२०८२ चैत्र २१, शनिबार
April 4, 2026, Saturday

जापानको सहयोगमा निर्मित भौतिक संरचना विद्यालयलाई हस्तान्तरण 

दिपायल – शिखर नगरपालिका अन्तर्गतका दुई वटा विद्यालयमा निर्माण गरिएका भौतिक संरचना हस्तान्तरण गरिएको छ । “बालबालिकाहरुको पोषण स्थितिमा सुधार परियोजना” अन्तर्गत निर्माण गरिएका बालमैत्री, लैङ्गिकमैत्री अपाङ्गतामैत्री शौचालय, भान्सा, खानेपानी धारा र फोहर व्यवस्थापन संरचना एक कार्यक्रमका बीच विद्यालयलाई हस्तान्तरण गरिएको हो ।

शिखर नगरपालिकाको वडा नम्बर ५ तिजालीमा अवस्थित राधाकृष्ण मावि र वडा नम्बर ६ चुँडीमा अवस्थित सरस्वती माध्यमिक विद्यालयलाई उक्त संरचनासँगै भान्सा घरका लागि आवश्यक भाडावर्तन, करेसा बारीका लागि आवश्यक बीउबिजन र कृषि सामग्री एवं ल्यापटप, प्रिन्टर र ब्याकअप ब्याट्री हस्तान्तरण गरिएको हो ।

जापान सरकारको आर्थिक सहयोग, गुड नेवर्स जापानको प्राविधिक सहयोग, गुड नेवर्स इन्टरनेशनल नेपाल र सामुदायिक विकास केन्द्र डोटीको साझेदारी तथा शिखर नगरपालिकाको समन्वयमा “बालबालिकाहरुको पोषण स्थितिमा सुधार परियोजना” उक्त विद्यालयहरूमा सञ्चालित थियो । बिहीबार परियोजना कार्यान्वयन भएका विद्यालयहरुमा औपचारिक कार्यक्रमको आयोजना गरेर संरचना र सामग्रीहरू वितरण गरिएको थियो ।

शिखर नगरपालिकाका नगर प्रमुख दीर्घ बहादुर बलायर, उप – प्रमुख सुनिता रावल जोराको रोहबरमा सामग्रीहरू वितरण गरिएको परियोजनाका क्लस्टर संयोजक तेज प्रसाद शर्माले बताए । उनका अनुुसार उक्त विद्यालयमाहरूमा निर्माण गरिएका    दुई/दुई वटा शौचालय, एउटा/एउटा भान्सा घर र फिल्टर सहितका धारा एवं फोहर व्यवस्थापन संरचना निर्माण गरेर हस्तान्तरण गरिएको हो । एउटा विद्यालयको भौतिक संरचना निर्माणमा ४९ लाख ७ हजार ३१५ रुपैयाँ खर्च भएको थियो । दुईवटै विद्यालयको भौतिक संरचना निर्माणमा ९८ लाख १४ हजार ६३० रुपैयाँ खर्च भएको परियोजनाका क्लस्टर संयोजक तेज प्रसाद शर्माले बताए । भौतिक संरचना निर्माण बाहेक डेढ लाख बराबरका अन्य सामग्रीहरू हस्तान्तरण गरिएको थियो।

हस्तान्तरण कार्यक्रममा बोल्दै शिखर नगरपालिका नगर प्रमुख दीर्घ बहादुर बलायरले दातृ निकाय र सहयोगी संस्थाहरूलाई धन्यबाद ज्ञापन गरे । उनले शिखर सरकारले शिक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको समयमा थप सहयोग गरेको भन्दै गुड नेवर्स, सामुदायिक विकास केन्द्र र जापान सरकार प्रति आभार प्रकट गरे। “हामीले शिक्षालाई विशेष प्राथमिकता दिएर काम गर्दै आइरहेका छौं, “नगर प्रमुख बलायरले भने,” स्थानीय सरकारको स्रोत साधनले भ्याएसम्म निर्माण तथा शैक्षिक सुधारका कार्यक्रमहरु गर्दै आइरहेका छौं।  त्यसैमा जापान सरकार अन्तर्गत गुड नेवर्सले सहयोग गरेको छ । यस्ले हामीलाई थप हौसला र मदत पुगेको छ । सहयोगी सबै स्थानहरूलाई हार्दिक धन्यबाद ज्ञापन गर्दछु। “

