२०८० फाल्गुन २१, सोमबार
March 4, 2024, Monday

जहाँ कमिसन त्यहाँ प्रधानमन्त्री ओलीको मन

रिता खनाल

गरिब भोकै छ, भोक भोकै मर्दैछ। सरकार जनताको अबिभावक होइन दुश्मन बन्दैछ। संकेत राम्रो छैन। यत्रो महामारी चलेको छ। संसार त्राहिमाम छ। ४० दिन भयो नेपाली घर भित्रै थुनिएको।  छिमेकी देश भारतले फेरि १५ दिनको लक डाउन थपेको छ। अहिलेसम्म बिश्वको तुलनामा यहाँ मानबिय क्षतिको अवस्था  देखिएको त छैन तथापि विभिन्न जिल्लामा संक्रमितहरुको संख्या बढदो छ। अझै पनि यस्ले कुनै पनि बेला महामारीको रुप लिनसक्ने सम्भावनालाई नकार्न सकिदैन। 

यस्तो विषम परिस्थितिमा देशभरिका सबै स्वास्थ केन्द्रहरुमा कम्तिमा स्वास्थ सामाग्री, उपकरणहरु र स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाइ चाहिने सुरक्षित पोशाक  र सेनीटाइजर पुराउनेसम्म पनि सरकारको गम्भीर ध्यानाकर्षण भएको छैन। नाकानाकामा अलपत्र परेका र खाडी देशहरुमा तिरस्कृत र अपमानित भइ रोजगारी गुमाएर आउने लाखौंलाख नेपालीको लागि कुनै ठोस दीर्घकालीन योजना  छैन। संसारका अति विकसित र बिकसित देशमा पुगेकाहरु पनि ठूलो लर्को फर्कन सक्ने सम्भावना त्यतिकै छ। 

दुखको बेला घर परिवारबाट टाढा भएकाहरुले बिदेशी बास कति कष्टकर हुनेरैछ महशुस गरेको छ। यो बेला त्यस्तो ठूलो जमात स्वदेश फर्कने प्रतीक्षामा अबश्य छ। यस अर्थमा बलियो पाखुरा भएकाहरु र सीप भएका दुबै थरी श्रम स्वदेश फर्कनेछ। यस्लाइ राष्ट्रको भार नभै अवसर र फाइदामा परिणत कसरी गर्ने भन्ने सोच र दृष्टीकोणमा लाग्नु पर्ने सरकार हतियार किन्ने निर्णय गर्न लागेको छ। 

यो हप्तौंको लकडाउनले देशको अर्थ ब्यबस्थामा परेको प्रभावले केके निम्त्याउने हो त्यो त भोग्न बाँकी नै छ। तत्काल पनि गरिब निमुखा बिपन्न र असंगठित क्षेत्रका श्रमिकहरुको चुल्हो बल्न छोडिसक्यो। १८ दिन देखि ४५ दिनका सुत्केरीले काँचो चामल पानी भिजाएर खाएको एक हप्ता हुन लाग्यो भनेको सुन्दा कस्को मन रोएको छैन। सरकारले दिएको १५ किलो चामल र ३ किलो दालले ४० दिन कस्को चुल्हो बल्छ? अझै कोहि भोकै बस्नु पर्दैन, कोहि भोकै मर्नु पर्दैन भनेर प्रधानमन्त्री सफेद झुटको अलाप रट्न छोडेका छैनन। 

सम्पूर्ण राज्यसत्ताको शक्ति र सम्पति लगाएर आफ्ना नागरिकको जीवन रक्षा गर्नुपर्ने बेलामा बालुवाटारको अति आलिशान र बिलाशी भवनमा बसेर आफ्नो कुर्सी जोगाउन हुने नहुने अत्यन्तै निम्नस्तरको खेलमा निर्लिप्त छन् प्रधानमन्त्री । सुखी नेपाली समृद्ध नेपाल, स्थिर सरकारको लोकप्रिय नारा दिएर प्रचण्ड  बहुमत प्राप्त प्रधानमन्त्री ओली सत्तासिन भएदेखिकै शृङ्खलाबद्ध भ्रष्टाचार हुनु र उनी त्यसको बचाउमा उत्रनु देशकै बिडम्बना हो। अनगिन्ती संवैंधानिक त्रुटिलगायत गैरजिम्मेवारीको पराकाष्ठा नाघिसकेको सरकार देशमा नागरिकलाई कोभिड १९ को भय देखाई घरघरमा थुनेर चरम सत्तालिप्सा देखाइरहेको छ।  संबैधानिक अस्थिरताको बिजारोपणदेखि सांसद किनबेच र अपहरण मात्र होइन आफ्नै सांसद धम्काएर हस्ताक्षर गराउनेसम्म्को हर्कतबाट कलंकित भएको छ। 

संसदीय जोडघटाउको राजनितीमा देशी बिदेशीहरुसँग लम्पसार परि उनीहरुकै आडभरोसा जतिदिन तपाईं सत्तामा टिकिरहनु होला तर त्यतिबेलासम्म तपाईंको असली अनुहार भने उदाङगो भइसकेको हुनेछ। मधेसी मूलका महोत्तरीका सांसद डा सुरेन्द्र यादवको किटानि जाहेरी स्वयम् पूर्ब प्रधानमन्त्री, उप प्रधानमन्त्री र मन्त्रीहरुको लर्को उजुरी गर्न जाँदा मुद्दा दर्ता समेत नगरेर कानुनी राज्यको उपहाससँगै बिशिष्टहरुको मानमर्दन मात्र होइन सिङ्गो मधेशी नागरिकलाई ठेस लगाउने प्रधानमन्त्री ओलीको स्वेच्छाचारी निरंकुश र अधिनायकवादी निर्णय  किमार्थ स्विकार्य छैन। 

यत्तिबेला कोरोना कहर भन्दा प्रधानमन्त्री ओलीको सत्ता आतंकको कहरबाट  आम नागरिक आजित भएका छन्। अझै पनि चेत नखुलेका प्रधानमन्त्री श्रमजीवीहरुलाई सम्बोधन गर्न मिडिया सामु प्रस्तुत हुँदा संचारकर्मी र संचारमाध्यमलाई अस्थिरता जड भएको आरोप लगाउँछन्। आफूले गरेको मनपरीको दोषारोपण मिडियालाई लगाएर प्रधानमन्त्रीले दिएको धम्कीको अभिव्यक्ती गर्नेलाई भन्दा देख्नेलाई लाज जस्तो भएको छ। 

राजनितीमा जेलनेल भोगेर आएको ब्यक्ति आज लोकतन्त्रको नाममा उपहास बनेकोछ। आज सम्मका सबै निरंकुशतालाई बिर्साउने प्रधानमन्त्री ओलीका हर्कतसँग हरतरहले लड्न जनता तयार छ। यो बेला प्रधानमन्त्री ओली भने नागरिकलाई सत्ताको बलमा प्रहरी र सेना लगाएर आफ्नो आयु लम्बाउने खेलमा लागेका छन्। हतियारले बिचार दबाउने कुत्सित योजनामा लागेका छन्। तर सचेत आम नागरिकको जवर्जस्ती हस्तक्षेपले उनको निरंकुशतालाई सजिलै स्विकार्ने अवस्था छैन। जुन तागतले ओली जहाँ पुगे त्यही शक्ति फेरि उनलाई मुसो बनाउन तम्तयार छ। जनताको करको पैसाले आफ्नो निरंकुशताको आयु लम्बाउने खेलमा लाग्नुभन्दा जनताको भोको पेट भर्ने चामल र उपचारको लागि औषधी पहिलो प्राथमकिता हो। तर फेरि पनि प्रधानमन्त्रीको प्राथमकिता धेरै कमिसन आउने हतियार खरिदमा परेको छ। 

मानिसहरु जहाँ कमिसन त्यहाँ प्रधानमन्त्रीको मन भनेर कुरा काट्न थालेका छन्। हामी नागरिक भएर पनि आफ्नो देशको प्रधानमन्त्रीको यस्तो वेइज्जत भएको सधै सुन्न नसक्ने भइसकेका छौं। वालुवाटारमा बसेर अझै पनि मिडियालाई गाली गर्नुभन्दा कसैले थाहा नपाउने गरि बाहिर आएर प्रधानमन्त्रीले आफ्नै बारेमा प्रतिक्रिया सुनेको दिन प्रधानमन्त्री आफैले पद त्याग्ने छन्। अझै पनि दिनदिनै वेइज्जत सहनु भन्दा राजिनामा दिएर आराम गर्नु नै प्रधानमन्त्रीको स्वास्थ्यको लागि हितकर छ।

Related News

औषधि व्यवसायी संघ डोटीको अध्यक्षमा चोपडा
औषधि व्यवसायी संघ डोटीको अध्यक्षमा चोपडा
  • २०७७ बैशाख २०

दिपायल – नेपाल औषधि व्यवसायी संघ डोटीको अध्यक्षमा हिक्मत सिंह...

TOP