कुनै जमानाको सुदूर पश्चिमको केन्द्र र मध्यकालीन समयमा बाइसे राज्यहरूमा सबै भन्दा शक्तिशाली र गौरवमय इतिहास बोकेको, पुरातात्त्विक, सांस्कृतिक र ऐतिहासिक रूपमा सम्पन्न डोटी प्राकृतिक र धार्मिक पर्यटनको प्रचुर सम्भावना भएको ठाउँ हो। यहाँका धेरै सुन्दर र मनमोहक ठाउँहरू छन् जसले आन्तरिक र बाह्य पर्यटक लाई लोभ्याउने छ। तर उचित प्रचार-प्रसारको अभाव र पर्यटकीय संरचना को अभावमा डोटीका पर्यटकीय स्थलहरूले त्यति पर्यटक भित्राउन सकेको छैन। रमणीय खप्तड क्षेत्र, शैलेश्वरी आदि को प्रचार त राम्रै भएको छ, तर यी ठाउँ बाहेक अस्द्वाला, देहिमाण्डौ, शिखर, भेलछडा झरना लगायत थुप्रै गन्तव्यहरू छन्। नेपालका अन्य महत्त्वपूर्ण ठाउँहरू जस्तै डोटी पनि जीवनमा छुटाउनै नहुने ठाउँ हो।यो जिल्लाको पूर्व मा सुर्खेत, अछाम जहाँ कर्णाली नदी र सेती को सङ्गम, उत्तरमा बझाङ, पश्चिम मा डडेलधुरा र बैतडी र दक्षिण मा कैलाली मा रमणीय ठाउँहरू लाई पनि पर्यटकीय प्याकेज मा जोड्ने हो भने एउटा राम्रो टुर प्याकेज बन्नेछ। पुरा डोटी घुम्न त महिनौँ लाग्न सक्छ तर छोटो तीन दिन को भ्रमण तालिका मा केही नयाँ र सजिला गन्तव्य समावेश गरी डोटी भ्रमण लाई यादगार बनाउन सकिन्छ। यहाँको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विरासत र विविधताले भ्रमण लाई आकर्षक बनाउँछ।अझ मानव शास्त्र र सामाजिक अध्ययनका लागि डोटीले रोचक अवसर प्रदान गर्दछ। पबित्र खप्तड को बारेमा धेरै लेखिएको र चर्चा पनि भयेकोले यो लेख मा डोटी का अन्य रमणीय स्थानहरु को चर्चा गरिएको हो । तर खप्तड बिना डोटी को भ्रमण अधुरो हुन्छ तर त्यस का लागि कम्तिमा पनि ५ दिन छुटाउनु पर्दछ ।
डोटी का केही घुम्नु पर्ने ठाउँहरू
गहनान (सकायल गाड र सेती नदी को सङ्गम)– डोटी जिल्ला को सुरुवाती बिन्दु मा अवस्थित गहनान साह्रै रमणीय छ। लामो यात्रा पछि सेती नदी को बालुवामा हिँड्दा (बिच वाक), चिसो हिमनदी मा एक छिन खुटा राख्दा थकान एक छिनमै चट हुन्छ। यो गहनान को पवित्र स्थलमा योग, ध्यान गर्दा गज्जब को ऊर्जा प्राप्त गर्न सकिन्छ। एकाग्र चित भएर नदी को सुसाहट सुन्दा नि एक किसिमको थेरापी हुन्छ। यहाँ मकर सङ्क्रान्तिको ठुलो मेलामा डोटी, डडेल्धुरा र बैतडी देखि हजारौँ मानिसहरू मेला मा आउँदछन्। पुस मसान्तमा रतेडी ( देउडा खेल्ने, रमाइलो गर्ने) र माघ १ गते मकर मेला लाग्ने गहनान स्कन्द पुराणको मानस खण्डमा सीता नदी भनेर उल्लेख गरिएको पाइन्छ। सुदूरपश्चिममा नदीलाई गङ्गा पनि भनिन्छ। गङ्गामा गरिने स्नानलाई गङ्ङास्नान भनियो। पछि त्यही शब्द अपभ्रष्ट हुँदै गहनान हुन गयो भन्ने कथन पनि छ। सीता नदी र सकायल गाड को सङ्गममा शाकिल्या ऋषिले तपस्या गरेकोले गहनान लाई पवित्र तीर्थस्थल मानिएको हो भन्ने जन विश्वास छ। धार्मिक लगायत सेती नदीमा गरिने राफ्टिङले धेरै आन्तरिक र बाह्य पर्यटकको मन लोभ्याउने गर्छ ।
बानेडुग्रीसैन- शिखर नगरपालिकाको सबै भन्दा ठुलो उपत्यका बानेडुग्रीसैनमा जनजीवन सँग सम्बन्धित कुराहरू हेर्न र डोटेली भाषा र स्थानीय रीति रिवाज को बारेमा जान्न सकिन्छ। यस उपत्यकामा मिश्रित जातिले बसोबास गर्दछन्। सेती नदी को किनारमा अवस्थित यो गाउँमा हिउँदमा तोरी फुलेको खेतहरू र आकाशे रङ्ग को सेती नदी ले मनै लोभ्याउँछ।