नगर उप – प्रमुख सुनिता रावल जोराले ग्रामीण क्षेत्रका विद्यालयहरु छनोट गरेर विद्यालयलाई बालमैत्री, लैङ्गिकमैत्री अपाङ्गतामैत्री बनाउन सहयोग गरेकोमा धन्यवाद ज्ञापन गरिन् । उनले निर्माण भएका भौतिक संरचनाले छात्रा र अपाङ्गता भएका विद्यार्थीहरुलाई सहज हुने विश्वास व्यक्त गरिन् ।

गुड नेवर्स जापानकी प्रतनिधी मियुकी त्सुजिइले बालबालिकाहरुको पोषण स्थितिमा सुधार आउने र छात्रा र अपाङ्गता भएका बालबालिकाहरुलाई सहजता हुने विश्वाससहित विद्यालयहरुमा सहयोग गरेको बताइन्। मैले भन्नै पर्छ, यो परियोजनाको लगानी जापानका जनताले तिरेको करबाट गरिएको हो,”उनले भनिन्,” यसको पूर्ण सदुपयोग र संरक्षण हुनेछ भन्नेमा म विश्वस्त छु । यहाँ निर्माण भएका संरचनाहरू बालमैत्री, लैङ्गिकमैत्री र अपाङ्गतामैत्री छन् । जसले त्यस्ता बालबालिकाहरुलाई सहजता हुनेछ। बालबालिकाहरुले स्वच्छ पानी पिउन पाउन भनेर  फिल्टर सहितको पिउने पानीको पनि व्यवस्था गरिएको छ । भान्सा घर निर्माण भएको छ । विद्यालयको आफ्नै करेसाबारीमा साग तरकारी फलाएर आफ्नै भान्सामा पकाएर बालबालिकालाई खुवाउँदा उनीहरूको पोषणमा पनि सुधार हुनेछ।”

सामुदायिक विकास केन्द्र डोटीका कार्यकारी निर्देशक हेमराज जोशीले निर्माण भएका संरचनाको सही सदुपयोग र संरक्षण हुनु पर्ने बताए । “जापान सरकार र गुड नेवर्सको सहयोग, शिखर नगरपालिकाको समन्वय तथा सामुदायिक विकास केन्द्रको साझेदारीमा निर्मित यी महत्त्वपूर्ण, अत्ति आवश्यक संरचनाहरू निर्माण हुन्,उनले भने,” निर्माण भएका यी संरचना आजबाट विद्यालयका भएका छन् । यिनको सही सदुपयोग र संरक्षण गर्नु विद्यालय परिवारको दायित्व हो ।”

राधाकृष्ण मावि तिजालीका प्रधानाध्यापक जङ्ग बहादुर ऐर र सरस्वती माविका प्रधानाध्यापक हेमराज उपाध्यायले विद्यालयमा निर्मित भौतिक संरचनाले विद्यार्थी र विद्यालय परिवारलाई ठूलो सहयोग पुगेको बताए।  हामीहरुले सोच्नै नसोचेका, अपेक्षा पनि नगरिएका संरचनाहरू निर्माण भएको बताउँदै प्रधानाध्यापकहरुले सहयोगी निकाय प्रति आभार प्रकट गरे ।

Infrastructure Built with Japan’s Support Handed Over to Schools

 

Related News

डोटीलाई विशेष प्राथमिकता दिन प्रधानमन्त्री समक्ष सांसद खड्काको माग 
डोटीलाई विशेष प्राथमिकता दिन प्रधानमन्त्री समक्ष सांसद खड्काको माग 
  • २०८२ चैत्र १३

  काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सुदूरपश्चिम प्रदेशबाट प्रत्यक्ष...

TOP