– मधु लम्साल
हिन्दु धार्मिक ग्रन्थ अर्थात् चर्चित पुराण ‘श्रीस्वस्थानी’ व्रतकथामा हिमालय पर्वत कैलाश र मानसरोवरबारे विभिन्न सन्दर्भमा रोमान्चक कथा सामग्री प्रस्तुत गरिएको छ । हिन्दु धर्मालम्बीका आराध्यदेव भगवान् महादेव र देवी पार्वती, पुत्रहरू श्रीगणेश र कार्तिकेयको बासस्थानका रूपमा कैलाश पर्वतलाई लिएको पाइन्छ । मानसरोवरलाई महादेवले हंशरूप धारण गरी जलविहार गरेकोलगायतका कथा ‘श्रीस्वस्थानी’ व्रतकथामा उल्लेख छ । हिन्दु धार्मिक कहावतअनुसार देवताहरूले मानसरोवरमा स्नान गरेर मात्रै कैलाशमा महादेवको दर्शन गर्थे रे ! त्यसैले पनि कैलाश अनि मानसरोवरको महिमा हिन्दु, बौद्ध, जैन, शिख, ॐकार लगायतका धार्मिक अनुयायीले गाउने÷पछ्याउने गरेको पाइन्छ ।
धार्मिक एवम् आध्यात्मिक विचारबाट प्रभावित व्यक्ति त्यसमा पनि बच्चैदेखि ‘श्रीस्वस्थानी’को कथा श्रवण गर्दै आएकाले पनि पंक्तिकारको मानसपटलमा कैलाश र मानसरोवरले राम्रै स्थान ओगटिरहेको थियो । यसै सन्दर्भमा पूर्वप्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेललाई म आदर्श व्यक्तिका रूपमा लिन्छु । उहाँलाई अभिभावक नै ठान्छु । उहाँसँग प्रायःजसो भेट भइरहँदा विभिन्न धार्मिक विषयवस्तुमा चर्चा भइरहन्छ । २०८० सालको वर्षात्को कुनै एक दिन खरेल सरले आफूले कैलाश जाने इच्छा गरेको सुनाउँदै मलाई पनि ‘के छ इच्छा ? जाने हो ?’ भनेर सोध्नुभयो । यदाकदा सिद्धहस्त योगीको दर्शनका लागि म पनि उहाँसँग जाने गरेको थिएँ । तर, एक्कासी पवित्र तीर्थस्थल कैलाश दर्शनको प्रस्तावले पंक्तिकार अवाक नहुने कुरै भएन । उहाँले भन्नुभयो, ‘तिमीसँगै भए म अनि परिवार पनि ढुक्क ।’
भौगोलिक अवस्थाले उच्च स्थानमा अवस्थित कैलाश हिमपर्वतको परिक्रमालाई सामान्यरूपमा लिन यसै पनि मिल्दैन । त्यसमा पनि साढे सात दशक उमेर पार गरिसक्नु भएका उहाँमा देखिएको जोश र कैलाशको दर्शन गर्ने तिथिमिति नै तय गरिसकेको अवस्थामा खरेल सरको उत्साहलाई मैले पनि ‘उच्च सतर्कता अपनाउनु पर्ला’ भन्ने सुझावसहित हौसला दिनै पर्यो । वास्तवमा भन्नुपर्दा कैलाश परिक्रमा गर्न जाने उमेर त्यो थिएन ।
आध्यात्मिक मन, धार्मिक निष्ठा भएपछि उमेरले छेक्दो रहेनछ । आफूलाई आएको प्रस्तावउपर ‘हुन्छ र हुन्नँ’ भन्न पंक्तिकार अकमकाइरहेको अवस्थामा उमेरले डाँडो काटिसकेका खरेल सरमा देखिएको उत्साह, आँटले बरु मलाई नै लज्जाबोध तुल्याइरहेको थियो । तर, आफ्नै केही कार्यव्यस्तताले तोकिएकै दिनमा तीर्थ जान समयलाई वशमा लिनेबारे तत्काल निर्णय गर्न नसक्दा मन अलमलाइरहेको थियो ।
