बाँठपाली मन्दिर निर्माणमा रु २२ लाखभन्दा बढी हिनामिनाको आरोप, विशेष अदालतमा मुद्दा
बझाङ – बझाङको छविसपाथिभेरा गाउँपालिका–६ स्थित श्री बाँठपाली देवता मन्दिर निर्माण योजनामा रु २२ लाखभन्दा बढी रकम हिनामिना भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारका अनुसार आर्थिक वर्ष २०७५/७६ मा नयाँ पर्यटन गन्तव्यको पहिचान तथा विकास कार्यक्रमअन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्दिर निर्माणका लागि रु ४५ लाख बजेट विनियोजन गरेको थियो। उक्त योजनाको कुल लागत अनुमान रु ५६ लाख ७ हजार ८९७ रहेकोमा उपभोक्ता सहभागिता रु ११ लाख ७ हजार ८९७ र कन्टिन्जेन्सी रु २ लाख २५ हजार निर्धारण गरिएको थियो।
अनुसन्धानका क्रममा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकरबहादुर मण्डेल, तत्कालीन छविसपाथिभेरा गाउँपालिकाकी उपाध्यक्ष राधिका कुमारी रताला तथा अन्य प्रतिवादीहरूबीच मिलेमतो गरी वास्तविकभन्दा बढी काम भएको देखाउने, अस्वाभाविक दररेट कायम गर्ने तथा सम्झौताअनुसारको जनसहभागिता रकम कम कट्टा गरी झुट्टा बिल–भरपाईका आधारमा भुक्तानी गरिएको पुष्टि भएको अख्तियारले जनाएको छ।
अख्तियारका अनुसार उक्त प्रक्रियामार्फत नेपाल सरकारलाई रु २२ लाख १ हजार ६६५ बराबरको आर्थिक हानि पुर्याइएको निष्कर्षसहित संलग्न व्यक्तिहरूमाथि भ्रष्टाचारको आरोपमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।
आयोगले सार्वजनिक स्रोतको दुरुपयोग तथा सरकारी बजेट हिनामिनामा संलग्न दोषीमाथि प्रचलित कानुनबमोजिम कारबाहीको माग गरेको छ।
नागरिकको स्वास्थ्यसँग खेलवाड गर्नेलाई कडा कारबाही गरिने : गृहमन्त्री गुरुङ...