो।’
संसदीय दलमा बहुमत पुर्याउने कसरत ‘फेल’ भएपछि र मध्यावधि चुनावको विकल्प उपलब्ध नभएपछि ओलीले वामदेवलाई प्रधानमन्त्री बनाउने योजना अघि सारेको प्रचण्ड-नेपाल खेमामा एकथरीको विश्वास छ।
आफू हारेर प्रचण्ड-नेपाललाई सत्ता छाड्नुभन्दा आफ्नै प्रस्तावमा वामदेवलाई सत्तामा पुर्याएर आफ्नो हार जितमा बदल्ने प्रयास प्रधानमन्त्रीले गरेको एक नेता दाबी गर्छन्।
यो प्रस्ताव ल्याउनुका पछाडि प्रधानमन्त्रीको नियत के हो भन्नेमा प्रचण्ड-नेपाल खेमामै एकमत छैन।
दोस्रो ‘थ्योरी’ मा विश्वास गर्नेहरू भन्छन्— यो प्रस्ताव अलमल्याउन र प्रचण्ड-नेपाल खेमा विभाजन गर्न फालिएको पासा हो।
यस्तो पासा फालेपछि विपक्षी खेमा त्यसैमा अलमलिन्छ र विभाजित हुन्छ। भरसक त्यो विभाजनबाट बाहिर आउनै सक्दैन। आयो भने पनि केही समय लाग्नेछ। आफूले चतुर्याइँपूर्वक पाएको अतिरिक्त समयमा प्रचण्ड-नेपाल पक्षका थप सांसद तान्ने र आफ्नो पक्षमा संसदीय दलमा बहुमत पुर्याउने प्रयास गर्न सकिन्छ।
उनीहरू भन्छन्- प्रधानमन्त्री ओलीको नियत के हो भन्ने वैशाख २० गते शनिबार बस्ने नेकपा सचिवालय बैठकमा थाहा हुनेछ।
शनिबार सचिवालय बैठकमा प्रचण्ड-नेपाल पक्षले के भन्ने तयारी गरेको छ?
प्रचण्ड-नेपाल खेमामा रहेका पाँच नेता प्रचण्ड, नेपाल, वामदेव, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ प्रधानमन्त्री ओलीले सरकार छाड्नुपर्छ भन्ने पक्षमा छन्। नौ सदस्यीय सचिवालयमा उनीहरूको बहुमत छ।
वामदेव ओलीतिर ढल्किए भने प्रचण्ड-नेपाल सचिवालयमै अल्पमतमा पर्छन्। त्यसैले वामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्तावको विरोध नगर्ने रणनीति प्रचण्ड-नेपाल खेमाका नेताले तय गरेका छन्।
बरू उनीहरूले शनिबार हुने सचिवालय बैठकमा वामदेवलाई प्रधानमन्त्री बनाउने ‘रोडम्याप’ माग गर्नेछन्। अर्थात्, प्रधानमन्त्रीले सोझ्याएको वामदेवको तोप उनीतिरै फर्काउनेछन्।
त्यो रोडम्यापको पहिलो सर्तका रूपमा सचिवालयमा प्रधानमन्त्रीले राजीनामा दिने र वामदेव प्रधानमन्त्री बन्ने कुरा लिखित रूपमा पास गराउनुपर्ने माग राख्नेछन्। त्यसपछि उक्त विषय स्थायी समितिबाट पनि पास गर्नुपर्ने कुरा राख्नेछन्।
त्यो मागमा प्रधानमन्त्रीले के गर्छन्, यकिन छैन। तर, वामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव ओलीको सफा नियतका साथ आएको थियो कि दुर्नियतका साथ भन्ने खुलस्त हुनेछ।
प्रचण्ड-नेपाल खेमाका कतिपय नेता प्रधानमन्त्रीले कुनै न कुनै बहाना निकालेर शनिबारको बैठक टार्ने वा ठोस निर्णय हुनबाट रोक्न सक्ने बताउँछन्।
‘त्यस्तै पर्यो भने शनिबार बैठक नै नहुन सक्छ। भयो भने विभिन्न बहानामा निर्णय नहुन सक्छ,’ एक नेताले भने।
‘प्रधानमन्त्रीले भन्न सक्नुहुन्छ,’ उनले उदाहरण दिँदै भने, ‘वामदेवलाई प्रधानमन्त्री बनाउने कुरा लेखौं, तर मिति नलेखौं। मेरो राजीनामाको कुरा पनि त्यहाँ नलेखौं, त्यसले अस्थिरता जन्माउँछ।’
आफूले राजीनामा दिने कुरा बताइसकेकाले अहिले एकजुट भएर कोरोनासँग लड्नुपर्ने र उपयुक्त समयमा राजीनामा दिनेमा प्रधानमन्त्रीले जोड गर्न सक्ने उनले अनुमान गरे।
‘लेख्नै परे गोलमटोल र जे पनि अर्थ लगाउन मिल्ने भाषा लेख्ने उहाँको प्रयत्न हुनेछ,’ उनले भने, ‘तर, अरूले धेरैपटक धोका पाइसकेकाले यसपालि प्रधानमन्त्रीले त्यो छुट पाउने सम्भावना कम छ।’
वामदेवलाई प्रधानमन्त्री बनाउने निर्णय गर्न आलटाल गरे सचिवालयको बहुमतले प्रधानमन्त्री ओलीसँग राजीनामा माग्ने र स्थायी समिति बैठक बोलाउने निर्णय गर्ने प्रचण्ड-नेपाल खेमाको तयारी पनि छ।
कुनै ठोस निर्णय भयो भने वैशाख २० गते नेपाली राजनीतिक इतिहासमा फेरि एकपटक महत्वपूर्ण मितिका रूपमा दर्ज हुनेछ। यसअघि २०३७ वैशाख २० गते देशमा नागरिकले सुधारिएको पञ्चायत कि बहुदलीय व्यवस्था रोज्ने भनेर जनमत संग्रह भएको थियो। त्यो बेला झेली गरेर पञ्चायतलाई जिताएको आरोप छ।
शनिबारै कुनै निर्णय हुन्छ वा हुन्न, त्यो वामदेवमा धेरै भर पर्नेछ। ओलीले आफ्नो राजीनामा र वामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव लिखित रूपमा पास गर्न माने भने कुनै झमेला हुन्न। आलटाल गरे र वामदेवलाई कुनै बहानामा फकाउन सफल भए भने निर्णय एक-दुई दिन लम्बिन सक्छ।
‘शनिबारै निर्णय हुन्छ भन्ने मलाई विश्वास छैन,’ प्रचण्ड-नेपालनिकट एक स्थायी समिति सदस्यले भने।
एक्कासि नेकपाको भाग्य फैसलाको केन्द्रमा आइपुगेका वामदेव गौतम आखिर कस्ता व्यक्ति हुन्? ओलीले उनलाई आफ्ना विपक्षीविरूद्ध तोप वा प्रधानमन्त्रीका रूपमा आफ्नो उत्तराधिकारी किन छान्न खोजे? उनको विगतको राजनीति कस्तो छ?
ओली र प्रचण्ड-नेपाल दुई पक्षबीचको झगडाबाट फुत्त निस्किएर उनी प्रधानमन्त्री बने भने कस्तो प्रधानमन्त्री बन्लान्? वा, उनी जो हुन् र उनको विगत जे हो, त्यसले उनलाई प्रधानमन्त्री नै बन्न दिने छैन कि?
वामदेवको गृहजिल्ला हो, प्युठान। आफू नौ वर्ष उमेरमै कम्युनिस्ट बनेको उनले एमाले मुखपत्र ‘नवयुग’ मा लेखेका थिए। उनले कास्कीमा केही महिनाअघि भएको उपनिर्वाचन बेला एउटा सभामा बढो रोचक भाषण गरेका थिए।
आफू ‘राजा फाल्छु’ भन्दै कम्युनिस्ट पार्टीमा लाग्दा बुवाले नपत्याएको प्रसंग उठाउँदै उनले भने, ‘बुवाले भन्नुभयो- राजा फाल्छु भन्छ, कस्ता-कस्ता नेता, बिपीले केही गर्न सकेनन् राजालाई, यो फिस्टोले कसरी फाल्छ?’
‘मैले बुवालाई भनेँ- हेर्दै जानुस्, यही फिस्टोले राजा फाल्छ।’
परिवारका सबै सदस्य कांग्रेस हुँदा वामदेव एक्लै कम्युनिस्ट बनेका थिए। ‘मेरो परिवार सबै कांग्रेस छन्। बा कांग्रेस, आमा पनि कांग्रेस भएको घरभित्र म एउटा कम्युनिस्ट भएको हुँ। कसरी भएँ त्यो थाहा छैन,’ उनले भने।
वामदेव हक्की स्वभावका छन्। प्रस्ट र रसिला कुरा गर्छन्। मान्छे भन्छन्— वामदेवको मुख मात्रै बोल्दैन, सारा ज्यान बोल्छ। उनी ज्यान हालेर बोल्छन्।
उक्त सभामा पनि यसैगरी बोल्दै उनले भने, ‘मलाई प्रधानमन्त्रीले चुनावी कमान्डर भएर कास्की जानुस् भन्नुभएको थियो। म सोझो छु, हक्की छु, सत्य मात्र बोल्छु, जे बोल्छु त्यो पूरा गरेरै छाड्छु। तर, म त्यसका लागि योग्य व्यक्ति होइन।’
आफूले प्रधानमन्त्रीलाई भनेको सम्झँदै उनले थपे, ‘मैले रूने गरी, हाँस्ने गरी, गम्भीर हुने गरी भाषण गर्न जानेको छु। नाच्न र गाउन पनि जानेको छु, त्यसका लागि पठाउनुस्। तर, चुनाव जित्ने तिकडमका लागि मलाई नपठाउनुस्। मैले तीनपटक चुनाव हारिसकेको छु।’
पछिल्लोपटकको संसदीय निर्वाचनमा वामदेवले बर्दियामा कांग्रेसका सञ्जय गौतमसँग चुनाव हारे। देशभर नेकपाको चुनावी लहर चलेका बेला वामदेवले यस्तो ठाउँबाट चुनाव हारे, जहाँ एमाले र माओवादीको अघिल्लो चुनावको मतपरिणाम जोड्दा कांग्रेसभन्दा झन्डै तीस हजार बढी थियो।
नेकपामा आफ्ना समकालीन सबै नेता प्रधानमन्त्री भइसकेकाले चुनावपछि थोरै समय भए पनि प्रधानमन्त्री बन्ने उनको उत्कट अभिलाषा थियो। चुनाव हारेपछि वामदेवलाई गम्भीर चोट पुग्यो। आफूलाई षड्यन्त्र गरी हराइएको भन्दै उनले पार्टीले छानबिन गर्नुपर्ने माग गरे। छानबिन समिति पनि गठन भयो।
चुनावपछि केपी ओली प्रधानमन्त्री बने। मन कुँड्याएर बसेका वामदेवलाई बोलाएर उनले सम्झाए, ‘मेरो स्वास्थ्य धेरै राम्रो छैन, तपाईंलाई थाहा छँदैछ। मपछि तपाईंले सम्हाल्नुपर्ने हो। तपाईंको ताल यस्तो छ।’
उचित समयमा कुनै निर्वाचन क्षेत्र खाली गराएर उनलाई उपनिर्वाचनमार्फत् सांसद बनाउने आश्वासन पनि प्रधानमन्त्री ओलीले दिए।
त्यसपछि वामदेव मानसिक रूपमा फेरि तंग्रिए। उनीनिकट एक नेता भन्छन्, ‘वामदेव यस्ता नेता हुन्, जो धुरीबाट लडेपछि पनि जुरुक्क उठ्छन् र अब के गर्ने भन्ने योजना बनाउँछन्।’
प्रधानमन्त्री ओलीले ढाडस दिएपछि उनले त्यस्तै योजना बनाए। एउटा शक्तिशाली विकास प्राधिकरण बनाउने र विकास निर्माण कामको नेतृत्व गर्ने। आफूनिकटहरूसँग भने, ‘प्रधानमन्त्रीको स्वास्थ्य धेरै ठिक छैन। विसञ्चो भयो भने उहाँ शिशाभित्र बस्नुहुन्छ, म बाहिर। सल्लाह गरेर म कामको नेतृत्व गर्छु।’