गोपघाट, गोल्मा गाड– कुनै जमाना डोटी को दोस्रो प्रमुख व्यापारिक केन्द्र र जब बझाङ सडक सञ्जाल ले जोडिएको थिएन, बझाङी व्यापारी र सर्व-साधारण गोपघाट मा समान किनमेल गर्न आउँथे । घ्यु को लागि यो ठाउँ प्रख्यात छ र डोटेली कृषि उपज किन्न को लागि यो ठाउँ उपयुक्त हो। यहाँ गहत, तिल, भटमास लगायत स्थानीय सामग्रीहरू किन्न सकिन्छ। यो ठाउँको अर्को अर्को विशेषता हो सेती नदी को चिसो पानीको सहर ( सोट्टो माछा) को स्वाद। साथै सेती हो हावा खाना सेती माथिको झोलुङ्गे पुल माथि एक छिन टहलिएर पनि मज्जा लिन सकिन्छ। गोल्मा गाड निर एक छिन रोकिएर सेती को झोलुङ्गे पुल तरी आधा घण्टा सिमखोली सम्म हाइकिङ गर्दा अझ आनन्द लिन सकिन्छ। यो छोटो हाइकिङ मा साल, सल्ला, असुरो, साझ लगायतका वनस्पति र विभिन्न चराहरूको अवलोकन गर्न सकिन्छ।
दिपायल – दिपायल उपत्यका मा भ्रमण गर्नु पर्ने धेरै ठाउँहरू छन्, जस्तो पुरानो डोटेली राजाको दरबार, समुवागाड, राजपुर, पिपल्ला लगायत का ठाउँहरू । दिपायल मा धार्मिक स्थलहरूमा दिलिपेश्वर मन्दिर, वासुधारा कुण्ड लगायत का आकर्षण छन् ।
सिलगढी- १३१० मिटर को डाँडा मा अवस्थित पुरानो राणाकालीन बजार सिलगढी ले बन्दीपुर को झल्को पनि दिन्छ। बजारको बिचै बिच हिँड्दै मठ मन्दिर र ऐतिहासिक ठाउँहरू हेर्न कम्तीमा पनि १.५ घण्टा लाग्छ। बजारको बिच मा अवस्थित शैलेश्वरी मन्दिर यहाँ को प्रमुख आकर्षण को केन्द्र हो। मन्दिर परिसर बाट डोटीका गाउँहरू को अवलोकन गर्न सकिन्छ। प्राचीन कालदेखि नै मन्दिरमा हरेक वर्ष जेठ र कात्तिक पूर्णिमाका दिन महायज्ञ आयोजना गरिन्छ र यो महायज्ञमा धार्मिक आस्था बोकेका पर्यटकहरूको घुइँचो लाग्ने गर्छ। सिलगढी मा शैलेश्वरी मन्दिर लगायत भीमसेन मन्दिर, कोटभैरव, राधाकृष्ण मन्दिर, मस्टा मन्दिर छन्।
देहिमाण्डौ- दिपायल बाट तिन घण्टाको सडक यात्रा पछि देहिमाण्डौ पुगिन्छ।यहाँ बाट मनमोहक हिमाली शृङ्खला देखिन्छ। साथै बाझ र लाली गुराँस को जङ्गलको बिच मा यात्रा गर्नु को मजा नै बेग्लै। प्राकृतिक सौन्दर्य तेलेको लेक, वन-जङ्गल, नदी, उपत्यका दृश्यहरू आदि हेर्दा त समय गएको पत्तै हुँदैन।माडु /माण्डौ अर्थात् मन्दिर, डोटी मा धेरै ठाउँ को नामको पछाडि माण्डौ छ। भनाइ छ काठमाडौँ को नाम पनि डोटीले भाषा अनुसार रहेको हो, काठ को मन्दिर अर्थात् काठ माडु। यस्तै यस्तै कथनले पनि डोटी को गौरवशाली इतिहास सांस्कृतिक धरोहर र डोटेली भाषा को प्रभाव लाई पुष्टि गर्दछ।
राजधानी काठमाडौँबाट डोटी भ्रमणको लागि निम्न लिखित यात्रा तालिका तय गर्न सकिन्छ:
१. पहिलो दिन: काठमाडौँबाट धनगढी जाने फ्लाइट (यात्रा समय: लगभग १.१५ घण्टा), बुद्ध एअर को पहिलो फ्लाइट मा यात्रा गर्दा सोही दिन १० बजे तिर धनगढी पुगिन्छ र अत्तरिया, चुरेको फेद अवस्थित गोदावरी वा खानडाडा मा स्वच्छ हावा पानी को अनुभव गर्दै खाना नास्ता वा आराम गरी यात्रा अधि बढाउन सकिन्छ। आरामदायक रूपमा लगभग ६ घण्टा मा डोटी को दिपायल मा पुगिन्छ। आरामदायक होटेलहरू को व्यवस्था छ पिपल्ला बजारमा।
२. दोस्रो दिन: सिलगढी बजार, दिपायल, राजपुर र देहिमाण्डौ लगायत को भ्रमण गर्ने, डोटेली परिकारको स्वाद को मज्जा दिपायल वा देहिमाण्डौ लिने। यदि हिउदयाम मा भए देहिमाण्डौ मा हिउँ खेल्न सकिन्छ र वसन्त ऋतु मा लालीगुराँस ले ढकमक्क ढाकेको बन जङ्गल को आनन्द लिन सकिन्छ।
३. तेस्रो दिन: गोपघाट, बानेडुग्रीसैन, गहनान लगायत को भ्रमण गर्दै, साँझ बुडर डोटी को कुनै होटेल वा धनगढी मा बास बस्न सकिन्छ। अथवा त्यसै दिन काठमाडौँ फर्किन सकिन्छ।
दिपायल, वैशाख १७ गते । डोटीमा इभि हाइस दुर्घटना हुँदा...