२०८१ असार ३१, सोमबार
July 15, 2024, Monday

जनतामाझ कांग्रेसको सन्देश : डोटीमा कांग्रेस एकढिक्का छ, गठबन्धन हुँदैन


दिपायल- आगामी चुनावलाई केन्द्रित गरेर नेपाली कांग्रेस डोटीले “जनताको साथमा कांग्रस अभियान” लाई तिव्रता दिएको छ । भदौ १० गते जिल्ला स्तरीय कार्यक्रम गरेर अभियानको थालनी गरेको डोटी कांग्रेसले १२ गतेबाट पालिका स्तरीय अभियान सञ्चालन गर्दै आएको छ ।

जिल्लाको पूर्वीचौकी गाउँपालिकाबाट अभियान सुरु गरेको कांग्रेसले दिपायल सिलगढी नगरपालिका, सायल गाउँपालिका, आदर्श गाउँपालिका, बोगटान फुड्सिल गाउँपालिका र केआईसिंह गाउँपालिका गरेर ६ वटा पालिकाहरुमा अभियान सञ्चालन गरिसकेको छ ।

२२ गते शिखर नगरपालिका, २३ गते जोरायल गाउँपालिका र २४ गते बडीकेदार गाउँपालिकामा अभियान सञ्चालन गरिने नेपाली कांग्रेस डोटी सचिव नारायण बलायरले जानकारी दिए ।

जिल्लाका ६ वटा पालिकामा अभियान सञ्चाल गर्ने क्रममा शिर्ष नेताहरु एउटै मञ्चमा उभिएका छन् । प्रदेश सभा र प्रतिनिधि सभाका लागि टिकट दावी गरिरहेका शिर्ष नेताहरु सँगसँगै अभियानमा जुटेका हुन् । अभियानका लागि खटिएका केन्द्रीय प्रतिनिधिहरु पनि सँगसँगै छन् ।

अभियानमा सक्रिय नेताहरुले डोटी कांग्रेसमा कुनै पनि गुट उप–उपगुट नरहेको बताउँदै डोटी कांग्रेस एकढिक्का रहेको र जिल्लामा कुनै पनि हालतमा गठबन्धन हुन नदिने सन्देश दिदै आएका छन् । कांग्रेस एकढिक्का भएर निर्वाचनमा जाने र गठबन्धन स्वीकार नगर्नेमा नेताहरु एकमत छन् । कार्यक्रममा सहभागि स्थानीय नेताकार्यकर्ताहरुले पनि गठबन्धन नगर्न सचेत गराउँदै शिर्षनेताहरु मिलेर चुनाव लड्न सुझाब दिदै आएका छन् ।

आदर्श गाउँपालिकामा आयोजित “जनताको साथमा कांग्रस अभियान” कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका प्रदेश सभापति एवं पूर्वमन्त्री वीर बहादुर बलायरले डोटीमा कांग्रस भित्र कुनै पनि गुट नरहेको दाबी गरे । “डोटीमा कुनै पनि गुट उपगुट छैन,“उनले भने,“निर्वाचन लड्ने कुरामा डोटी कांग्रस एकजुट छ । अल्पमतमा रहेको पार्टीसँग तालमेल गरेर आफ्ना मतदातालाई झुक्याउने पक्षमा हामी छैनौ । जिल्लामा गठबन्धन हुन दिदैनौं ।”

आफु कुनै पनि हालतमा प्रदेश र समानुपातिकमा चुनाव नलड्ने उद्घोष गर्दै सभापति बलायर पार्टीले टिकट उपलब्ध गरायो भने संघ मै चुनाव लड्ने बताए । “मैले नै टिकट पाउनु पर्छ, म नै लड्नु पर्छ भन्ने छैन । टिकट पाउने पात्र फरक हुन सक्छ,“उनले भने,“पात्र जो भए पनि कांग्रेस एक्लै चुनाव लड्छ । हामी घुँडा धसेर सबै नेताहरु एक ठाउँमा उभिएर निर्वाचनमा जान्छौं ।” आफुले चुनाव लड्दा भन्दा बढी मेहनत चुनाव लडाउदा गर्ने सभापति बलायरले बताए ।

सुदूरपश्चिम प्रदेश सभाका सदस्य कांग्रेस नेता भरत बहादुर खड्काले जो भाइले टिकट पाए पनि कांग्रेस एकमत, एकढिक्का भएर लाग्ने बताए । “पार्टीको आन्तरिक निर्वाचनमा फरक ठाउँमा उभिएर चुनाव लड्नु पर्ने प्राविधिक बाध्यता हुन्छ तर आगामि चुनावमा गुट उपगुटमा बाँडिने छुट कसैलाई छैन । टिकट जसले पाए पनि डोटीमा कांग्रस एकढिक्का भएर चुनाव लड्छ, उनले भने ।”

“गठबन्धन भन्ने, प्रदेशमा सरकारलाई हामीले समर्थन दिइरहनु पर्ने तर प्रदेश सरकारले हामीलाई सधै पेली रहने । बजेट बनाउँदा, काम गर्दा हाम्रो वास्ता नगर्ने, हामीलाई सधै बाइपास गरिरहने अनि उनीहरुलाई चुनावमा गठबन्धन चाहिने,“नता खड्काले भने, “यो हुनै सक्दैन हामी एकजुट भएर तीन वटै सिटमा पात्र जो सुकै भए पनि चुनाव लड्छौं ।”

नेपाली कांग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टले पनि गठबन्ध विना कांग्रेस एक्लै चुनावमा जाने बताए । “चुनाव लड्नका लागि कांग्रसमा दर्जनौ क्षमतावान नेताहरु छन्,“टिकट केही सिमित व्यक्तिहरुले पाउने हो । टिकट जस्ले पाए पनि हामी सबै एकढिक्का भएर चुनाव लड्ने छौं ।”

कांग्रस महाधिवेशन प्रतिनिधि जीत बहादुर खड्काले नेपाली कांग्रसका भोटरहरुले अन्यपार्टीको चुनाव चिन्हमा भोट हाल्नु पर्ने अवस्था सृजना हुन नदिने सबै नेता कार्यकर्ता प्रतिवद्ध रहेको बताए । पार्टीको हित, जनताको मनोभावना र कांग्रसको जीतका लागि आफु जुनसुकै ठाउँमा उभिन तयार रहेको बताउँदै उनले चुनाव लड्ने सवालमा डोटीमा कांग्रेस भित्र कुनै पनि गुट नरहेको जनाए ।

कांग्रेस डोटीका सभापति नरेन्द्र बहादुर सिंहले पार्टी भित्र कुनै पनि असन्तुस्टि र कुनै पनि गुट नरहेको बताउदै स्थानीय स्तरका नेताकार्यकर्ता र जनताहरु कांग्रेसको रुख चिन्हमा मतदान गर्न र गराउन तयार रहन आग्रह गरे । जिल्लामा गठबन्धन आवश्यक नरहेकोले जल्लामा गठबन्धन नगर्ने निर्णय गरिसकेका छौं । “त्यही अनुरुप केन्द्रलाई पनि जानकारी गराएका छौं,“उनले भने,“डोटीमा गठबन्धन स्वीकार्न नसकिने ठुलो जनदवाव पनि छ । जिल्लाका तीनै सिटमा कांग्रेस एक्लै चुनाव लड्छ ।”

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं अभियानका केन्द्रीय प्रतिनिधि नृप बहादुर वडले स्थानीय स्तरका नेता, कार्यकर्ता र मतदाता देखि शिर्ष नेताहरु सबै गठबन्धनको विपक्षमा रहेको बताउँदै केन्द्रलाई सोही अनुसारको जानकारी गराउने बताए । “डोटीमा कांग्रस एकजुट भएर एक्लै चुनावमा जाने बलियो आधार भनेकै यहाँको जनमत हो,“उनले भने,“जनमतको कदर गर्दै केन्द्रले पनि निर्णय गर्ने छ । जिल्लामा कांग्रस प्रति देखिएको जनलहर र यहाँका नेताहरुको एक मतले आगीमा निर्वाचनमा कांग्रस बहुमतले जित्ने पक्का छ ।”

अभियानका क्रममा मन्तव्य राख्ने नेताहरु र सहभागि मतदाताहरु सबै गठबन्धनका विरुद्धमा देखिएका छन् । डोटीमा कांग्रस एकढिक्का रहेको र गठबन्धन हुन नदिने सबै नेताहरुको सन्देश छ ।

Related News

रेडियो नेपालले सुरु ग-यो बैतडेली र राजवंशी भाषामा समाचार प्रसारण
रेडियो नेपालले सुरु ग-यो बैतडेली र राजवंशी भाषामा समाचार प्रसारण
  • २०७९ भाद्र २१

दिपायल-  रेडियो नेपाललले बैतडेली र राजवंशी भाषामा समाचार प्रसारण गर्न...

TOP