प्रधानमन्त्री ओलीले आफ्नो सिनेमाको नायक वामदेवलाई बनाउने कुरै थिएन। न प्राधिकरण गठन भयो, न उनले प्रधानमन्त्रीसँगै शिशाबाहिर बसेर कुनै काम गर्न पाए।
संसदमै नगई ‘खेल सुरू हुन्न’ भन्ने उनको मनमा विस्तारै गढ्दै गयो। त्यसपछि उनी आफ्ना लागि निर्वाचन क्षेत्र खाली गरिदिने सांसद खोज्नतिर लागे।
दैलेख, बाँके, रूकुम, भोजपुर र काठमाडौंका धेरै निर्वाचन क्षेत्रमा आँखा लगाए। धेरै प्रयत्न गरे। अन्तत: आफ्ना लागि निर्वाचन क्षेत्र छाड्न एक जना सांसद तयार पारे— दैलेखका रवीन्द्र शर्मा।
यो कुरा बालुवाटार पुग्यो।
प्रधानमन्त्री ओलीले शर्मालाई बालुवाटार बोलाएर भने, ‘सांसद पद छाडेबापत् पार्टीले तपाईंका कुनै सर्त मान्ने छैन, कुनै आश्वासन दिने छैन।’
शर्माले कुरा बुझे। वामदेवलाई आफ्नो निर्वाचन क्षेत्र खाली गरिदिने निर्णयबाट उनी पछि हटे।
वामदेवले त्यसपछि धेरै प्रयास गरेर काठमाडौं-७ का रामवीर मानन्धरलाई मनाए। बाहिर आए कुरा बिग्रिन्छ भनेर मानन्धरलाई प्रचण्डको खुमलटार निवास बोलाए। राजीनामापत्रमा सही गर्न लगाए।
मानन्धरको राजीनामापत्र प्रचण्डको खल्तीमा छिरेपछि वामदेव ढुक्क थिए। प्रधानमन्त्रीको कुर्सीमा पुग्ने उनको सपना एक खुड्किलो माथि उक्लिएको थियो।
भोलिपल्टको सचिवालय बैठकमा प्रचण्डले पत्र पेस गर्दै वामदेवका लागि काठमाडौं- ७ को निर्वाचन क्षेत्र खाली गर्न मानन्धरले लेखेरै दिएको जानकारी गराए।
ओली झस्किए।
उनले वामदेवलाई आफ्नाविरूद्ध प्रयोग गरिएको ठाने। तुरून्तै त्यसको प्रतिवाद भने गरेनन्। तर, वामदेवलाई कुनै हालतमा काठमाडौंमा उठ्न नदिन प्रधानमन्त्री ओलीले माहौल बनाए। उनले काठमाडौं-७ का कार्यकर्ता भेटे, कुरा गरे।
त्यसपछि निर्वाचन क्षेत्रमै वामदेवको विरोध सुरू भयो। रामवीर मानन्धरले मतदातालाई विश्वासघात गरेर राजीनामा दिएको भन्दै उनको पनि चर्को आलोचना भयो।
ओलीले वामदेवलाई मनाउन आफ्ना विश्वासपात्र विष्णु पौडेललाई पठाए। पौडेलले वामदेवलाई काठमाडौंबाट चुनाव उठ्न ठिक नहुने, उठे हार्ने निष्कर्ष सुनाए।
वामदेव पछि हटे।
ओलीसँग चिढिएका वामदेवलाई आफ्नो क्याम्पमा तान्न प्रचण्ड-नेपालले अर्को आश्वासन फाले— उनलाई राष्ट्रियसभामा सदस्य बनाउने र संविधान संशोधन गरेर प्रधानमन्त्री बनाउने।
सचिवालय बैठकमै प्रचण्डले प्रस्ताव राखेपछि ओली फेरि झस्किए।
वामदेवलाई प्रधानमन्त्री बनाउने प्रयोजनका लागि संविधानै संशोधन गर्ने कार्यदल बनेको खबर प्रधानमन्त्रीले बाहिर चुहाइदिए। आममानिसमा त्यो प्रस्तावको चर्को आलोचना भयो। प्रचण्ड-नेपाल पछि हटे। कुरा त्यत्तिकै तुहियो।
