२०८२ जेष्ठ २९, बिहीबार
June 12, 2025, Thursday

डोटी जिल्लाको भाषिक स्थिति

विगतमा डोटी भनेपछि सिङ्गो खस प्रदेशलाई बुझिन्थ्यो भने हाल आएर डोटीलाई नेपालका ७७ जिल्लामध्येको एक जिल्ला भनेर चिनिने गरेको पाइन्छ । खसराज्य छिन्न भिन्न भई बाइसे राज्य बने पछि डोटी स्वतन्त्र राज्य बनेको हो । सांस्कृतिक र भाषिक सन्दर्भमा हिजोको डोटीले हालको सुदूरपश्चिम प्रदेशलाई बुझाउँछ भने हालको डोटीले नेपालको एक जिल्लालाई मात्रै बुझाउँछ । यस लेखमा हालको डोटी जिल्लाको भाषिक स्थितिका बारेमा चर्चा गर्न खोजिएको छ । डोटी नेपालको एक जिल्ला हो । यो जिल्ला सुदूरपश्चिम प्रदेश अन्तरगत पर्दछ । डोटी जिल्लाको पूर्वमा अछाम र सुर्खेत, उत्तरमा बझाङ, पश्चिममा डडेल्धुरा र बैतडी, दक्षिणमा कैलाली कञ्चनपुर जिल्लाहरू पर्दछन् । डोटी जिल्लाले २०२५ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । डोटी जिल्लामा पनि विभिन्न जातजातिका मानिसहरूको बसोबास रहेको छ । डोटी जिल्लामा जम्मा ९ वटा स्थानीय तह रहेका छन् । भने जम्मा ६५ वटा वडा सङ्ख्या रहेको पाइन्छ ।

डोटी जिल्लामा पनि विभिन्न जातजातिका मानिसहरूको बसोबास रहेको छ । ती जातजातिहरूका आआफ्नै रीतिरिवाज परम्परा रहेका छन् । नेपाल बहुभाषिक मुलुक हो । बहुभाषिक मुलुक भएकाले नै डोटी जिल्लामा पनि बहुभाषिकता पाइन्छ । नेपालको संविधान २०७२ जारी भए पछि मुलुक सङ्घीय संरचनामा गएको छ । सङ्घीय संरचनामा गएपछि मुलुकमा दुई जिल्ला थपेर ७७ जिल्ला बनाएको छ । डोटी जिल्ला प्राकृतिक दृष्टिले भरिपूर्ण एवम् भौगोलिक, जैविक तथा भाषिक विविधताले युक्त छ । नेपाल बहुभाषिक मूलुक हो । वि.स. २०७८ सालको जनगणनाअनुसार नेपालमा जम्मा १३५ वटा भाषाहरू बोलिन्छन् तर तथ्याङ्क कार्यालयले न्यून वक्ता भएका भाषाहरूलाई अन्य भाषामा समावेश गरेर जम्मा १२४ वटा भाषाहरू भनेर अन्तिम नतिजा प्रकाशित गरेको छ । वि.सं. २०७८ सालको जनगणनाले डोटी जिल्लामा २६ वटा भाषाहरू रहेको देखाएको छ । भाषा विचार विनिमयको साधन हो । विचार विनिमय गर्नका लागि डोटीमा अधिकांश वक्ताले बोल्ने प्रमुख भाषाहरूमा नेपाली र डोटेली हुन् । डोटी जिल्लामा बोलिने धेरै भाषाहरू नगन्य मात्रामा रहेका छन् । वि.सं. २०७८ सालको जनगणनाले डोटी जिल्लामा २६ वटा भाषा रहेको देखाएको छ । जनगणनाले सूचीकृत गरेका २६ भाषामध्ये डोटेलीका अतिरिक्त नेपाली, मगर खाम, मगर ढुँट थारु, बैतडेली, अछामी, डडेल्धुरी, मगर काइके, भोजपुरी, नेवारी, हिन्दी, मैथली, अवधीलगायतका भाषाहरू रहेका छन् । भने स्रोत नखुलेको अज्ञात भाषालाई अन्य भाषाका रूपमा राखेको पाइन्छ ।

