२०७७ माघ ९, शुक्रबार
January 22, 2021, Friday
राष्ट्रिय एकता तथा मेलमिलाप दिवस

सधैं सान्दर्भिक मेलमिलाप नीति

धर्मेन्द्र झा- आज बिहीबार देशैभरि राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदैछ । मूलतः नेपाली कांग्रेसले संस्थागत रुपमा मनाउँदै आएको यो दिवस सम्पूर्ण नेपाल र नेपालीका लागि महत्वपूर्ण छ । विपी कोइराला ३० डिसेम्बर १९७६ अर्थात् २०३३ पुस १६ का दिन स्वदेश फर्केका थिए । आठ वर्षको भारत निर्वासनपछि नेपाली कांग्रेसका संस्थापक महानायक विपी कोइराला स्वदेश फर्केको दिनलाई नेपाली कांग्रेसले राष्ट्रिय मेलमलिाप दिवसका रुपमा मनाउँदै आएको छ ।

निर्वासनको यो आठ वर्ष विपीका लागि अत्यन्त कष्टपूर्ण, कठिन र संघर्षयुक्त रहे । निर्वासनबाट स्वदेश फर्कनु स्वयं विपीका लागि, नेपाली कांग्रेसका लागि र समग्रमा नेपालका लागि निकै महत्वपूर्ण राजनीतिक खुड्किलो हो । निकै जोखिम मोलेर नेपाल फर्कने सन्दर्भ विपीको निकै ठूलो साहसिक निर्णय थियो । मृत्युदण्डसमेत हुन सक्ने प्रकृतिका आठवटा मुद्दा खेपिरहेका विपीका लागि स्वदेश आगमनको निर्णय कम जोखिमपूर्ण थिएन । तर विपी देश, प्रजातन्त्र र राष्ट्रियताको सम्बर्द्धनको उद्देश्य राखी स्वदेश फर्किए ।

त्यसो त कांग्रेसकै केही नेताकोे बुझाइमा भारत गमन विपीको आत्मनिर्वासनको निर्णयको उपज थियो । विपी त्यसवेला भारत जानुपर्ने कुनै आन्तरिक कारण नरहेको यो तप्काको बुझाइ छ । तर यो एक विचारमात्र हो । यसको पक्षमा समर्थन जनाउनैपर्छ भन्ने छैन । शायद त्यतिवेलाको राष्ट्रिय राजनीतिको आवश्यकता बोध गरेर विपीबाट लिइएको एक अनिवार्य तर परिपक्व निर्णय थियो, नेपाल आगमन । जे होस्, यो वहसको फरक विषय हो । निश्चित के हो भने मेलमिलापको औचित्य स्वीकार गर्दै विपी नेपाल फर्केपछि आन्तरिक राजनीतिले नयाँ धार र दिशा लिएको भने पक्कै हो ।

विपी नेपाल फर्केको कुराको कांग्रेसलगायत प्रजातान्त्रिक मूल्य मान्यतामा विश्वास गर्ने धेरैले स्वागत गरेका थिए । तर उनको अनुपस्थितिका कारण रिक्त स्थानको लाभ उठाउँदै टाउको उठाउन थालेको कम्युनिष्टले भने विपीको स्वदेश आगमनलाई खासै रुचाएको थिएन । विपी नेपालबाट जाँदा र फर्कँदाको बीचमा स्थानीय राजनीतिक परिदृश्यमा निकै फरक आइसकेको थियो । राजा महेन्द्र, जसले नेपालमा कम्युनिष्ट बढ्न सहयोग गरे भन्ने मानिन्छ, उनको अवसान भइसकेको थियो ।

राजाका रुपमा बेलायत पढित वीरेन्द्र अवतरित भएका थिए । चीनको परिवर्तित राजनीतिक अवस्थाको प्रभाव नेपालमा परेको थियो । वंगलादेशको स्थापना र भारतमा सिक्किम विलयको प्रभावबाट पनि नेपाल अछुतो थिएन । नेपाली कांग्रेसले विगतमा प्रारम्भ गरेको सशस्त्र संघर्षको औचित्यमाथि कांग्रेसभित्रै प्रश्नचिन्ह उठाइरहिएको थियो । विश्व असंलग्न आन्दोलनमा सहभागी भएर नेपाली राजतन्त्रले आफ्नो औचित्य प्रमाणितको प्रयास गरिरहेको थियो । यस्तोमा विपीको नेपाल आगमन भएको थियो जसले तात्विक रुपमा निकै अर्थ राख्दथ्यो ।

