२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday
प्रधानमन्त्रीलाई कोरोनाका कारण परिवारका दुई सदस्य गुमाएका कोरोनापीडित पत्रकारको प्रश्न :

प्रधानमन्त्रीज्यू, यो चित्कार र शोकका बीच पनि तपाईँलाई निद्रा लाग्छ है !?

टिपी भुसाल

म्माननीय प्रधानमन्त्रीज्यू,
नमस्कार !
म यतिबेला कोरोना भाइरस (कोभिड १९) पोजेटिभ संक्रमण भएर १५ दिन देखि होम आइसोलेशनमा (काठमाण्डौं) मै छु । यो १५ दिन बीचको समय म र मेरो परिवारले जीवनमा शायदै कहिल्यै बिर्सन नसकिने कहाली लाग्दो बज्रपातको सामाना गर्नु प¥यो । किनकि, कोभिडको कारण चार दिन अघि मैले बुटबलमा मेरो सहोदर दाजु गुमाए अनि १५ दिनअघि काकी गुमाए । मेरो परिवार यतिबेला शोकमा छ र परिवारमा थप बज्रपात नआओस् भन्ने भगवानसँग प्राथना गरेर बसेका छौं हामी । (किनकी हामीलाई भगवानप्रति विश्वास लाग्छ । तपाईँजस्तो अरु बेला धर्मलाई अफिम मान्ने र ईश्वर हुँदैनन् भन्ने तर, राजनीतिक अभिष्ट पूरा गर्न राम हनुमान सब खडा गर्ने खालको हाम्रो परिवार परेन… ) किनभने, मसँगै मेरो परिवारमा श्रीमान (मेरा दाजु) गुमाएकी मेरी भाउजु कोभिड पोजेटिभसँगै निमोनियाले पनि ग्रस्त हुनुहुन्छ भने सुगरको बिरामी मेरो काका, केही समयअघि पित्तथैलीको अप्रेशन गरेको हुनुहुन्छ । काकाको छोरा, बुहारी र उनका साना दुई छोराछोरी मात्र होइन मेरो आफ्नै भिनाजु र बहिनी ज्वाइँ पनि काभिड पोजेटिभ भएर बसेका छन् । काकाको रोगको प्रकृतिले कतिबेला के हुन्छ भन्ने अवस्थामा हुनुहुन्छ । यो परिस्थतीमा हामी काजकिरिया पनि गर्न नसक्ने विवशताकासाथ बस्न बाध्य छौं । हामी परिवारका सदस्य एक ठाउंमा बसेर दुःख साट्ने अवस्थामा पनि छैनौं । छौं त केवल परिवारमा अरु भवितव्य नआओेस् भन्ने कामनामा छौं ।

सम्माननीय प्रधानमन्त्रीज्यू,
कोभिडले पुत्र वियोगमा रहेकी मेरी एकल बृद्ध आमा जो उच्च रक्तचाप र बाथको समेत रोगी हुनुहुन्छ; अझै सम्हालिन सक्नुभएको छैन । पतिको मृत्युको खबरले पिडामा रहेकी मेरी भाउजु कोभिड निमोनियाको संक्रमण मात्र होइन मानसिक रुपमासमेत विक्षिप्त अवस्थामा हुनुहुन्छ । भाइको मृत्युको खबरले चक्कर आएर ढलेकी मेरी दिदी र दाजुको मृत्युको खबरले बेहास मेरी बहिनी अहिले बल्ल होसमा आएका छन् । दाजुको मृत्यु हुँदा ब्रतबन्ध पनि नगरेको मेरो भतिजालाई संस्कार चलाउन भन्दै जनै लगाइदिन छिमेकीले मन्दिरमा लैजादै गर्दा बाबा नभई दाइलाई किन जनै लगाउन मन्दिर लैजान लागेको भनेर प्रश्न गर्ने मेरी अबोध भतिजीलाई दिने जवाफ मसँग छैन । कोभिडले बाबा गुमाएको र आमा फेरि संक्रमित हुँदा अब के हुने होला भन्ने मानसिक तनाबमा टोलाएर बसेको मेरो भतिजोलाई सान्त्वना दिन मसँग कुनै शब्द छैन । मेरो दाजु बित्दा मेरी आमा, म र मेरो मेरी श्रीमतीको रोदन सुनेकी मेरी सानी छोरी आफ्नो बाबालाई पनि केही हुने हो कि भनी पटक पटक म सुतेको कोठाको ढोकामा आएर चिहाउँदा म केवल उसलाई म ठिक छु, अब हामीलाई केही हँुदैन छोरी भनेर पिडा भित्रबाटै हाँसे जस्तो गरी नक्कली हाँसो हासेर, आँखा भरी आँशु लिएर ढोका छेउ आउने आमा र श्रीमतीलाई पनि आफू ठीक हुँदै गएको बताएर अनि भाउजु र ती छोराछोरीलाई सबैका लागि म छु नि भनेर सान्त्वना दिएको छु । तर, जब हिम्मत निकालेर यति कुरा गर्छु अनि मन थामिँदैन एक्लै ढोका थुनेर रुने गरेको छु । यस्तो अवस्थामा मान्छेको मनमा कति पिडा हुन्छ शायद त्यो शब्दमा बयान गर्न सकिँदैन । म अहिले जुन खालको मानसिक अन्र्तद्वन्द्व र पिडामा छु , यो बेला परिवारको सदस्य गुमाउने अन्य आम नेपालीको पनि मनोदशा योभन्दा फरक पक्कै छैन । गत वर्षदेखि आजको दिनसम्म कोभिडको कारणले ज्यान गुमाउनेको संख्या मेरो परिवारका दुई जना जोड्दा जम्मा ५ हजार ४११ पुगेको छ । यस्तै मेरो परिवारका ६ जनासहित ४ लाख ७२ हजार ३५४ जना संक्रमित भएका छन् । यद्यपि, यो बीचमा ३ लाख ५२ हजार ४१४ जनाले कोरोनालाई जितेर घर फर्किका छन् । हुन त यो मृत्यु र संक्रमितको आंकडाले तपाईं, तपाईंको सरकार वा तपाईंका मन्त्रिहरुलाई केही फरक पार्छ जस्तो लाग्दैन किनकि, यो तपाईंका लागि फगत अंक वा आंकडामात्र हो । तर हाम्रा लागि वा म जस्तै आफ्नो परिवारका सदस्य गुमाउनेका लागि सर्वस्व हो ।

स्वास्थ्य मन्त्रालयले जेठ ४ गते मात्र कोभिडको तेस्रो भरियन्ट पत्ता लागेको र यो भेरियन्ट पहिलो र दोस्रोभन्दा झन् खतरनाक हुन्छ भनेर सूचना जारी गरेको छ । यसअघि पहिलो वेभ आउँदा पनि विज्ञले दोस्रो वेभ पहिलो वेभभन्दा खतरनाक भएर आउँछ भनेर सरकारलाई सूचना नदिएका होइनन् । तर, विज्ञहरूको सुझाव तपाईंका लागि एक कानले सुन्ने अर्को कानले उडाउने मात्र गर्नुभएन हाच्छिँउ साच्छिँउ गरेर कोराना उडाउने, भगाउने, हिमालबाट ठोक्किएर आएको हावा खाएकोले नेपालीको इम्युनो सिस्टम बलियो भएकोदेखि…. बोसिय र फ्याटिय तत्ववाला हावादारी कुरा गरेर सम्भावित जोखिममा राज्यले गर्नुपर्ने कुनै तयारी गर्नु भएन । संसदमा कोभिडविरुद्ध राज्य संयन्त्रले काम नगरेको र यो अवस्थामा संवेदनशील नभए यसले ठूलो क्षति ब्यहोर्नु पर्छ भन्ने सांसदहरुलाई खिसिट्युरीमात्र गर्नु भएन उहाँहरूको तेजाबध गर्नुभयो । मैले जे भने त्यही ठीक भन्ने हठ, अहंकार र उखान टुक्कामा रमाउनु भो । त्यतिमात्र होइन पार्टीको आन्तरिक मामलामा आन्तरिक झगडामा जनतालाई पार्टी प्यालसमा मासुभात र दुई चारसय भत्ता दिएर काठमाडौं उतार्नु भो, चोक चोकमा जुलुश निकाल्नु भो, जुलुश हेर्न आउन आफनै पार्टी भित्रका विरोधीलाई ललकार्नु भो, ठोरीका राम र हनुमानको नाममा भिड उतार्नु भो, सम्पन्न नै नभएका आयोजनाहरूमा आफ्नो नाम ताम्रपत्रमा लेखाउने सस्तो लोकप्रियताको लागि भिड जम्मा गरेर तमासा देखाउनु भो अर्थात कोभिड फैलिनका लागि जे गर्नु पथ्र्यो त्यो सब तपाईंले आफैले गर्नुभयो । जनतालाई भने २५ जनाभन्दा बढी भेला नहुन फमार्न जारी गर्नुभो । तर, कोभिडको सन्निकट जोखिमका बारेमा तपाईं पूरै बेखबर मात्र होइन यति गैरजिम्मेवार बन्नु भो कि त्यसको परिणाम अहिले आएर जनताले भोग्दैछन् । तपाईंमात्र होइन तपाईँका सारथीका रुपमा रहेका सिंगो मन्त्रिमण्डलका सदस्य केवल तपाईँको चटके प्रहसनमा ताली ठोक्ने रमितेभन्दा माथि कहिल्यै देखिएनन् । बरु सत्ताको चास्निमा रमाउँदै आफनो विवेक बन्धकी राखेर तपाईंको चटकीका फड्के किनारका साक्षी बसे । हिटलरका प्रपोगण्डा मन्त्रीले जस्तै एउटा झुटलाई सयपटक दोहो¥याउँदा त्यसलाई पनि सत्य झै जनतामा भ्रम सिर्जना गर्न सकिन्छ भने झैँ तपाईंका मन्त्री, सल्लाहकार ढोके बैठके सबै प्रपोगण्डामा नै लागे र अहिले पनि निरन्तर त्यही काममा लागेका छन्, जसलाई सधैं तपाईंले थपथप्याउनु भएको छ । आशीर्वाद दिनुभएको छ । यो श्रृंखला केही अपवादलाई छोडी प्रदेश र स्थानीय तहमा पनि उही छ । किनकि, स्कुलिङ एउटै छ । तपाईंजस्तो सबै कुरामा ज्ञान राख्ने मानिसलाई जानकारी नै छैन भनेर म कसरी पत्याउ ? तर देशको यथार्थ “आँखो देखा हाल” के छ त्यसको परीक्षणमा तपाईँ कहिल्यै लाग्नुभएन ।

दार्शनिक सुकरातको एउटा महत्वपूर्ण भनाइ छ “मलाई एउटा कुरा मात्र थाहा छ, र त्यो के भने मलाई केही पनि थाहा छैन” तर त्यसको ठीक उल्टो तपाईं यस्तो महान दार्शनिक हुनुभयो कि तपाईंलाई थाहा नभएको त कुनै कुरा नै रहेन । तपाईं विश्व बह्माण्डको सर्वज्ञाता कहलाउँदै ठाउँ कुठाउँ प्रवचन र प्रहसन गर्दै हिडनु भो । जसको मूल्य हामी जस्ता निहत्था जनताले भोग्नु परेको छ तर तपाईंलाई जनताको यो चिच्याहटको कुनै मतलव छैन । हँुदो हो त यो अहिले आम नेपालीले जुन पिडा भोगिरहेका छन, शायद त्यो भोग्नु पर्दैनथ्यो ।

सम्माननीय प्रधानमन्त्रीज्यू,
जतिबेला विश्वमा कोभिडले हाहाकार मच्चाएको थियो त्यो बेला विश्व समुदाय पनि उचित तयारीको अवस्थामा थिएन यद्यपि, हामी त्यो समय सामान्य अवस्थामा नै थियौं । पछि पनि हामीसँग पूर्वाधार विकास, जनशक्ति व्यवस्थापन खोपको व्यवस्था र अन्य स्वास्थ्य सुरक्षा मापदण्डका बारेमा काम गर्ने पर्याप्त समय थियो । तर, तपाईंको अहम, अहंकार र अजासु प्रवृति र चुट्किला मै रमाउने गर्नाले नेपालले यो क्षति भोग्नु पयो । यति हँुदा पनि तपाईंको चेत अझै खुलेजस्तो लाग्दैन । अहिले पनि तपाईं हावामै हुनुहुन्छ, तपाईंका मन्त्रीहरु हावामै छन् भने राज्यलाई सही सूचना दिनुपर्ने कर्मचारीतन्त्रले दिएको गलत सूचना बोकेर सब ठीक छ भन्दै हिड्नुभएको छ । यहाँ पनि गर्न सक्ने इमान्दार कर्मचारी जिम्मेवारीबाट बाहिर छन् केही लम्पट स्वार्थी र चाप्लुसी गरेर आफ्नो दुनो सोझ्याउने तपाईंका केही आसेपासे कर्मचारीले गलत सूचना प्रवाह गरिरहेका छन् । जसको पछिल्लो उदाहरण काडमाडौंका अस्पतालमा बेडको अभाव छैन भनेर र दिइएको सूचना नै काफी छ । समय निकालेर दुई चार अस्पताल पुगेर हेर्ने कष्ट गर्नुस् त यर्थाथ के हो सामने आइहाल्छ । तर तपाईंलाई फुर्सद छैन किनकि तपाईं “समृद्ध नेपाल सुखी नेपाली”को महान् अभियानमा हुनुहुन्छ । दुई चार हजार नेपालीको ज्यान जादैँमा यो महान अभियान रोक्न पनि मिल्दैन । किनकि, पार्टी–पौवा, खोला–नाला, धरहरा, मनोरञ्जन घर सबैतिर ताम्रपत्रमा शिलान्यास र उद्घाटनमा तपाईंकै नाम लेखाउनु छ । भोलिका सन्ततीले यस्तो सोचोस् आहा ! विकास निर्माणको साँचो स्वर्णयुग त प्रधानमन्त्री ओलीकै पालामा आएको रहेछ । तपाईंलाई लाग्दो हो यी मृत्युका चित्कार सुनाउने र केही भएन भन्नेहरू तपाईंको विकास र समृद्धिका विरोधी हुन्, लोकतन्त्र र गणतन्त्रका विरोधी हुन् अझै तपाईंको समावजादको अभियानका विरोधी हुन् । तपाईंलाई लाग्दो हो सब ठीकठाक त छ । विकास निर्माणका काम भएकै छन् । धरहरा, सम्मेलन केन्द्र उद्घाटन गरेकै छु । राम, हनुमानका प्रतिमा स्थापना गराएकै छु । अस्पतालमा बेडको पर्याप्तता छैन भन्नेहरू सरकारलाई बदनाम बनाउन लागि पर्नेहरु हुन् । तर प्रधानमन्त्रीजयू, अवस्था विल्कुलै फरक छ । तपाईंले भने जस्तै अस्पतालमा सहज बेड, अक्सिजन वा आइसियूको व्यवस्था हुँदो हो मेरी काकीले ज्यान गुमाउनुपर्ने थिएन । जुन दिन बुटबलमा अक्सिजनको अभावमा आइसियूमा रहेका ११–१२ जनाको ज्यान गयो त्यसै दिन बुटबलमै बेड र अक्सिजन नपाएर मेरो दाजुलाई बल्ल बल्ल तौलिहवा लगेर खटियामा राखेर अक्सिजन दिएर उपचार गराउँदै थियौं । तर त्यहाँ पनि अक्सिजन सकिएपछि फेरि अर्को दिन बुटबल ल्यायौं । तर अस्पतालमा बेड, अक्सिजन,आइसियू र भेन्टिलेटर सबै विरामी आफैले खोज्नुपर्ने अवस्थाका बीच तीन तहको सरकारको उपस्थिति कहीँकतै अनुभूति भएन र आइसियूको खोजी गर्दा गर्दै मेरो दाजुले पनि प्राण त्याग गर्नुभयो । के जनताको करबाट गाडी चढ्न तलव भत्ता खानेहरु यत्तिसम्म गैरजिम्मेवार बन्न मिल्छ ? अस्पतालहरूमा अक्सिजन नहँुदा निजी क्षेत्रले चन्दा उठाएर अक्सिजन प्लान्ट जोड्दैछन् । प्लान्ट जोड्नका लागि ओमान, दुवई र कतारजस्तो ठाउँमा सस्तो श्रम गर्न जान बाध्य नेपालीले गास काटेर रकम अनि सिलिण्डर पठाएका छन् । जुन नेपालीहरु तपाईं र तपाईंजस्ता नेताहरूले देशमा बस्ने वातावारण बनाउन नसक्दा विदेशिन बाध्य भएका थिए । अनि तपाईंहरू भोटको राजनीतिले झसङ्ग हुनु भो र हतार हतार मन्त्रिपरिषद् बैठक बसेर फलाना अस्पताललाई अक्सिजन प्लान्ट राख्न यति रकम छुट्याइको भन्दै फेरि प्रचारमा लाग्नुभयो । खाडीबाट सिलिण्डर जोहो नहुँदासम्म निजी क्षेत्र यो प्रयासमा जुटुनुअघि नै सरकारले यो निर्णय किन गर्न सकेन जवाफ छ प्रधानमन्त्रीज्यू ?

तपाईंले दुईपटक मिर्गाैला प्रत्यारोपण गर्दा होस या पटकपटक विदेशका महँगा अस्पतालमा उपचार गर्दा होस् (केही व्यापारीले स्पोन्सर गरे )बाहेक नेपाली जनताले तिरेको कर खर्च भएको छ । तपाईंलाई बाँच्न रहर लाग्दा असंवैधानिक ढंगलेसमेत मिर्गौला प्रत्यारोपण गर्नुभो । तपाईंले जस्तो अरुले आफ्नो नातो साइनो नै नभएको मान्छेको मिर्गाैला लिएर प्रत्यारोपण गरे उ त जेल जानुपर्छ । किनकि, कानून हामी जस्ता निमुखा जनतालाई लाग्छ न कि तपाईंहरुलाई । यसो भन्दैगर्दा यो सम्पूर्ण अव्यवस्थाको जिम्मेवार तपाईंमात्र पनि होइन विगतका सरकार र नेताहरू पनि त्यत्तिकै जिम्मेवार छन् । तर, अहिले तपाईं देशको मुखिया भएकोले अरुलाई दोष दिएर पानीमाथिको ओभानो बन्न त पक्कै मिल्दैन होला । चाह्यो भने तत्काल पनि केही गर्न सकिन्छ भन्ने कुरा छिमेकी देश भारतको दिल्लीका मुख्यमन्त्री केजरीवाललाई हेरे पुग्छ टाढा जानु पर्दैन । कोभिडको उद्गम चीनले गरेको व्यवस्थापनको कुरा र अन्य देशले विगतमा गरेको तयारीको त कुरै छोडौं । जतिबेला तपाईं पूर्णरुपमा तयार नै नभएको गोदावरीको सम्मेलन केन्द्र उद्घाटन गरेर आफ्नो नाम टाँस्न लगाउँदै हुनुहुन्थ्यो त्यतीबेला केजरीवालले रामलीला मैदानमा ५०० शैयाको आइसियू उद्घाटन गर्दै थिए । हाम्रोमा मैदान पनि चाहिँदैन थियो अलिकति इच्छाशक्ति र पहलमात्र भएको भए वीर अस्पतालको नव निर्मित भवनमा ५०० वेड क्षमतामै आइसियू सञ्चालन गर्न सकिन्थ्यो । देशका अन्य ठाउँमा पनि सय पचास बेड त सञ्चालन हुन सक्थे होला । यो मैले भनेको नभई स्वयं चिकित्कसले नै भन्दै आएका थिए र छन् । तर दुर्भाग्य, तपाईंको प्राथमिकता जनता बचाउने अस्पताल, बेड, अक्सिजन प्लान्ट वा आइसियू र भेन्टिलेटर नभई धरहरा र सम्मेलन केन्द्र रह्यो । यसको अर्थ विकास निर्माण हुनु हुँदैन भन्ने कदापी होइन । तर, हरेक चीजको पनि त समय हुन्छ होला नि हाएन र ? मर्ने त मरे फर्काएर ल्याउन सकिंदैन तर योभन्दा नराम्रो हुन नदिने प्रयास गर्न तपाईंलाई के ले छेक्यो प्रधानमन्त्रीज्यू ? अहिले त विश्व बजारमा कोभिड उपचार तथा नियन्त्रणका लागि आवश्यक सबै सामग्रीहरू खोपहरू उपलब्ध छन् । तर, त्यसको व्यवस्थापन होइन कि देशमा मृत्युको आंकडा बढ्दै गर्दा आफूलाई अब्बल देखाउन अन्तरराष्ट्रिय सञ्चारमाध्यममा नेपालमा कोभिड नियन्त्रणमै रहेको भ्रमपूर्ण अभिव्यक्तिसमेत दिनुभयो । आचार्य चाणक्यको भनाइ छ “गुणों से मानवता की पहचान होती है उचें सिंहासन पर बैठने से नही, महल के उच्च शिखर पर बैठने के बाबजुद कौवेका गरुड होना असम्भव है ।” के तपाईंलाई लाग्छ यो विषम परिस्थितिमा प्रधानमन्त्रीका रूपमा तपाईंले वा तपाईंको सरकारले मैले देश र जनताको लागि साच्चीकै सही भूमिका निर्वाह गर्नु भएको वा गर्नुभएकोे छ ? यस बारेमा कहिले आफैंलाई प्रश्न गर्नु भएको छ ? शायद छैन र त्यो आवश्यकता पनि ठान्नुभएको पनि छैन । अन्य धरै देशका नागरिक खोप लगाउँदै गर्दा हाम्रो देशमा कमिशनको खेलमा खोप आउन नदिने ,कमिशनकै खेलमा देशभित्रै खोपको क्लिनकल ट्रायल हुन नदिने तपाईंहरूका लागि अझै कति नेपाली मरिदिन पर्ने हो ? जनता बाँचे न राजनीति गर्ने होला ? पहिले जनता बचाउँ त्यसपछि राजनीति तिर लाग्नु होला । यो चित्कार मेरो मात्र होइन मजस्ता हजारौं लाखौं निमुखा नेपाली जनताको को हो । अन्तमा एक (अ)नागरिकका रूपमा तपाईंलाई एउटा प्रश्न गर्न मन छ प्रधानमन्त्रीज्यू, अस्पताल र घाटहरूमा देखिने यो चित्कार, सन्नाटा र शोकका बीच पनि तपाईंलाई निद्रा लाग्छ है !?

(भुसाल नेपाली रेडियो नेटवर्कमा कार्यरत सञ्चारकर्मी हुनुहुन्छ ।)

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७८ जेष्ठ ५

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP