डडेल्धुरा – बैंक तथा वित्तीय संस्थाहरूले चर्को ब्याज लिएको भन्दै डडेल्धुराका उद्योगी व्यवसायी आन्दोलनमा उत्रिएका छन् ।
डडेल्धुरा उद्योग वाणिज्य संघको नेतृत्वमा आज जिल्ला सदरमुकाममा प्रदर्शनसहित बजार बन्द गर्दै व्यापारीहरु आन्दोलनमा उत्रिएका हुन् । बिहानदेखि ११ बजेसम्म पसल बन्द गरेका व्यवसायीले बागबजारदेखि सुरु गरेको ¥याली तुफानडाँडा हुँदै फेरि बागबजार पुगेर कोणसभामा परिणत भएको थियो ।
बैंकको चर्को ब्याजदर र नेपाल राष्ट्र बैंकको अव्यवहारिक नीतिविरुद्ध शान्तिपूर्ण विरोध र्याली गरिएको डडेल्धुरा उद्योग वाणिज्य संघका अध्यक्ष द्विजराज भट्टले बताए । उद्योग वाणिज्य संघ, विभिन्न वस्तुगत संघ, नागरिक समाज र उद्योगी व्यवसायीहरूको उपस्थितिमा सोमबार बसेको बैठकले आन्दोलनका कार्यक्रम तय गरेको थियो ।
डडेल्धुरा उद्योग वाणिज्य संघका अध्यक्ष भट्टले १८ गतेसम्म चरणबद्ध आन्दोलन गरिने बताए । उनका अनुसार प्रत्येक दिन बिहान ११ बजेसम्म बजार बन्द गर्ने, १७ गते बैंकमा धर्ना दिने, १८ गते कुनै पनि बैंकमा बचत नगर्ने (नो डिपोजिट) र त्यसपछि थप आन्दोलनका कार्यक्रम तय गर्ने निर्णय भएको छ ।
लामो समयदेखि आन्दोलन गर्दा पनि सरकारले सुनुवाइ नगरेपछि बजार नै बन्द गरेर आन्दोलनमा उत्रिनुपरेको उनले बताए । यस्तै डडेल्धुराको शिवशिखर सहकारीले संकलन गरेको निक्षेप नियमअनुसार फिर्ता गर्न र लघुवित्त संस्थाको अनुगमन गर्न पनि माग गरिएको छ । व्यापारीहरुले एकल अंक हुने गरी ब्याजदर घटाउन, व्यवसायीलाई मानसिक तनाव दिने प्रवृत्तिको अन्त्य गर्न, किस्ता र ब्याजको समय सीमा बढाउने लगायतका ७ बुँदे माग अघि सारेका छन् ।
यस्ता छन् माग
१) कर्जामा भएको ब्याजदर अबिलम्ब एकलंक हुने गरी घटाउन र व्यवसायीलाई मानसिक तनाव दिने प्रवृत्तिको अन्त्य गर्न किस्ता र ब्याजको समय सीमा बढाउन माग गर्दछौं ।
२) बैंकहरुको खर्च न्यूनीकरण गरी स्पेड दर तीन प्रतिशतभित्र रही जोखिमका आधारमा बढीमा २ प्रतिशत मात्र थप प्रिमियम लिन पाइने व्यवस्थाको माग गर्दछौं ।
३) बैंकहरुले सेवा शुल्क, कर्जा स्वीकृत शुल्क, एल.सी., नेगोशेशन शुल्क बृद्धिलाई अन्त्य गरी गत वर्षको भन्दा बढी लिन नपाइने माग गर्दछौं ।
४) हाल भएको कर्जालाई यस आर्थिक वर्षसम्म पुनः तालिकरण गरी ब्याज बुझाउने म्यादलाई नियमित हाल्ने र लिलाम तथा कालोसूची गर्ने प्रक्रियालाई हाल स्थगित गर्न माग गर्दछौं ।
५) हालको बाह्य र आन्तरिक कारणको समय उपयुक्त नभएकाले चालू पुजी कर्जा निर्देशिका स्थगनको माग गर्दछौं ।
६) विभिन्न शिर्षकमा लिइने सेवा शुल्कलाई पारदर्शी, मनासिव बनाउन कर्जाको ब्याजदर पुर्नसंरचना गर्न माग गर्दछौं ।
७) अस्थिरताका कारण थला परेको अर्थतन्त्र उकास्न विशेष कार्यक्रमको व्यवस्था गर्न, बैंकको मुनाफालाई रोजगार सिर्जना एवंम पर्यटन, कृषिलाई प्राथमिकतामा राखेर कर्जा प्रवाह गर्न माग गर्दछौं ।
८) डडेल्धुरामा रहेको शिवशिखर सहकारी संस्था लिमिटेडले यस जिल्लाका व्यवसायी र सर्वसाधारणबाट संकलन गरेको निक्षेप रकम निमयमानुसार फिर्ता गर्न जोडदार माग गर्दछौं ।
९) डडेल्धुरामा रहेका लघुवित्त संस्थाले लिने अस्वभाविक ब्याज र सेवा शुल्कका कारण धेरैको उठिबास भइरहेकाले आवश्यक अनुगमन गरी नियमानुसार सञ्चालनका लागि जोडदार माग गर्दछौं ।
दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...