२०८१ बैशाख ७, शुक्रबार
April 19, 2024, Friday

ओशोको नजरमा के हो प्रेम ?

घरमा मान्छेमात्र बस्छन्। संसारमा अरु कोही पनि जीव घरमा बस्दैनन्। त्यसैले त मान्छेको हालत हेर्नुस् त। घरमा बस्नेको अवस्था कस्तो छ? घर जति ठूलो हुँदै जान्छ। मान्छे उति नै सानो हुँदै जान्छ।

आजको दिनसम्म आइपुग्दा प्रेम वासनामा परिणत भइसकेको छ। प्रेम ! यो शब्द आउनासाथ महिला र पुरुषबीचको सम्बन्धका रुपमा मात्रै बुझ्ने स्थितिमा हामी पुगिसकेका छौं। यद्यपि प्रेमका धेरै रुप छन्। राधा र मीराको प्रेम त अमर छ नै, तर दशरथको प्रेमलाई हामी कसरी बिर्सिन सक्छौं? जसले रामको वियोगमा आफ्नो प्राणकै आहुति दिए। प्रेमको अर्थ दिनु हो, कसैलाई स्वार्थ वा अपेक्षासहित प्रेम गर्छौँ भने त्यो प्रेम होइन सम्झौता हो।

मैले सुनेको थिएँ, कुनै एक ठाउँमा धेरै पुरानो एक रुख थियो। त्यसका हाँगाहरु गगनचुम्बन गरेजसरी माथिमाथि र टाढाटाढासम्म फैलिएका थिए। त्यहाँ जब फूल फुल्थे, टाढाटाढाबाट पुतलीहरू रस चुस्न आउँथे। फल लाग्दा चराहरू आएर झुम्मिन्थे। त्यसको विशाल छाया, फैलिएका हाँगाले शितलता दिन्थ्यो, त्यो रुख निकै नै सुन्दर थियो।


एउटा सानो बालक दिनहुँ त्यहाँ खेल्न आउँथ्यो। रुख त्यो बच्चाको प्रेममा पर्‍यो। त्यो बच्चा सानो थियो, रुख भीमकाय ठूलो। तर ठूलालाई पनि सानासँग प्रेम हुनसक्छ, यदि उसलाई आफू ठूलो हुँ भन्ने थाहा छैन भने। रुखलाई आफू ठूलो हुँ भन्ने थाहा थिएन। रुख ठूलो छ भन्ने थाहा त केवल मान्छेहरूलाई थियो, रुखलाई थाहा थिएन। नत्र त अहंकारले सधैं आफूभन्दा ठूलालाई मात्र माया गर्न सक्छ, अहंकार सधैं ठूलाहरूसँग जोडिन्छ। प्रेमका लागि त ठूलो र सानो केही हुँदैन। जोडिन आउनेसँग सम्बन्ध स्थापित हुन्छ।

त्यो रुखको छेउमा सधैं खेल्न आइरहने बालकसँग रुख प्रेममा पर्‍यो। तर बालक त सानो थियो, रुखका हाँगा त ठूला र अग्लो स्थानमा थिए। तब रुखले आफ्ना हाँगाहरू तल भुइँसम्म झुकाउन थाल्यो, ताकि त्यो बालकले फल टिपेर खान सकोस्, फूल टिप्न सकोस्। प्रेम सधैं झुक्न तयार हुन्छ, अहंकार कहिल्यै झुक्न मान्दैन। अहंकारका नजिक जाने हो भने उसले हात माथि उठाउँछ, ऊ चाहन्छ आफूलाई छुन नसकियोस्। किनभने जसलाई छुन सकिन्छ त्यो सानो मान्छे हो। जसलाई छुन सकिन्न, टाढा सिंहासनमा शितलनिवासमा होस् (नयाँ दिल्ली) त्यो ठूलो मान्छे हो। रुखका हाँगा त झुकेर जान्थे, उसलाई त प्रेम थियो। बच्चा आउँथ्यो फूल टिप्थ्यो, फल खान्थ्यो। रमाउँथ्यो। त्यो देखेर रुखको आत्मा आनन्दले भरिन्थ्यो। प्रेम चाहन्छ कि ऊ केही दिन सकोस्, दिन सक्दा ऊ खुसी हुन्छ। अहंकार केही पाएपछि खुसी हुन्छ।

यसैगरी बच्चा हुर्किँदै गयो। कहिले रुखको छहारीमा सुत्थ्यो, कहिले त्यसको फल खान्थ्यो, कहिले फूलको मुकुट लगाएर आफूलाई राजा भएको स्वघोषणा गर्थ्यो। त्यो बच्चा वनको राजा थियो। जसमाथि मायाका फूल खस्छन् ऊ सम्राट बन्छ। र जहाँ अहंकारले घेर्छ त्यहाँ अन्धकार नै अन्धकार हुन्छ, मान्छे गरिब हुन्छ। जब बच्चा फूलको मुकुट लगाएर नाच्छ, रुख खुसी हुन्छ उसको आत्मा आनन्दले भरिन्छ। हावा सर्सराउँदा रुख गीत गाउन थाल्छ।