विपीको नेपाल आगमनको सन्दर्भलाई आजको अवस्थामा नयाँ ढंगले विश्लेषण गरिनु आवश्यक छ । माथि उल्लेखित पृष्ठभूमिका केही कारक अवस्था हुन्, जसको विश्लेषण गरिनु जरुरी छ र यसै आलोकमा विपीको नेपाल आगमन र राष्ट्रिय मेलमिलापको नीतिलाई बुझ्नु जरुरी छ । अर्को कुरा, विपीको अनुपस्थितिमा नेपाली राजनीतिले एक नयाँ कोर्स लिने प्रयास त गरिरहेको थियो नै, सँगै निर्वासित भूमिका जिम्मेवारसँग पनि उनको दुरी बढिरहेको आकलन त्यसवेला गरिएको थियो । जवाहरलाल नेहरुपुत्री इन्दिरा गान्धी १९७५ को इमरजेन्सीमार्फत निकै शक्तिशाली बनेकी थिइन् । विमान अपहरणको आरोपमा दुर्गा सुवेदी र सुशील कोइरालालाई भारत सरकारले पक्राउ गरेको थियो । यस्तो अवस्थामा शायद विपीलाई भारतमा रहिरहँदा आफ्नो राजनीतिमा बाह्य निगरानी र नियन्त्रण बढ्न सक्ने सम्भावनाले पनि गाँजेको हुन सक्छ ।

विपी नेपालका पूर्व प्रधानमन्त्री थिए । नेपाली कांग्रेसका सभापति थिए । यसर्थ उनको नेपाल आगमनलाई किन अस्वाभाविक मान्ने भन्ने प्रश्न गर्न सकिन्छ तर नेपालको आन्तरिक राजनीतिक कारणले निर्वासनमा रहेकाले विपीले नेपाल आगमनहेतु त्यही समय किन रोजे भन्ने प्रश्न महत्वपूर्ण छ । यस सन्दर्भमा माथिका आधारमा विश्लेषण गर्ने हो भने नेपाल आगमनको त्यो समयलाई विपीले रणनीतिक रुपमा प्रयोग गरेको रुपमा बुझ्न सकिन्छ । त्यसवेलामा राष्ट्रिय राजनीतिका सन्दर्भमा सम्भवतः विपीका सामु तीन–चार अवस्था विश्लेषणयोग्य थिए । पहिलो, राजा महेन्द्रको अवसान भई राजा वीरेन्द्रको उदय भइसकेको थियो, जो तुलनात्मक रुपमा प्रजातन्त्रमा विश्वास गर्दथे ।

अतः हिजोको राजासँगको व्यक्तित्वको लडाइँ अन्त्य गरेर नयाँ राजासँग सम्बन्ध सुधार गरी नेपालमा प्रजातन्त्र स्थापना र राष्ट्रियता प्रवद्र्धनको सघर्षको नयाँ अध्याय प्रारम्भ गर्न सकिन्थ्यो । उनको मेलमिलाप नीतिको विश्लेषण गर्ने हो भने यो राजालक्षित थियो भन्न सकिन्छ । जो स्वाभाविक पनि थियो । राष्ट्रवादी धारको नेतृत्व गर्ने राजा र प्रजातन्त्रको नेतृत्व गर्ने विपीबीचको समन्वयका रुपमा मेलमिलाप नीतिलाई लिन सकिन्छ । उनले राष्ट्रियता संरक्षणको कुरा उठाउँदै राजाको घाँटी र आफ्नो घाँटी जोडिएको उल्लेख गरेबाट पनि उनको रणनीतिक सोचको विश्लेषण गर्न सकिन्छ ।

दोस्रो, आफ्नो अनुपस्थितिमा रिक्त स्थानमा टाउको उठाउन थालेको कम्युनिष्ट प्रभावलाई रोक्न जरुरी थियो । प्रजातान्त्रिक आन्दोलन कमजोर हुँदा कम्युनिष्ट आन्दोलन फस्टाउन सक्थ्यो र शीतयुद्धकालीन विश्वमा नेपाल कुनै खास खेमामा आवद्ध हुन सक्थ्यो ।