उहाँले ‘जाने इच्छा छ भने भनिहाल, समय धेरै छैन, जनैपूर्णिमाको दिनमा त्यहाँँ पुगिसक्ने हो ।’ त्यति भन्दा नभन्दै पूर्वनिर्धारित दिनमा आफू जान नसक्ने बताउन बाध्य भएँ । कैलाश दर्शनको अवसर सदुपयोग गर्न नसक्ने बताइरहँदा मन खिन्न भइरह्यो । कार्य व्यस्तता यस्तो थियो कि निर्धारित दिनमा जानसक्ने वातावरण मिलाउने खालकै थिएन ।
भोलिपल्ट आफूलाई आएको प्रस्तावबारे मैले आदरपूर्वक अभिभावक मान्ने शंकर गुरुङलाई आफू जान असमर्थ भएकोमा नमज्जा लागेको सुनाएँ । शंकर दाइले भन्नुभयो, ‘मन नबिगार अर्को वर्ष सँगै जाउँला ।’ शंकर दाइबाट त्यति सुन्नेबित्तीकै मेरो शिथिल शरीरमा पुनः ऊर्जा प्रवाहित हुन थाल्यो । ईश्वरले भन्छन् रे– ‘तँ आँट् म पुर्याइदिन्छु ।’ साँच्चिकै कैलाशको दर्शन मेरो सोचमै थिएन । सायद ईश्वरले नै डाक्नु भएर हो कि ? प्रतीक्षाको यो पछिल्लो एक वर्ष मेरो मानसपटलमा कैलाश र मानसरोवरले डेरै जमाएको थियो । खरेल सरले उक्साउनु भो, अनी शंकर दाइले त्यो चाहना पूरा गरिदिने वचन दिनुभो । जसोतसो मानसरोवरमा स्नान अनि कैलाशको परिक्रमा गरेर सकुशल फिर्ता भइयो । अहिले खरेल सर र शंकर गुरुङ दुवै अभिभावकप्रति कृतज्ञ छु ।
कैलाश लैजान तँछाडमछाड तर, छैन जिम्मेवारी
हुनत सामाजिक सञ्जालमा कैलाश मानसरोवरको दर्शन गराउने प्रलोभनयुक्त विज्ञापन छरपष्ट देखिन्छन् । व्यावसायिकरूपमा गरिएका त्यस्ता विज्ञापनले कैलाशको दर्शन सहज लाग्छ । व्यवसायीबीच दर्शनार्थीलाई प्रभावमा पारेर आफ्नोमा तान्न एक प्रकारको तँछाडमछाड नै चल्छ । अस्वस्थ प्रतिस्पर्धाले गर्दा आवश्यक गराउनै पर्ने जानकारी पनि ती व्यवसायीले इच्छुक दर्शनार्थीलाई गराइरहेका हुन्नन् । तोकिएको खर्चको जोहो गर्नसके जो पनि सहजै कैलाश परिक्रमा गरेर आइन्छ भन्ने भ्रम सामाजिक सञ्जालमा देखिएका विज्ञापनले स्वतः पार्छ । तर, विज्ञापनमा भनिएजस्तो कैलाश परिक्रमा सहज छैन । व्यापार गर्ने नाममा व्यक्तिको संख्या संकलन गर्न गरिएका विज्ञापनले कैलाशको दर्शनका लागि इच्छुक दर्शनार्थीलाई कैलाश परिक्रमाबारे यथार्थ जानकारी नगराइनु नै प्रथमतः व्यावसायिक संस्थाहरूको बदमासी मात्रै होइन, ठगी नै जस्तो लाग्छ ।
इच्छुक व्यक्तिलाई विभिन्न स्थानमा घुमाउने, डुलाउने नाममा खुलेका ट्राभल एजेन्सी भनौं वा ट्रेकिङ एजेन्सीले आफ्नो कम्पनीबाट लैजान लागिएको स्थानको भौगोलिक अवस्था र मौसमको अनुकूलताका सन्दर्भमा सामान्य जानकारी दिए पनि मौसम प्रतिकुलताको अवस्थामा अति आवश्यक बन्दोबस्तीका सामग्री साथमा लैजानेबारे यथेष्ट जानकारी गराइनुपर्ने हो । तर, कैलाश दशनार्थीलाई त्यस्तो सन्दर्भमा केही जानकारी गराउने गरिएको पाइन्न । चाहे आफूलाई उच्च व्यावसायिक कम्पनी मान्नेहरू होउन् वा सामान्य ‘सिजनेवल’ कम्पनी नै चलाएर बसेकाहरू किन नहोउन् । केही एजेन्सी त त्यस्ता पनि फेला परे जसले आफ्नो सम्पर्कमा पुगेका दर्शनार्थीलाई उबाट असुलेको रकममध्ये आफ्नो कमिसन कटाएर अर्को एजेन्सीको जिम्मा लगाउने ।
तीर्थयात्रीबाट महँगो शुल्क असुल्ने केही एजेन्सीले सामान राख्ने ब्याग र फिर्ता गर्ने गरी चिसोमा लगाइने ‘डाउन ज्याकेट’ उपलब्ध गराउने गरेता पनि हिमपात भएको बेला वा पानी परेको अवस्थाका लागि बन्दोबस्तीका केही पनि समान उपलब्ध गराउने गरेको पाइएन । न त त्यस्तो अवस्था पनि आइपर्न सक्छ भन्ने जानकारी नै दिन्छन् । त्यस्तो अवस्था आइपरेमा चीनबाटै आएको सामान भएपनि काठमाडौंंको बजारमाभन्दा तीन गुणाबढी मूल्यमा स्वयम् दर्शनार्थीले नै खरिद गर्न बाध्य हुनुपर्छ ।
तीर्थयात्रीको सहयोगका लागि भनेर जाने सहयोगी ‘गाइड’को व्यवहार कतिपय अवस्थामा पाच्य हुन सक्दैन । अचानकको हिमपात वा वर्षात्का बेलामा पनि केहीबेर कुर्ने वा अलमल गर्ने सुविधासमेत ती सहयोगीले खोसिदिन्छन्, उनीहरूकै शैलीमा, तोकिएकै स्थानमा पुग्नै पर्ने हुकुम तीर्थयात्रीमाथि चलाउँछन् ती सहयोगी भनाउँदाहरू । थाकेर, हिँड्न नसकेर पछि परेको यात्रीलाई हिँड्न हौसला दिनु त परैको कुरा आफू नै अघि लाग्ने गर्छन्् । भन्छन्, ‘यती गरेन भने हिँड्नै खोज्दैनन् ।’
कैलाश परिक्रमाको सिजन, दर्शनार्थीको चेकजाँच
उच्च हिमाली भेग भएकाले हिउँ पर्नुअघि जुन, जुलाई, अगष्ट र सेप्टेम्बर (जेठ, असार, साउन, भदौ) लाई कैलाश परिक्रमाका लागि उचित समय मानिन्छ । चैत–वैशाख हावाहुरीको सिजन भएको र भदौ तेस्रो सातादेखि चिसो बढ्ने भएकाले त्यसबीचको अवधि कैलाश परिक्रमाका लागि उत्तम मानिएको हो ।
चार–पाँच वर्ष अघिसम्म भारतीय दर्शनार्थीको भीड लाग्ने कैलाश मानसरोवरमा हिजोआज ४० प्रतिशत स्थानीय तिब्बती, ३० प्रतिशत नेपाली, १५ प्रतिशत विभिन्न देशका राहदानी प्राप्त गरेका गैरभारतीय नागरिक (एनआरआई) र १५ प्रतिशत ट्रेकिङका लागि आउने विदेशी हुने गरेको बताइन्छ । तिब्बतबासी बौद्ध धर्मप्रति निकै आस्थावान् देखिन्छन् तर धेरैजसो चिनियाँ नागरिकको धर्मप्रति त्यत्ति चासो देखिँदैन ।
केही वर्षयता भारत–चीनबीच सीमाकै विषयलाई लिएर सम्बन्धमा चिसोपना आएपछि चिनले भारतीय नागरिकलाई तिब्बत अर्थात कैलाश मानसरोवरका लागि प्रवेशाज्ञामा रोक लगाएको छ । त्यसो त सीमानामा रहेका नेपालीलाई पनि निश्चित किलोमिटरभन्दा अघि बढ्न नदिने गरेको पाइयो ।
चीनको तिब्बत क्षेत्रमा पर्ने कैलाश मानसरोवरको दर्शन गर्न जाने तीर्थालुले व्यक्तिगत ‘भिसा’ पाउँदैनन् । उनीहरूले ‘ग्रुप भिसा’ लिनुपर्छ । ग्रुपमा कम्तीमा चारजना हुनैपर्ने नियम छ । ‘भिसा’ भएर पनि स्थानीय एजेन्ट अर्थात् गाइडबिना प्रवेश नपाइने । सीमानाकामा चेकजाँच विमानस्थलकै शैलीमा गरिन्छ । सो क्रममा जुनसुकै भाषामा लेखिएका पत्रपत्रिका, नक्सा, पुस्तकलगायतका जानकारीमूलक सामग्री बोर्डरमै राख्नुपर्ने हुन्छ । मोबाइल, ल्यापटपमा अनावश्यक, असामाजिक र सुरक्षाको दृष्टिकोणले उपयुक्त नदेखिएका तस्बिर राख्न नपाइने भनिन्छ । नाकाबाट इन्ट्री भएपछि पनि राजमार्गका ठाउँठाउँमा चेकपोस्ट, त्यहाँँ पनि ‘इन्ट्री परमिट’ देखाउनैपर्ने र गाईड साथमै हुनुपर्ने चिनियाँ नियम छ ।
कैलाश मानसरोवरको परिक्रमाका लागि १० देखि १२ दिनको समय छुट्याइन्छ । नेपाली दर्शनार्थीबाट एजेन्सीले एक लाख पचास हजारदेखि एक लाख ७० हजारसम्म असुल्ने गरेको पाइन्छ । त्यो पनि रसुवा नाकाबाट लैजाँदा । यात्रुको सुविधाका लागि नेपालगञ्जबाट सिमकोट जहाजमा, त्यहाँँबाट हिल्सा नाकासम्म हेलिकप्टर अनि त्यहाँँबाट सवारीसाधनमा लैजाने पनि केही एजेन्सीले व्यवस्था मिलाएका रहेछन् । यसका लागि प्रतिव्यक्ति दुई लाख ६० हजार असुल्दा रहेछन् । तर, ट्रेकिङमा आएका विदेशी नागरिक र दर्शनकै लागि जाने गैरभारतीयसँग भने एजेन्सीवालाले राम्रै मोलमोलाई गर्ने गरेको पाइयो ।
कैलाश परिक्रमा र भौगोलिक अवस्था
कैलाश मानसरोवर तीर्थयात्राका क्रममा चीनको तिब्बत क्षेत्र प्रवेश गर्ने नेपालका थुप्रै नाका छन् । त्यसमा प्रमुख रसुवाबाट केरुङ नाका हुँदै होस् वा बाह्रबिसेको खासा नाकाबाट अथवा मुस्ताङको कोरला नाकाबाटै किन नहोस्, त्यहाँबाट प्रवेश गरेपछि साघा सहर वरपरको राजमार्गमा जोडिन पुगिन्छ । सिमकोटको हिल्सा नाकाबाट प्रवेश गर्दा दार्चेन नजिकको हाइवेमा मिसिने रहेछ ।
त्यसो त विवादित लिम्पियाधुरा अर्थात लिपुलेकबाट पनि कैलाश मानसरोवर नजिकै पर्दो रहेछ । समुद्र सतहबाट झण्डै ४ हजार ५ सय ६० मिटर उचाइमा रहेको मानसरोवरमा स्नान अनि पूजामा सरिक भइसकेपछि सुरु हुन्छ कैलाश परिक्रमा यात्रा । भौगोलिकताको दृष्टिले उक्त उचाइ आमनेपालीका लागि अनुकूल नै मान्न त सकिन्न, तापनि सवारीसाधन चढेरै गइने हुँदा त्यहाँँसम्मको यात्रा खासै प्रतिकूल देखिन्न ।
कैलाश यात्राका लागि व्यक्तिको अक्सिजन लेभल ७५ भन्दा माथि नै हुनुपर्ने नियम छ । एजेन्सीद्वारा तीर्थालु टोलीसँगै डाक्टर पनि साथमै हुने बताइन्छ । तर, त्यहाँ अक्सिजन नाप्ने बाहेकको केही काम गरेको पाइएन भने न चिकित्सक नै साथमा हुन्छन् । कुनै तीर्थालुको स्वास्थ्य अवस्था बिग्रेको खण्डमा उपचारको सन्दर्भ त अलपत्र नै हो भन्दा फरक नपर्ला ।
यात्राका क्रममा दार्चेन (४६७० मिटर) उचाइसम्म खासै जानकारी गराईंदैन । ‘हाइ अल्टिच्यूड’ अर्थात लेक लाग्न सक्ने सम्भावनालाई ख्याल गर्दै साघा सहरमा १–२ दिन विश्राम गराइन्छ । खासगरी मानसरोवर पुगेपछि मात्रै स्वास्थ्य समस्याबारे ‘यसो र त्यसो’ भनेर त्रास देखाइदिँदा आफूसँगै गएका गाइडसँग विवाद गर्ने दर्शनार्थीको संख्या पनि कम हुँदैनन् । स्वास्थ्य समस्याका कारण त्यहाँँबाट अघि बढ्न नसक्ने अवस्था आइपरे पनि आफूले बुझाएको पैसा फिर्ता हुने भने होइन । बरु, उल्टै ती गाइडले माथि होटल बुक गरिएकाले त्यहाँँ बुझाएको पैसा फिर्ता नहुने जनाउँदै तल्लो भेगको होटलमा बसेको पैसा तिर्नुपर्ने भन्दै थप रकम असुलेको पनि देखियो ।
कैलाश परिक्रमा अन्तर्गतको तीनदिने पैदल यात्राको क्रम यमद्वारबाट सुरु हुन्छ । दार्चेनबाट यमद्वारसम्म सवारीसाधनमा पुगिन्छ । समुद्र सतहबाट यमद्वारको उचाइ ४८५० मिटर छ । ७–८ घण्टा लगाएर १५ किलोमिटरको पैदलयात्रा तय गरेपछि ५२ सय मिटर उचाइको दिरापुकमा पुगिन्छ । त्यस दिनको बास त्यही दिरापुकमा हुन्छ । यसबीचमा सात सात किलोमिटरमा एक एक ठाउँमा मात्रै ‘टि–सप’ अर्थात् खाजा खाने स्थान छ ।
उत्तरी मोहडाबाट कैलाशको भव्य दर्शन गर्न सकिने यो ठाउँसम्म स्वस्थ व्यक्तिले खासै समस्या भोग्नु पर्दैन । यद्यपि, हिँड्न नसक्नेहरू भने घोडा प्रयोग गर्छन् । यहाँसम्मको घोडा सवारीको झण्डै ३० हजार नेपाली रूपैयाँ बुझाउनुपर्छ । मालसामान ओसार्न त्यहाँको भरिया चौरीगाई मानिन्छ । कैलाशको नजिकबाट दर्शन गर्ने अभिलाषाले दर्शनार्थीहरू यहाँसम्म जसै पुग्न चाहन्छन् । यहाँबाट अघि बढ्न नसक्नेहरू एम्बुलेन्सबाट दार्चेन फिर्ता हुन सायद सःशुल्क व्यवस्था छ । यमद्वारबाट अघि बढेका तीर्थालुलाई सबैभन्दा समस्याको विषय शौचको हुने गरेको पाइयो । विश्वभर खुला दिशापिसाबमुक्त अभियान तीव्रताका साथ चलिरहेको अवस्थामा तीर्थालुहरू खुला शौच गर्न बाध्य हुन्छन् । यतिसम्मकी झण्डै २–३ सय यात्रु बास बस्ने क्षमता रहेको होटलमासमेत शौचालयको व्यवस्था देखिएन । यसतर्फ त्यहाँको प्रशासनको ध्यान नपुगेको हो वा हिन्दु–बौद्ध धर्मालम्बीप्रति गरिएको उपेक्षा हो ? बुझ्न सकिएन ।
कैलाश परिक्रमाका क्रममा सबैभन्दा कठिन र जटिल दोस्रो दिनको पदयात्रालाई मानिन्छ । दिरापुकबाट थालिने परिक्रमा पैदलयात्रा जुथुलपुक पुगेर रोकिन्छ । ५२ सय मिटर उचाइबाट सुरु हुने दोस्रो दिनको परिक्रमा यात्रा झण्डै ५६ सय ५० मिटर उचाइको डोल्माला पास हुँदै ११–१२ घण्टा लगाएर १८ किलोमिटरको उकाली ओराली यात्रा ४७ सय ६० मिटर उचाइको जुथुलपुकमा पुगेपछि रोकिन्छ । यसबीचमा पनि एक ठाउँमा मात्रै ‘टि–सप’अर्थात खाजा खाने ठाउँ भेटिन्छ ।
उक्त दिनको पदयात्रालाई ‘डेन्जर जोन’का रूपमा राखिएता पनि उद्धार एवम् आरामस्थलको अभाव उस्तै छ । घोडा सवारीले दिरापुकबाट डोल्मालासम्मको उकालो चढाएको त्यहाँ पनि ४० हजार नेपाली रूपैयाँ बराबर असुल्दा रहेछन् । आफ्नै शरीर भारी लाग्ने यो यात्राका क्रममा साथमा लगेको ५–७ केजीको झोला पनि आफूलाई घाँडो हुने, भरियालाई बोकाउँदा त्यही सानो झोलाको पनि १० देखि १२ हजार रुपैयाँ बराबरको चिनियाँ युआनको ‘डिमाण्ड’ गर्ने अवस्था देखयो ।
पहिलो दिन र दोस्रो दिनको पैदल परिक्रमाका दिन आफूलाई लैजाने एजेन्सीले दिएको ‘लञ्च प्याकेट’ सम्झँदा पनि जो कोहीलाई ‘कठै’ भनेजस्तो लाग्छ । ‘ब्रेकफास्ट’ र ‘डिनर’ पनि उस्तै । झन् हिँड्न शक्ति चाहिने बेलामा टिठलाग्दो खान्की ! पैसा तिरेर पनि ‘टि–सप’मा शाकाहारी खाना नपाइने ! खानाका सन्दर्भमा एजेन्सीले साथ लगाएर पठाएका गाइडसँग कुरा गर्दा उनीहरू होटल–रेस्टुरेन्टले नेपाली स्वादको खाना नदिने आफूहरूले खाना तयार गर्ने भाँडाकुडा बोकेर ल्याउन नसक्ने जवाफ दिएर पन्छिने गरेको पाइयो । हिमाल आरोहण गरेकै आभास दिलाउने दिरापुकबाट जुथुलपुक जाने पैदलमार्ग कस्तो होला ? त्यसमा पनि हिउँ परेको बेला, बाटो नदेख्दाको अवस्थामा त्यो यात्रा कसरी तय गरिएको होला ? अहिले सम्झँदा पनि आङ् सिरिङ्ग हुन्छ ।
हाम्रो टोली दिरापुकबाट जुथुलपुकतर्फको यात्रा सुरु गर्नुअघि नै हिउँ परिरहेको थियो । ‘यस्तोमा कसरी जान सकिन्छ ?’ भन्ने जिज्ञासामा गाइडको भनाइ गैरजिम्मेवार लाग्छ । ‘जसरी भए पनि जानै पर्छ । यहाँ हाम्रो लागि आज बस्ने व्यवस्था हुन सक्दैन । उता, जुथुलपुकमा पनि रुमको पैसा बुझाइसकेको हुन्छ ।’ गाइडको भनाइ सुन्दा पैसाकै लागि ज्यान जोखिममा राख भनेजस्तो लाग्यो ।
दिरापुकबाट बिहान झिसमिसेमा उकालो चढ्दै गर्दा पनि डोल्माला पास पुग्न निकै समय लाग्छ । उकालोमा कमिलाको ताँतीजस्तै एकपछि अर्को पाइला ! यात्राको क्रम जारी । हिउँले जताततै सेताम्मै । के–को बाटो देख्नु ? कहीँकतै त अनुमान लगाएर अगाडि चालेको पाइला हिउँमै भासिने । त्यो बेला कैलाश परिक्रमा गर्दैछौं भन्ने भुलेर हिमाल आरोहण पो गरिरहेछौं जस्तो भान पथ्र्यो ।
परिक्रमा यात्रा गरिरहेका केही पैदलयात्रीको रुवावासी, कोही चिप्लिएर उत्तानो परेका, कोही लतारिएर, धसारिएर हिउँसँगै हिलाम्मे छन् । कोही घाइते । कोही अघि बढ्न नसकेर आकुल–व्याकुल अवस्थामा । हिमपातकै अवस्थामा पनि कसैले साथमा लगेको अक्सिजन लिइरहेको अवस्था थियो । मुश्किलले चढेको उकालोपछि ओरालो झर्दा झनै खतरा मोल्नुपर्ने । दिरापुक र डोल्मालाको बीचमा रहेको एउटा ‘टि–सप’मा सामान्य वर्षादीको मूल्य २ सय युआन । जबकी त्यसको नेपालमा २ सय रूपैयाँ पनि पर्दैन । त्यहाँँका व्यापारी पनि मौकाकै फाइदा उठाउने खालका देखिए । जुथुलपुकमा देख्नमा आकर्षक विश्रामगृह अर्थात् होटल थियो । तर, त्यहाँँ पनि शौचालय थिएन । जसोतसो रात काटेर भोलिपल्ट झिसमिसेमै दार्चेनतर्फको यात्रा थालियो । झण्डै साढे दुई घण्टाको यात्रापछि दार्चेनमा खाना खाएर सवारीसाधनमा फर्किने मेसोतर्फ हामी लाग्यौं ।
र, अन्त्यमा हिन्दुलगायत धर्मावलम्बीले महान् एवम पवित्र ठान्ने तीर्थस्थलमा पुगेर पनि आफ्नो घरपरिवार, नातागोता, साथीभाइ, शुभेच्छुकलाई तीर्थस्थलको सम्झना स्वरूप उपहार वा चिनोका रूपमा किन्ने समान नपाउनु, त्यत्रो तीर्थस्थलमा शिवालय, मठमन्दिर कहीँकतै नहुनु, दैनिक हजारौं धार्मिक पर्यटकले पदयात्रा गर्ने पवित्र तीर्थस्थलप्रति चीन सरकारले उपेक्षा गरेजस्तो लाग्नुले भने मन केही खल्लो बनिरह्यो ।
कैलाशको यात्रा थाल्नुअघि भगवान शिवशंकरको बासस्थानमा जाने भइयो भनेर जुन उत्साह पालिन्छ, जुन व्यग्रता हुन्छ । कैलाश पुगेर फिर्ता आउँदासम्म उल्लेखित कारणबस् त्यो उत्साह, त्यो ब्यग्रता सबै शिथिल भइसक्छ । त्यसैले कसैको लहैलहैमा वा लहडमा होइन कि कैलाश यात्रा बुझेर मात्रै गरौं ।
काठमाडौं । आज बडादशैंको छैटौं दिन देवी कात्यायनीको पूजा आराधना...