फेरि केटो अझै ठूलो भयो। जब त्यो केटो ठूलो हुँदै गयो उसको जीवनमा अन्य चिजले पनि प्रवेश पायो- अहंकार। उसलाई जित्नु थियो, साथीहरुलाई हराउनु थियो। ऊ महत्वाकांक्षामा तल्लीन भयो। रुखकहाँ कहिले आउँथ्यो त कहिले आउन छाड्यो। तर रुखको आत्माले त्यो रुखलाई बोलाइरह्यो- आऊ तिमी ममाथि खेल, मेरा फूलहरू चुम, मेरा फल खाऊ। मसँग खेल। त्यो रुख सधैं केटोको प्रतिक्षा गर्न थाल्यो। रुखको सिंगो आत्माले त्यो केटोलाई खोजिरह्यो।

प्रेम सधैं प्रतिक्षा गर्छ। त्यो केटो कहिले आउँछ कहिले आउँदैन। केटोलाई नदेखेपछि रुख उदास हुन्थ्यो। प्रेमको एउटै उदासी हुन्छ जब ऊ बाँड्न सक्दैन ऊ उदास हुन्छ। जब ऊ दिन सक्दैन तब ऊ दु:खी हुन्छ। प्रेमको एउटै आनन्द छ कि जब ऊ बाँड्न पाउँछ, लुटाउन पाउँछ, आनन्दित हुन्छ।

फेरि त्यो केटो अझै ठूलो भयो। त्यो रुखकहाँ आउन उसले अझै कम गर्‍यो। महत्वाकांक्षाको दुनियाँमा मान्छे जति ठूलो हुँदै जान्छ, प्रेमबाट ऊ त्यति नै टाढा हुँदै जान्छ। त्यो केटोको महत्वाकांक्षा अझै बढ्दै गयो। त्यो केटो रुखकहाँ जान ठप्पै गर्‍यो।


एकदिन त्यही रुखको नजिकको बाटो भएर केटो गइरहेको थियो, रुखले भन्यो- सुन तिमी त आउँदैनौ, तर म प्रतिक्षा गरिरहेकी हुन्छु। तिमीलाई पर्खिरहन्छु, पर्खिरहन्छु, पर्खिरहन्छु।

त्यो केटोले भन्यो- के छ तिमीसँग त्यस्तो? म तिमीकहाँ किन आऊँ? मलाई त रुपैयाँ चाहिएको छ। धनदौलत चाहिएको छ। तिमीसँग के छ? किन आऊँ?

अहंकार सधैं यही माग गर्छ– तिमीसँग के छ? केही छ त आऊँ। छैन त किन आऊँ? जब केही छैन त आउन जरुरी नै छैन। अहंकारको एक उद्देश्य हुन्छ, उद्देश्य पूरा हुन्छ त आउँछु, हुँदैन आउँदिन। प्रेम उद्देश्यहीन छ, प्रेमको कुनै गन्तव्य हुँदैन। प्रेम आफैंमा एक गन्तव्य हो। रुख छक्क पर्‍यो र भन्यो- म तिमीलाई केही दिनसक्छु भने तिमी आउँछौ? म तिमीलाई सबै कुरा दिनसक्छु किनकी प्रेमले केही पनि रोक्न चाहन्न। जसले रोक्छ त्यो प्रेम होइन। अहंकार रोकिन्छ। प्रेम निशर्त दिइरहन्छ। रुखले भन्यो- तर मसँग पैसा छैन। पैसा त मान्छेको आविष्कार मात्र हो, मलाई त्यो रोग लागेन। त्यसैले त हामी यति खुसी छौं। यति धेरै फूल फुल्छन् हाम्रो जीवनमा, यी फल, यी छहारी, हामी आकाश छुनेगरी नाच्न सक्छौँ, धेरै गीत गाउन सक्छौँ। जब हामीसँग पनि पैसा हुन्छ, त्यो दिन हामी पनि गरिब जस्तै मन्दिरमा बसेर शान्ति कसरी खोज्ने, माया कसरी खोज्ने भन्ने प्रवचन सुन्न थाल्छौँ। तिमीले चाहेको पैसा त मसँग छैन।

केटोले भन्यो- त्यसो भए म तिमीकहाँ किन आउनु? जहाँ पैसा छ त्यही जानुपर्छ। मलाई पैसा चाहिन्छ।

अहंकार पैसा माग्छ। किनकी पैसा शक्ति हो। अहंकारले शक्ति माग्छ।

त्यो रुखले धेरै सोच्यो र भन्यो- त्यसो भए एउटा काम गर, मेरा सबै फलफूल टिपेर बेच, सायद त्यसबाट तिमीलाई पैसा आउनेछ।

अनि केटो रुख भए ठाउँ गयो। सबै फल टिप्यो। कोपिला पनि निमोठ्यो, हाँगा पनि झरे, पात पनि खसे। तर पनि त्यो रुख धेरै खुसी भयो। प्रेम टुटेपछि पनि खुसी हुन्छ। अहंकार पाएर पनि खुसी हुन सक्दैन। पाएर पनि दु:खी नै हुन्छ। अनि त्यो केटो गयो। उसले कृतज्ञता पनि प्रकट गरेन। तर यो कुरा रुखलाई थाहा थिएन। उसले त आफूलाई त्यो केटालाई समर्पित गरेको थियो। केटोले फल लगेर बजारमा बेच्यो। अनि धेरै दिनसम्म आएन। उसँग पैसा थियो। पैसाबाट पैसा कमाउन खोजिरहेको थियो। अहंकारले प्रेम पनि बिर्सिन्छ। उसले रुखलाई बिर्सियो। वर्षौं बित्यो। रुख उदास छ। जीवनमा रस छ त प्रेमी आउँछन् रस लिन्छन्, अब त रुख निरस छ। यसरी रुख पीडित हुन थाल्यो।

धेरै दिनपछि केटो त्यहाँ आयो। रुखले भन्यो- आऊ मकहाँ आऊ। मेरो अँगालोमा आऊ। म तिमीलाई प्रेम गर्छु।

अब त्यो केटो तन्नेरी भइसकेको थियो। उसले भन्यो- यस्तो बकवास छोड, ती सब केटाकेटी हुँदाका कुरा हुन्। पागलपन नदेखाउ।

अहंकारले प्रेमलाई पागलपन सम्झन्छ। केटाकेटीका कुरा सम्झन्छ।

रुखले भन्यो- आऊ, मेरा हाँगामा झुल, नाच।

केटोले भन्यो- यी बेकारका कुरा छोड। म घर बनाउन चाहन्छु। के तिमी मलाई घर बनाउन सहयो गर्न सक्छौ?

रुखले भन्यो- घर ? हामी त घरबिना बस्छौँ।

घरमा मान्छे मात्र बस्छन्। संसारमा अरु कोही पनि जीव घरमा बस्दैनन्। त्यसैले त मान्छेको हालत हेर्नुस् त। घरमा बस्नेको अवस्था कस्तो छ? घर जति ठूलो हुँदै जान्छ। मान्छे उति नै सानो हुँदै जान्छ।

रुखले भन्यो- तर एउटा कुरा हुनसक्छ। तिमी मेरा हाँगा काटेर लैजाऊ र घर बनाउ।

त्यो केटो बन्चरो लिएर आयो र हाँगाहरू काट्यो। रुख नांगो र ठुटो भयो। तर रुख धेरै खुसी भयो। हातखुट्टा काटिए पनि प्रेम सधैँ सुखमय हुन्छ। जब कसैले आफूबाट लिन्छ, कसैसँग आफू बाँडिन्छ, कसैको साझेदार बन्छ।

केटोले पछाडि फर्किएर हेरेन किनभने त्यहाँ पात थिएनन्, हाँगा थिएनन्। अब त हावा आउँथ्यो, रुख बोल्न पनि सक्थेन। बोलाउन पनि सक्थेन। तर रुखको आत्माले पुकारिरहन्थ्यो- आऊ, मलाई अँगाल।

धेरै दिन बित्यो। अब त्यो हिजोको बालक बूढो भइसकेको थियो। एकदिन त्यो बूढो मान्छे रुखको छेउ आयो।

रुखले भन्यो- धेरैदिन पछि आयौ, म तिम्रो लागि के गर्न सक्छु?

बुढोले भन्यो- म पैसा कमाउन टाढा जान चाहन्छु। मलाई एउटा डुंगा चाहिएको छ।

रुखले भन्यो- त्यसो भए मलाई काट। मेरो यो थुप्रोबाट डुंगा बन्छ। म तिम्रो डुंगा बनेर तिमीलाई टाढाटाढासम्म यात्रा गराउँदा धन्य हुनेछु। तर तिमी चाँडै फर्केर आउ। सुरक्षित रुपमा फर्केर आऊ। म तिमीलाई पर्खिरहनेछु।

त्यो बूढोले आराले रुख काट्यो। त्यसपछि त्यो रुख सानो ठूटो भएर रह्यो। त्यो ठूटोले पर्खिरह्यो- एकदिन ऊ फर्किआउनेछ।

दिनहरू बितिरहे। ऊ आएन।

एकदिन केही बटुवा त्यो ठुटोनजिक आए। ठुटोले सोध्यो- अब म मृत्युको नजिक छु, मेरो साथी दूर देश गएको छ। अब मसँग दिन केही छैन। त्यसैले सायद ऊ फर्किनेछैन। तर म उसको खबरमात्र चाहन्छु, कसैले मलाई यति भनिदेऊ कि ऊ सकुशल छ, खुसी छ।

अहंकारले लिने भाषा बुझ्छ। प्रेम दिने भाषा हो। योभन्दा बढी म केही भन्दिनँ। यदि जीवन एउटा रुख हो भने त्यसका हाँगा अनन्तसम्म फैलिँदा, सबै त्यसको छायामा अटाउन सकुन्, त्यसका पाखुराहरू सबैसम्म फैलिन सकुन्। तब मात्रै बुझिन्छ कि प्रेम के हो?

(ओशोको ‘सम्भोगदेखि समाधि’ पुस्तकबाट)

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७९ फाल्गुन २

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP