२०७७ चैत्र २९, आईतवार
April 11, 2021, Sunday

मलाई जनताले चुनेको हो भनेर प्रधानमन्त्रीले फुइँ लाउनु बेकार हो

भीम उपाध्याय

नेपालमा सक्रिय राजतन्त्रलाई २०४७ सालको संविधानले संवैधानिक औपचारिक आलंकारिक राष्ट्र प्रमुखको रूपमा राजतन्त्र बनाएपछि नेपालमा लोकतन्त्र पुनस्र्थापित भएको हो । लोकतन्त्र भनेको जनताले चुनेका व्यक्तिले शासन गर्ने तर संसदीय लोकतन्त्रमा जनताले चुनेकाले शासन गर्ने होइन। जनताले त आआफ्ना प्रतिनिधिहरू मात्र चुन्छन् र ती प्रतिनिधिहरूले आफ्नो नेता चुनेर प्रधानमन्त्री बनाउने हो ।

त्यसैले प्रधानमन्त्री भनेको जनप्रतिनिधिको प्रतिनिधि मात्र हो, समस्त मतदाता जनताको प्रतिनिधि हैन। किनभने जनताले प्रधानमन्त्री चुनेका हुँदैनन्, जनताले अप्रत्यक्ष ढंगमा सरकार प्रमुख शासक चुनेका हुन् । जनताका प्रतिनिधिहरूले चाहँदासम्म मात्र प्रधानमन्त्रीको पदावधि हुन्छ । प्रधानमन्त्रीको पाँच वर्ष पदावधि भन्ने हुँदैन । पाँच वर्ष पदावधि सांसदको मात्र हो । प्रधानमन्त्री हुन सांसद हुनैपर्ने भएकोले बढीमा पाँच वर्षसम्म पदावधि हुन सक्ने मात्र हो । त्यसैले मलाई जनताले चुनेको भनेर कुनै प्रधानमन्त्रीले फुइँ लाउनु बेकार छ ।

नेपालको संसदीय बहुदलीय लोकतन्त्रमा प्रधानमन्त्रीको कार्यकाल सांसदहरुको र दलको इच्छाअनुसारको हो । दलभित्र संसदमा बहुमत रहँदासम्म हो । जनताको प्रधानमन्त्री हुन त जनताबाटै सिधा चुनिए मात्र हो, दलीय व्यवस्थामा प्रधानमन्त्री दलको कार्यकर्ता वा नेतासम्म हुन सक्ने हो ।

कम्युनिष्ट गणतन्त्र कम्पुचियामा पोलपोटको अन्त्यपछि सिंहानुकलाई राजा बनाएर पुनः राजतन्त्रात्मक तर प्रधानमन्त्री सर्वेसर्वा हुने मुलुक कम्बोडिया बनेको हो । त्यसपछिका पहिलो प्रधानमन्त्री हुनसेन पहिलेको कम्युनिष्ट पोलपोट दल र सरकारका एक प्रभावशाली सिनियर नेता नै थिए ।

बेलायतमा संसदले गणतन्त्र ल्याएर राजा उन्मूलन गरी प्रधानमन्त्री क्रमबेलले १० वर्ष शासन गरेका थिए । पछि संसदले नै राजा नभइ हुँदैन भन्दै फ्रान्सबाट अर्कै राजपरिवार खोजेर राजा बनाएका हुन् । अहिलेकी रानी बेलायतको ओरिजिनल राजपरिवार सदस्य होइनन्, अर्कै परिवारकी राष्ट्र प्रमुख महारानी हुन् । राजा पुनः चाहियो र राजा बनाए ।

शासन गर्नेमा संस्कारगत समस्या भएपछि जस्तै संवैधानिक वा कानुनी व्यवस्था गरे पनि, जति ठूलो पद र पावर दिए पनि, जोसुकै पदमा पुगे पनि उसको यथार्थ विकृति मात्र उजागर हुने हो । संस्कार घरपरिवार, मातापिता, कुटुम्ब, समाज, संगी, पूर्वजको प्रतिष्ठा, शिक्षक, विद्यालयबाट नै बसिसकेको हुन्छ। संस्कार र दिमागी खेल फरक फरक हुन् ।

संस्कारले मै हुँ भन्ने मानिसको दिमागी खेललाई प्रष्ट नंग्याइरहेको हुन्छ । विगत जस्तो थियो, आज त्यो भन्दा खराब र आज जस्तो छ भोलि त्यो भन्दा खराब हुनुका मूल कारण पूरापूर संस्कारजन्य समस्या हो । काशी जानु कुतिको बाटो भनेको ठ्याक्कै यही हो । विगत कुसंस्कार र कुकर्मले भरिभराउ भएकालाई दयामाया गरेर पद र पावर दिनु नेपालीहरूको गैरजिम्मेवार राजनीतिक कुसंस्कार नै हो ।

(उपाध्याय नेपाल सरकारका पूर्वसचिव हुन्)

Related News

सधैं सान्दर्भिक मेलमिलाप नीति
सधैं सान्दर्भिक मेलमिलाप नीति
  • २०७७ मंसिर २६

धर्मेन्द्र झा- आज बिहीबार देशैभरि राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदैछ । मूलतः नेपाली कांग्रेसले संस्थागत रुपमा मनाउँदै आएको यो...

राजा महेन्द्र र ज्ञानेन्द्रले गरेको ‘कू’ भन्दा फरक छैन ओलीको कदम
राजा महेन्द्र र ज्ञानेन्द्रले गरेको ‘कू’ भन्दा फरक छैन ओलीको कदम
  • २०७७ मंसिर २६

प्रदीप पौडेल अनेकौं हन्डर–ठक्कर खाएको हाम्रो इतिहासले लामो संघर्षपछि लोकतन्त्र स्थापना गर्न सफल भएको थियो । निरंकुश जहानियाँ राणा शासनदेखि...

सम्झनामा पूर्वगृहमन्त्री नैनबहादुर स्वाँर
सम्झनामा पूर्वगृहमन्त्री नैनबहादुर स्वाँर
  • २०७७ मंसिर २६

गोविन्द अधिकारी नैनबहादुर स्वाँरलाई मैले चिन्दा उनी राष्ट्रिय पञ्चायतका अध्यक्ष थिए । म तनहुँको एउटा गाउँ पञ्चायतको उपप्रधानपञ्च थिएँ ।...

TOP