केही दिनपछि उनीहरूले संविधान संशोधन नगर्ने, तर वामदेवलाई राष्ट्रियसभा सदस्य मात्रै बनाउने प्रस्ताव सचिवालय लगे। त्यो प्रस्ताव सिरानीमुनि हालेर प्रधानमन्त्री ओली दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्न अस्पताल भर्ना भए।
अहिलेसम्म वामदेवलाई राष्ट्रियसभामा लैजाने नेकपा सचिवालयको त्यो निर्णय कार्यान्वयन भएको छैन।
राजनीतिलाई गोलचक्कर त्यसै भनिएको होइन। बुधबार साँझ बसेको पार्टी सचिवालय बैठकमा प्रधानमन्त्रीले पहिले आफैं अस्वीकृत गरेको त्यही प्रस्ताव ब्युँताए। राष्ट्रियसभामा लगेर वा कुनै निर्वाचन क्षेत्र खाली गराएर त्यहाँ चुनाव जिताउने र वामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राखे।
प्रधानमन्त्रीको यो प्रस्ताव धेरैले पत्याएका छैनन्। कतिले त यसलाई वामदेवमाथिको भद्दा मजाक पनि भनेका छन्।
वामदेव स्वयं भने प्रधानमन्त्रीको प्रस्तावप्रति आशावादी छन्, उत्साही छन्। यसले हामीलाई वामदेवको व्यक्तित्वको अर्को पाटोबारे संकेत गर्छ।
एउटै व्यक्ति वामदेव हक्की, सुरो, सोझो, ऊर्जावान र अस्थिर सबै हुन्। आफैं यतिसम्म अस्थिर छन्, अर्को मानिस कतिपटक फेरिएको छ र आफूलाई उपयोग गरेको छ, थाहा पाउँदैनन्। वा, थाहा पाएर पनि त्यसलाई सजिलै पचाइदिन्छन्, बिर्सिदिन्छन्।
मान्छेहरू भन्छन्- वामदेवसँग इख राख्ने थैलो नै छैन। रिस उठ्यो- अहिले भन्यो सकियो। कसैले धोका दियो- चित्त दुखायो, बिर्सियो।
आज वामदेव जहाँ छन्, यिनै गुण र कमजोरीका कारण छन्। पार्टीले, अझ भनौं पार्टीका नेताले, उनको उपयोग गरेका छन्। कतिपय सन्दर्भमा शोषण नै गरेका छन्।
बहुदल आएपछि २०५१ सालमा दोस्रो संसदीय निर्वाचन भयो। निर्वाचनपछि मनमोहन अधिकारीको नेतृत्वमा अल्पमतको कम्युनिस्ट सरकार बन्यो। मदन भण्डारीको निधन भइसकेको थियो। माधव नेपाल उपप्रधानमन्त्री र केपी ओली गृहमन्त्रीका रूपमा सरकारमा गए। पार्टी चलाउने मुख्य नेता थिएनन्। त्यसैले, पार्टीले विधान संशोधन गरेर उप-महासचिव पद सिर्जना गर्यो, त्यसमा नियुक्त भए वामदेव गौतम।
वामदेव काम गरेर नथाक्ने मानिस हुन्। शारीरिक रूपले बलिया र मानसिक रूपले ऊर्जावान्। उनले एमालेको अल्पमत सरकारले गरेका कामलाई जनताकहाँ पुर्याउने, जनतालाई सरकारसँग जोड्ने भन्दै ‘मेची-महाकाली अभियान’ चलाए।
मनमोहन अधिकारी नेतृत्वको सरकारले ‘आफ्नो गाउँ, आफैं बनाऊँ’, वृद्धभत्ताजस्ता लोकप्रिय कार्यक्रम ल्याएको थियो। त्यो बेला अहिलेजस्तो सामाजिक सञ्जालको