२०८३ असार १७, बुधबार
July 1, 2026, Wednesday

सिंहदरबारमै बसेर मन्त्रालय चलाउँदै मन्त्री महावीर पुन

सिंहदरबारमै बसेर मन्त्रालय चलाउँदै मन्त्री महावीर पुन

काठमाडौं – विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयका मन्त्री महावीर पुनले सिंहदरबारस्थित मन्त्रालयमै बसोबास गर्दै मन्त्रालय सञ्चालन गरिरहेका छन्। मन्त्रालयको आधारभूत संरचना, कानुनी व्यवस्था र संगठन निर्माणको काम तीव्र रूपमा अघि बढिरहेका बेला उनको कार्यशैलीले प्रशासनिक वृत्तमा चर्चा पाएको छ।

नवगठित मन्त्रालयले हाल संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षण टुंग्याउने, आवश्यक कानुनी आधार तयार गर्ने र अनुसन्धानलाई उत्पादन तथा बजारसँग जोड्ने लक्ष्यका साथ काम गरिरहेको जनाएको छ। मन्त्रालयका अनुसार स्वीकृत २४ दरबन्दीमध्ये हाल करिब १५ जना कर्मचारी मात्रै कार्यरत भएकाले दैनिक कामकाजमा चुनौती रहेको छ।

मन्त्री पुनले मन्त्रालयमै बस्ने, त्यहीँ खाने–पिउने र सरोकारवालासँग निरन्तर छलफल गर्ने शैली अपनाएका छन्। उनले सामाजिक सञ्जालमार्फत मन्त्रालय सञ्चालनसँग सम्बन्धित गतिविधिहरू नियमित सार्वजनिक गर्दै आएका छन्।

केही दिनअघि उनले मन्त्रालयका लागि सक्षम र अनुभवी सचिव आवश्यक रहेको उल्लेख गर्दै सामाजिक सञ्जालमार्फत आह्वान गरेपछि प्रशासनिक क्षेत्रमा व्यापक चर्चा भएको थियो। पछि उनले नियमअनुसार कार्यरत सचिवहरूमध्ये इच्छुक व्यक्तिलाई मात्रै आउन आग्रह गरिएको स्पष्ट पारे।

मन्त्री पुनले विज्ञान तथा प्रविधि क्षेत्रलाई निजामती सेवामा समेट्नुपर्ने आवश्यकता औंल्याउँदै स्पेस टेक्नोलोजी, कृत्रिम बुद्धिमत्ता (एआई), बायोटेक्नोलोजी, रोबोटिक्सलगायत विषय समावेश गर्न सार्वजनिक सुझावसमेत मागेका छन्।

उनका अनुसार मन्त्रालय सञ्चालनका लागि आवश्यक पाँचवटा महत्त्वपूर्ण कानुनको मस्यौदा तयार गर्ने काम सुरु भएको छ। विज्ञान, प्रविधि तथा नवप्रवर्तन ऐन, उन्नत औद्योगिक प्रविधि प्रवर्द्धन ऐन, रासायनिक पदार्थ व्यवस्थापन ऐन तथा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ऐन संशोधनलाई प्राथमिकतामा राखिएको छ।

मन्त्रालयले विश्वविद्यालयमा इनोभेसन ल्याब र सर्वसाधारणका लागि इनोभेसन हब स्थापना गर्दै अनुसन्धानलाई व्यावसायिक उत्पादन र उद्यमसँग जोड्ने योजना अघि बढाएको जनाएको छ। विदेशमा रहेका नेपाली वैज्ञानिकलाई स्वदेश फर्काउने तथा स्वदेशमै प्रतिभालाई रोजगारी सिर्जना गरेर मस्तिष्क पलायन रोक्ने दीर्घकालीन लक्ष्य पनि मन्त्रालयले लिएको छ।

यद्यपि, मन्त्री मन्त्रालयमै बस्ने र काम गर्ने शैलीका कारण सुरक्षाकर्मी तथा कर्मचारीले नयाँ व्यवस्थापकीय चुनौती पनि सामना गर्नुपरेको कर्मचारीहरूले बताएका छन्। मन्त्रालयको कानुनी संरचना अझै निर्माणकै चरणमा रहेकाले तीव्र गतिमा नतिजा हासिल गर्ने अपेक्षाले कर्मचारीमाथि थप दबाब परेको उनीहरूको भनाइ छ।

Related News

बाँठपाली मन्दिर निर्माणमा रु २२ लाखभन्दा बढी हिनामिनाको आरोप, विशेष अदालतमा मुद्दा
बाँठपाली मन्दिर निर्माणमा रु २२ लाखभन्दा बढी हिनामिनाको आरोप, विशेष अदालतमा मुद्दा
  • २०८३ असार १७

बाँठपाली मन्दिर निर्माणमा रु २२ लाखभन्दा बढी हिनामिनाको आरोप, विशेष...

TOP