तेस्रो, मूलधारबाट धेरै समय टाढा रहँदा राष्ट्रिय राजनीतिमा आफ्नो प्रभाव कमजोर हुन सक्थ्यो र नेपाली कांग्रेसमाथिको नियन्त्रण र प्रभाव नै पनि समस्यामा पर्न सक्थ्यो । र चौथो, नेपालमा बढ्दो आन्तरिक कट्टरवादी प्रभाव र विदेशी स्वार्थलाई रोक्नु जरुरी थियो ।

सम्भवतः यी यस्ता आधार थिए जसले विपीलाई त्यही समयमा नेपाल फर्कन प्रेरित गर्यो । तर जे होस्, तत्कालीन राष्ट्रिय राजनीतिमा विपीको मेलमिलाप नीतिको सकारात्मक प्रभाव परेको थियो । सबैभन्दा महत्वपूर्ण कुरा विपी स्वदेश फर्केपछि आमजनतामा नयाँ आशाको सञ्चार भएको थियो भने कांग्रेसले नै पनि नयाँ रुप प्राप्त गर्ने प्रयासको प्रारम्भ भएको थियो । वैचारिक दृष्टिले कांग्रेस तुलनात्मक रुपमा केही परिपक्व भएको अनुभव गरियो ।

आज नेपालमा राजतन्त्र छैन । कम्युनिष्ट आन्दोलन पनि हिजोको अवस्थामा छैन र यसले नयाँ कलेवर प्राप्त गरेको छ । कांग्रेसको नेतृत्व कोइराला परिवारभन्दा बाहिर गएको छ । विश्वमा असंग्लग्न आन्दोलन कमजोर भएको छ र प्रत्यक्षतः शीतयुद्धको अवस्था छैन । यस्तोमा प्रश्न उठ्छ, के विपीको राष्ट्रिय मेलमिलापको नीति आजको अवस्थामा पनि सान्दर्भिक छ ? नेपालमा उदारवादी राजनीतिको प्रणेता मानिने विपी र नेपाली कांग्रेसको यो नीतिको आज नेपाललगायत विश्वमा कट्टरपन्थले स्थान ओगटिरहेको अवस्थामा औचित्य छ ? यसको जवाफ हो, छ । बरु हिजोको दिनभन्दा आज यो नीति अझै सान्दर्भिक र महत्वपूर्ण ठहरिएको छ ।

हाल देशले विभिन्न नाममा राजनीतिक निकास नपाइरहेको अवस्थामा यो नीतिको उयपोगले सार्थक परिणाम सिर्जना गर्न सक्ने छ । सँगै स्वयं नेपाली कांग्रेस, जो विविध गुट उपगुटमा विभक्त छ, उसका लागि सबैभन्दा बढी आवश्यक छ, यो नीति । यस अर्थमा भन्नुपर्दा, विपीको मेलमिलाप नीति हिजो पनि सान्दर्भिक थियो, आज पनि छ र भोलि पनि रहनेछ ।

Related News

सरकार निरंकुश बन्दैछ : सापकोटा
सरकार निरंकुश बन्दैछ : सापकोटा
  • २०७७ पुष १६

खैराला– प्रधानमन्त्री केपी शर्मा ओली अहिले एकपछि अर्को गर्दै निरंकुशतातर्फ गइरहेको नेपाली कांग्रेस कैलाली जिल्लाका सल्लाहकार फणिराज सापकोटाले बताएका छन्...

नेकपाका जिल्ला सदस्य सहित केआईसिंह- ७ थलीको पुरै दलित बस्ती कांग्रेसमा प्रवेश
नेकपाका जिल्ला सदस्य सहित केआईसिंह- ७ थलीको पुरै दलित बस्ती कांग्रेसमा प्रवेश
  • २०७७ पुष १६

नेकपाका जिल्ला सदस्य सहित केआईसिंह- ७ थलीको पुरै दलित बस्ती कांग्रेसमा प्रवेश डोटी – केआईसिंह गाउँपालिका -७ थलीगाउँका ४० परिवार...

भारतमा कोरोना खोप लगाएका दुई स्वास्थ्यकर्मीको मृत्यु
भारतमा कोरोना खोप लगाएका दुई स्वास्थ्यकर्मीको मृत्यु
  • २०७७ पुष १६

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) को खोप लगाएका दुई स्वास्थ्यकर्मीको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार शनिबार कोरोना...

TOP