रोप्नारी रोपेकी रोप्यै, सधै दुःख पाउन्या
परदेशी परदेशै भयाप, घर कैल आउन्या
यही र यस्तै गीत गाउँदै डोटीको आदर्श गाउँपालिका–, भ्वाँ (थापा गाउँ) गाउँको एक किसानको खेतमा गाउँपालिकाले रोपाइँ उत्सव मनायो । असार १५ को अवसर पारेर डोटीको आदर्श गाउँपालिकाका अध्यक्ष गणेशबहादुर खडका र उपाध्यक्ष लक्ष्मी धामी (रोकाया)ले म पात्र र नेपाल पत्रकार महासंघ डोटीका पूर्व अध्यक्ष तथा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मीन बमलाई आमन्त्रण गर्नुभयो । उहाँहरुले गाउँपालिकामा गरेको सम्मान र सत्कारका लागि हृदयी आभार गर्दछु ।
व्यक्तिगत काम विशेषले हामी सिलगढी आएका बेला अध्यक्ष र उपाध्यक्षले गरेको प्रेमिल स्वागत नकार्न सकिएन । एक रात अध्यक्षकै क्वाटरमा बसियो । दोस्रो दिन थियो असार १५ । असार १५ का दिन बिहानै हामीले निस्कनु पर्ने थियो । तर, उहाँहरुको ‘प्रेमिल शब्द’ले हामी गन्तव्यलाई पर राख्दै बिहान ८ बजे ‘रोपाइँ गडाको टार्गेट हान्यौ’ । मीनजीलाई त्यो लोकेशन २०६० सालमै घुमेकाले थाहा थियो । तर, म भने नौलो थिएँ ।
२०६६ माघ १३ गते डोटीमा पाइला टेकेको म तत्कालीन समयमा केही गाविस घुमेको थिएँ । तर, त्यो देहीमाण्डौ पुगेको थिएन । असार १५ गते बिहान ९ बजे हामी देहीमाण्डौ जाँदै गर्दा समथल भू–भाग देख्यौँ । त्यहीबेला हाम्रो सवारी चालकले एयरपोर्टको जंगल देखाउनु भयो । उहाँले त्यो जंगल पञ्चायतकालमा सर्भे भएको र त्यसपछि राजनीतिक पहुँचका आधारमा दिपायलमा राखिएको कुरा सुनाउनुभयो । हामीले त्यो सर्भे भएको एयरपोर्टको जंगल छिचोल्यौँ । साथमा हुनुहुन्थ्यो गाउँपालिकाको उपाध्यक्ष लक्ष्मी धामी (रोकाया), पत्रकार मीन बम, युवा नेता गोविन्द खड््का र कृषि विकास शाखाका प्राविधिक सहायक अञ्जना शाही पनि । हामी गाडीमा गुड्दै गर्दा देहीमाण्डौको स्कुल नजिक पुग्यौँ । जहाँँ स्कूल जंगल बीचमा जस्तै लागेको थियो । वरपर जंगलै जंगल जस्तो थियो । त्यही स्कुलमा चर्चित डेउडा गायक भुवन दाहालले कक्षा १० सम्म अध्ययन गर्नु भएको थियो । हो, त्यही स्कुलका प्रधानाध्यापकलाई तत्कालीन माओवादीले दिएको दुःख केही स्थानीयले सुनाए । त्यो बेलाका प्रधानाध्यापक शिक्षाका ज्योति हुनुहुन्थ्यो रे त्यो ठाउँमा । त्यो घटना सुन्दा मेरा बा को याद झलझली आयो । मेरा बा तराइँको गाउँमा पढाउँदा पनि तत्कालीन समयमा त्यस्तै सास्ती खेप्नु भएको ती दिन सम्झिएँ । त्यो दहको स्कूल छिचोल्दै गर्दा सानो बजार जस्तो ठाउँमा पुग्यौँ । त्यहाँ हामी गाडीबाट उत्रियौँ । गाडीबाट उत्रिएपछि एकजना ‘दाजू’ को खेतमा रोपाइँ थियो । गाउँपालिकाले त्यही रोपाइँ उत्सव गरेको रहेछ । तर, लोकेशनबारे सबै अनविज्ञ थियौँ । सडक नजिकै उत्रिदै गर्दा रोपाइँ कहाँ हो भन्दा सबैले तल भने । हामी रोपाइँ गडा जान सुरसुरे बाटोबाट हिँड्दै गर्दा सेल पकाएको बास्ना आयो । मैले उपाध्यक्ष लक्ष्मीजीलाई सेल (बाबर) पाकेको रहेछ । रोपाइँ सकिएपछि सेल खाँदै फर्कने भनेर कानेखुसी गरेँ । हामी उत्साहित हुँदै रोपाइँ गडातर्फ लाग्यौँ ।

बाटोमा जाँदै गर्दा डेउडा गायक भुवन दाहालले गाएको ‘देहीमाण्डौकी जाँत’ गीतमा उपाध्यक्षसँगै हामीले टिकटक बनायौँ । त्यो रमाइलो दृश्य हेर्दै टिकटक बनाउँदै हामी ‘भ्वाँ’ अर्थात् थापागाउँ तर्फ लाग्यौँ । गाउँमा रोपाइँ गडा कति टाढा हो भन्दै स्थानीयलाई सोध्थ्यौँ । उहाँहरु सबैले आधा घण्टा भन्थे । त्यो आधा घण्टा भन्ने शब्द स्थानीयले तल स्कूल पुग्दासम्म पनि दोहोर््याइरहे । हामी अन्तिममा ‘भ्वाँ’ गाउँको खेतमा पुग्यौँ । हामी पुग्दा दुईवटा ढोल, एक झ्याइँ अनि केही युवा र युवतीहरु थिए । एक हल सेता गोरुहरु थिए । गोरु मई लगाउँदै थे भने युवाहरु कोदालो लिएर खेत खन्दै थिए । माथि डिलमा बसेर दमाहा र भ््mयाइँ बजाउँदै थिए तीन जना वयोवृद्धहरु । हामी त्यही समयमा पुग्यौँ । हामी पुगेको करिब १० मिनेटपछि गाउँपालिकाका अध्यक्ष गणेश खडकासहितको टोली पनि पुग्यो । त्यसपछि गाउँपालिकाले औपचारिक रुपमा असार १५ को रोपाइँ उत्सव मनाउने गरी अनुमति दियो । त्यसपछि गाउँपालिकाले छापेको हरियो रंगको ‘टि शर्ट’ सबैले लगाएर गडामा रोपाइँ सुरु ग¥यौँ । माथिबाट ढोल बज्दै र गीत गुनगुनाउँदै थियो, तल बाउसेहरु उही तालमा खेत खन्दै थिए । पर सम्म पारिएको खेतमा महिलाहरु असारे डेउडा गीत गाउँदै आफ्नै धुनमा रोपाइँ गर्दै थिइन् । त्यही बाउसेको हुलमा कोदालो समातेर गाउँपालिकाका अध्यक्ष गणेश खडका, प्रमुख प्रशासकीय अधिकृत षडानन्द ओझासहित पुरुषहरु मिसिए भने रोपाइँ गरामा गाउँपालिका उपाध्यक्ष लक्ष्मी धामी (रोकाया) सहितका गाउँपालिकाका महिला कर्मचारी मिसिए । हामी पत्रकार भने तस्बिर र भिडियो खिच्नमै व्यस्त रह्यौ । पहाडको यस्तो गाजाबाजा सहितको रोपाइँको मेरो पहिलो अनुभव थियो । म भने त्यही रोपाइँको ‘फुटेज’ खिच्नमै व्यस्त रहेँ ।

हामीले एक आपसमा हिलो छ्याप्यौँ, गीत गायौँ, रोपाइँ गर्यौँ, ढुस्को र चाँचरी गायौँ । बाउसे बन्यौ, हली बन्यौ, बीउ ओसार्ने पुरुष मान्छे बन्यौ (पहाडमा बीउ पुरुषले मात्रै ओसार्छन्् । महिलाले रोप्छन् ) । एक आपसमा सद््भाव, मित्रता राख्दै किसानलाई हौसला दिँदै हामी फर्कियौँ । तर, गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधिभन्दा अगाडि हामी ४ जना साथीहरु फर्कियौँ । मलाई त्यो देहीमाण्डौको मन्दिर हेर्न मन थियो । सवारी चालक साथीलाई लिएर म, मीनजी, गोविन्द खड्का र ४ नम्बरका वडाध्यक्ष मन्दिरतर्फ लाग्यौँ । त्यो मन्दिरको बारेमा डेउडा गायक भुवन दहालले देहीमाण्डौकी जाँत भन्ने चर्चित गीत गाउनु भएको थियो । त्यही गीतमा हामीले मन्दिरमा टिकटक बनायौँ । त्यहाँको पुख्र्यौली देवल अवलोकन गर्र्यौं । डोटीका चर्चित र स्थापित नेताहरुको गाउँ पनि आँकलन गर्दै माथिको डाँडोबाट ठम्यायौँ । तल पश्चिम सेती प्रभावित क्षेत्रको पनि स्थान माथिबाटै आँकलन गर्र्यौं । कांग्रेस डोटीका सभापति नरेन्द्रबहादुर सिंह, जिसस प्र्रमुख लक्ष्मणबहादुर सिंह, प्रदेश सभा सदस्य चक्रबहादुर मल्ल, गाउँपालिका उपाध्यक्ष लक्ष्मी धामी (रोकाया) को गाउँको आँकलन माथि डाँडोबाटै गर्यौँ । त्यसपछि हामी त्यही गाडी लिएर गाउँपालिका पुग्यौँ । खाना खाइवरी आफ्नै मोटरसाइकल (बसन्ती) लिएर मीनजी र म पिपल्ला फर्कियौँ । यसरी हाम्रो असार १५ बित्यो । किसानलाई असार १५ को शुभकामना मात्रै हैन । अबका दिनमा सबै स्थानीय तह, प्रदेश र संघीय सरकारले कृषि र कृषकलाई सहयोग गरोस् । पहाडमा धान रोपाइँका लागि पाइपको धेरै जरुरत पर्दो रहेछ । सबै किसानलाई पुग्दो गरी सिचाइँका लागि पाइपको व्यवस्था गरियोस् । सबै किसानलाई धान दिवसको शुभकामना । जय कृषि ! जय किसान !
दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...