जिल्लागत रूपमा भाषिक गणना भए तापनि प्रयाप्त रूपमा तथाङ्क भेटिदैन । राष्ट्रिय जनगणनालाई आधार मानेर डोटी जिल्लाको भाषिक अवस्था अध्ययन गर्नुपर्ने बाध्यता रहेको छ । समग्र नेपालको भाषिक तथाङ्क जताततै पाइन्छ तर जिल्लागत रूपमा भाषिक तथाङ्क पाइँदैन । जिल्लागत हिसाबले भाषाको अध्ययन अनुसन्धानको कमिले गर्दा जिल्लाको भाषिक तथ्याङ्क पाउन मुस्किल देखिन्छ । तसर्थ यहाँ डोटी जिल्लामा बोलिने भाषाहरूको अवस्था के कस्तो छ ? भनेर देखाउने प्रयास गरिएको छ । जुन तथाङ्कलार्ई निम्नअनुसार सूचीवद्ध गरिएको छ ।

स्रोत : केन्द्रीय तथ्याङ्क विभाग, राष्ट्रिय जनगणना, २०७८

डोटी जिल्लामा बोलिने भाषाहरूमध्ये सबैभन्दा बढी भाषाहरू जोरायल गाउँपालिकामा बोलिन्छन् भने सबैभन्दा कम भाषाहरू के आई सिँह गाउँपालिकामा बोलिन्छन् । जोरायल गाउँपालिकामा जम्मा १९ वटा भाषाहरू बोलिन्छन् । जोरायल गाउँपालिकामा बोलिने भाषाहरूमा नेपाली, भोजपुरी, तिबेतन, डोटेली, थारू, याक्थुङ(लिम्बू), गुरुङ, बैतडेली, अछामी, हिन्दी, चाम्लिङ, दैलेखी, मगर खाम, मगर ढुँट, मगर काँइके, खस, डडेल्धुरी, बाजुरेली, बझाङी रहेका छन् । त्यसपछि क्रमशः दिपायल सिलगढी नगरपालिकामा जम्मा १६ वटा भाषाहरू बोलिन्छन् ।

दिपायल सिलगढी नगरपालिकामा बोलिने भाषाहरूमा नेपाली, डोटेली, नेवारी, हिन्दी, मैथली, थारू, तामाङ, मगर ढुँट, राई, गुरुङ, मगर खाम, अछामी, बझाङी, बाजुरेली, डडेल्धुरी, बैतडेली रहेका छन् ।

बडीकेदार गाउँपालिकामा ७ वटा भाषाहरू बोलिन्छन् । जस अन्तरगत नेपाली, डोटेली, मगर खाम, मगर ढुँट, मगर काइके, भोजपुरी, अछामी भाषाहरू रहेका छन् । शिखर नगरपालिकामा ६ वटा भाषाहरू बोलिन्छन् । जस अन्तरगत नेपाली, डोटेली, बैतडेली, डडेल्धुरी, थारू, अवधी; बोगटान र पूर्वीचौकी गाउँपालिकामा ५–५ वटा भाषाहरू बोलिन्छन् । बोगटान अन्तरगत नेपाली, डोटेली, मगर खाम, मगर ढुँट, अछामी; पूर्वीचौकी गाउँपालिका अन्तरगत नेपाली, डोटेली, नेवारी, अछामी, थारू भाषाहरू रहेका छन् ।

सायल र आदर्श गाउँपालिकामा ४–४ वटा भाषाहरू बोलिन्छन् । सायल गाउँपालिका अन्तरगत नेपाली, डोटेली, बझाङी, अछामी र आदर्श गाउँपालिका अन्तरगत नेपाली, डोटेली, बैतडी, बझाङी रहेका छन् । र के आई सिँह गाउँपालिकामा ३ वटा भाषाहरू बोलिन्छन् । जस अन्तरगत नेपाली, डोटेली र मगर खाम भाषाहरू रहेका छन् । माथिको तथ्याङ्कमा भएको बेलहरे र शेर्पा भाषा पनि डोटी जिल्लामा बोलिन्छन् । तर ती भाषाहरू कुन स्थानीय तहमा बोलिन्छन् भन्ने कुरा यकिन रूपमा देखाएको छैन तर डोटी जिल्लाको समग्र भाषिक तथ्याङ्कमा भने यी दुई भाषा समावेश गरिएको पाइन्छ ।

Related News

पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
  • २०८१ चैत्र ८

धनगढी, जेठ २४ –सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित पहलमानसिंह स्वाँर नेपाल–भारत...

TOP